उद्यमशीलताः समृद्ध समाजको लागि बलियो आधार
विषय प्रवेश
कुनै पनि नयाँ उद्योग धन्दा व्यापार व्यवसायको थालनी गर्नु उद्यमशीलता हो । तर व्यापार व्यवसाय गर्नु मात्रै उद्यमशीलता होइन । जस्तो कुनै व्यवसायको डिलरशिप लिइ थोक तथा फुटकरमा मालसामान बेच्नु व्यापार हो तर उद्यमशीलता होइन । उद्यमशीलता हुनको लागि कुनै पनि व्यापार व्यवसायले उपलब्ध वस्तु तथा सेवाभन्दा पृथक तथा फरक गुण एवम् विशेषता भएका वस्तु तथा सेवा को निर्माण तथा उत्पादन गर्नुपर्छ । अर्थात् नवीनतम वस्तु तथा सेवाको उत्पादन तथा निर्माण गर्नु नै उद्यमशीलता हो ।
अर्कोतर्फ, बजारमा उपलब्ध वस्तु तथा सेवाको मूल्यलाई फरक ढङ्गले भारी परिमाणमा घटाई कम गरी बिक्री गर्नु पनि उद्यमशीलता हो । वस्तु वा सेवाका बारेमा अध्ययन, अनुसन्धान र विकास कार्य गर्नु पनि उद्यमशीलता हो । उद्यमशीलता नयाँ व्यवसायको डिजाइन, सुरुवात र सञ्चालन गर्ने प्रक्रियाको रूपमा रहेको हुन्छ । त्यसैले उद्यमशीलता भनेको प्रतिबद्धता, कटिबद्धता, कडा परिश्रम, त्याग र निरन्तरताको संयोजन हो ।
नयाँ उद्योग, नवप्रवर्तन, नयाँ वस्तु वा आविष्कार गर्ने व्यक्तिलाई उद्यमी भनिन्छ । उद्यमीले सीमित स्रोत, साधन र प्रविधिलाई बढी भन्दा बढी उपयोग गरी ती स्रोत, साधन र प्रविधिलाई सदुपयोग गर्दछ । उद्यमीले नयाँ कुराको थालनी गर्दा उच्च जोखिम मोल्नुपर्ने हुन्छ । यसका लागि उद्यमीसँग अवसरलाई चिन्न सक्ने योग्यता हुन पर्दछ । अवसरको पहिचान र त्यसमा अघि बढ्ने आँटबाट नै उद्यमशीलता जन्मने हो ।
उद्यमशीलताकै कारण समाज आर्थिक रूपले अगाडि बढ्न सक्छ । एक जना उमीका लागि अवसर भनेकै समस्याको पहिचान गर्नु हो । यसको मतलब समाजको आवश्यकता के छ ? विद्यमान समस्या समाधान अरूले गरेका छन् वा छैनन् ? कसरी उक्त समस्याको समाधान गर्न सकिन्छ ? यस्तो वस्तु वा सेवा जो यो भन्दा पहिला अरू कसैले विकास वा उत्पादन वा निर्माण गरेको छ छैन ? यी र यस्ता प्रश्नलेनै कसैलाई उद्यमी बनाउन सक्छ ।
यसका अतिरिक्त समस्याको समाधान गर्न सक्ने सीप तथा दक्षताको विकास गर्नु नै उद्यमशीलता हो । जस्तै उदाहरणको रूपमा हेर्दा राइड सेयरिङ एपहरू पठाओ, इनड्राइभ, त्यस्तै अनलाइन बजारका प्रभावकारी उदाहरणका रूपमा रहेका अलिबाबा डटकम, दराज सपिङ आदि उद्यमशीलताका उदहारण हुन् । अतः उद्यमीहरू सामान्यतया जोखिम लिनेहरू नै हुन् जो आफ्नो लक्ष्य प्राप्त गर्न र संसारमा भिन्नता ल्याउने इच्छाद्वारा प्रेरित हुन्छन् । अर्कोतिर, उद्यमी बन्नु साहसिक कार्य पनि हो । यसले व्यक्तिको जोखिम लिन सक्ने क्षमता समेत मापन गर्न सघाउँछ ।
यस्तै, एक उद्यमीले मानिसहरूलाई मैले के गर्नुपर्छ भनेर कहिले सोध्नु हुँदैन । उद्यमी बन्ने मान्छेले नै अवसर र समस्याको समाधान पहिचान गर्न सक्नुपर्छ । उद्यमीले जहिलेपनि आफ्नो सबैभन्दा बढी रुचि भएको कुनै एक क्षेत्रको समस्या पहिचान गरी अवसरहरू सिर्जना गर्नेमा ध्यान दिनुपर्छ ।
उद्यमशीलताले फरक गुण र विशेषता भएका वस्तु तथा सेवाहरूमार्फत् उपभोक्तालाई आकर्षण गर्छ । अर्थात् भइरहेका वस्तु तथा सेवामा मूल्य थप्ने काम गर्छ । यसका लागि उद्यमीले आफ्नो लक्षित ग्राहकलाई पहिचान गर्न सक्नुपर्दछ । उद्यमशीलता भन्नासाथ नयाँ वस्तु उत्पादन वा निर्माण गर्नु मात्र होइन । बरु यसले बजारको अध्ययन, अनुसन्धान र विकास समेत गर्दछ । उद्यमीले आफ्ना वस्तु तथा सेवाको सबल तथा दुर्बल पक्षबारे ग्राहकका सुझावका ग्रहण गरी निरन्तर सुधार गर्दै जानुपर्छ । अतः उद्यमशीलता पैसा कमाउनुसँग मात्र सम्बन्धित छैन बरु वस्तु र सेवाको गुणस्तर अभिवृद्धि तथा ग्राहकको सन्तुष्टिसँग सम्बन्धित छ ।
उद्यमशीलताको महत्व
