कर्णालीमा उपनिर्वाचन: कांग्रेसले छान्यो दुई उम्मेदवार
सुर्खेत: आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टुँगो लगाएको छ । जिल्ला संसदीय समितिको बैठकले झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्ष पदको उम्मेदवार बनाइएको कांग्रेस दैलेख सभापति मणिराम रेग्मीले बताए । २०७९ माघ २७ गते महावु गाउँपालिकाका अध्यक्ष लक्षुमण गुरूङको निधन भएको थियो । उनी कांग्रेसबाट उम्मेदवार बनेर अध्यक्षमा निर्वाचित भएका थिए ।
यसैगरी कांग्रेसले जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार पनि टुँगो लगाएको छ । कांग्रेस कर्णाली प्रदेश समितिको बैठकले इन्द्रा चन्द सिंहलाई उपप्रमुख उम्मेदवार बनाउने निर्णय गरेको हो । जिल्ला कार्यसमितिले सिंहको नाम मात्रै सिफारिस गरेर प्रदेशमा पठाएको थियो ।
प्रदेश संसदीय समितिले उपप्रमुख उम्मेदवार सिंहलाई बनाउने निर्णय गरेको प्रवक्ता दमन शाहीले जानकारी दिए । ‘वडादेखि जिल्ला तहसम्मले उहाँको एकल नाम सिफारिस गरी पठाएका थिए । प्रदेशले त्यही अनुमोदन ग¥यो,’ उनले भने ।
उपप्रमुख पदको उम्मेदवारलाई दिइने टिकटमा भने सभापति शेरबहादुर देउवाको हस्ताक्षर हुनेछ । नलगाडका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गतेको भूकम्पमा परेर मृत्यु भएको थियो । सरिता कांग्रेसबाटै उम्मेदवार भएर उपप्रमुख विजयी भएकी थिइन् । अहिले उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार भएकी ईन्द्रा यसअघिकी उपप्रमुख सरिताकी भाइकी श्रीमती हुन् ।
कर्णाली प्रदेशमा तीन वटा पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा उपप्रमुख र पाँच वटा वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । कांग्रेसले नलगाडको उपमेयर पदमा लागि ईन्द्रा चन्द सिंहलाई उम्मेदवार बनाइसकेको छ ।
यस्तै दैलेखको दुल्लु नगरपाकिला–१३, कालीकोटको तिलागुफा नगरपालिका–५, जाजरकोटको कुशे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।
प्रकाशित मितिः २३ कार्तिक २०८१, शुक्रबार १३:१६
साझा बिसौनी ।