उद्यमशीलता कुनै पनि मुलुकको आर्थिक विकासको मेरुदण्ड तथा आधारशीला हो । उद्यमशीलताको विकासले मुलुकको आर्थिक गतिविधिहरूलाई चलायमान बनाउनुका साथै जनतालाई उद्यमी मालिक बन्न प्रोत्साहित गर्दछ । परिणामस्वरूप मुलुकमा रोजगारीको सिर्जना हुनुका साथै वस्तु तथा सेवाको उत्पादन र निर्यात गरी व्यापार घाटा कम गर्ने तथा उपलब्ध स्रोत, साधन तथा कच्चा पदार्थको यथोचित प्रयोग गर्न प्रोत्साहन हुन्छ । अर्कोतर्फ, यसले सम्पत्तिमाथि व्यक्तिको अधिकारलाई स्थापित गराउनुका साथै व्यक्तिको धन आर्जन गर्ने क्षमतामा समेत वृद्धि गर्दछ ।
उद्यमशीलता मार्फत् मुलुकभित्रै यथेष्ट वस्तु तथा सेवाको उत्पादन हुने हुँदा आन्तरिक मागलाई मज्जाले धान्न सक्छ । परिणामस्वरूप आयात कम हुन गई व्यापार सन्तुलन कायम हुन्छ । यसले विदेशी विनिमय सञ्चिति बढाई मुलुकको अर्थतन्त्रलाई धाराशायी हुनबाट जोगाउँछ । उद्यमशीलताका कारण मुलुकको कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय लगायत आर्थिक विकासका सूचकहरूमा सकारात्मक प्रभाव पर्दछ ।
अर्कोतर्फ, उद्यमशीलताका कारण उद्योग व्यवसायमा भएको विकासले भौतिक पूर्वाधारहरूजस्तै शिक्षा, स्वास्थ्य, मनोरञ्जन जस्ता सार्वजनिक स्वार्थ जोडिएका क्षेत्रहरूको विकासमा समेत टेवा पु¥याउँछ । नमूना एवम् छनोट गरिएका शहरहरूमा उद्योगहरू स्थापना हुनुले छोटो समयमै जनताका माग पूरा गर्न सकिन्छ । जसले अन्ततः पिछडिएको क्षेत्रको विकास गर्दछ र सन्तुलित क्षेत्रीय विकासमा योगदान पु¥याउँछ ।
यसैगरी उद्यमशीलताले राष्ट्रको पुँजी निर्माणमा महŒवपूर्ण भूमिका निर्वाह गर्दछ । यसले पुँजी परिचालनलाई बढीभन्दा बढी उत्पादक क्षेत्रमा प्रवाहित गर्न दिशानिर्देश गर्दछ । यस हिसाबले उद्यमशीलता खुला बजार अर्थव्यवस्थाको एक महत्वपूर्ण आयाम हो । यसले आर्थिक अधिकारको स्वतन्त्रताको वकालत गर्दछ । आर्थिक अधिकारको स्वतन्त्रताले कुनै पनि व्यक्तिले वस्तुको उत्पादनदेखि उपलब्ध स्रोत साधनहरूको कुशल छनोट गर्ने स्वतन्त्रता प्राप्त गरेको हुन्छ । जसमा स्रोत साधनको व्यवस्थापनदेखि पुँजी र प्रविधिको प्रयोग तथा नियन्त्रण गर्नेसम्मका अधिकार स्वतः व्यक्तिमै निहित हुन्छ । यसरी उद्यमशीलताले नयाँ नयाँ विचार, आविष्कार र नवप्रवर्तनलाई वृद्धि गर्दै लैजान्छ परिणामस्वरूप वस्तु तथा सेवाको विविधिकरण हुन्छ । यद्यपि, उद्यमशीलताका लागि अधिक सरकारी हस्तक्षेप भने हानिकारक हुन्छ ।
अन्त्यमा,
उद्यमशीलताले पैसा कमाउन वा जीवन निर्वाहका लागि जागीर खानैपर्छ भन्ने मान्यतालाई अस्वीकार गरी स्वरोजगार बन्न प्रेरित गर्दछ । यसले व्यक्तिलाई कामदारका रूपमा मात्र नभइ मालिकका रूपमा स्थापित गर्ने कुरालाई प्रश्रय दिन्छ । युवामा व्याप्त सामजिक तनाव र अशान्तिपनलाई पनि हटाउँछ ।
यस्तै, उद्यमशीलताले देशमा बेरोजगारी समस्यालाई कम गर्न मद्दत गरी आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेल्दछ । आर्थिक वृद्धिबाटै हामीले मुलुकमा गरिबी निवारण र सामाजिक न्याय कायम गर्न सक्छौँ । जसका कारण जनताको जीवनस्तरमाथि उठ्नुका साथै समुदायको समेत विकास हुन्छ ।
जनगणनाका अनुसार नेपालमा हाल ४२% भन्दा बढी युवा रहेका छन् । यस्तो जनसाँख्यिक लाभको स्थितिमा सरकारले युवाहरूको जोश र जाँगरलाई उपयोग गर्न सक्नुपर्दछ । सरकारले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गरी शिक्षालाई व्यवहारिक तथा जीवन उपयोगी बनाउनु आवश्यक देखिन्छ । जसका कारण उनीहरूमा नयाँ ज्ञान, सीप र धारणाको विकास भइ उद्यमशीलता प्रवर्द्धन हुनजान्छ ।
यस्तै स्थानीय तहहरूले पनि विभिन्न देशको भाषा जस्तैः कोरियन, जापानिज पढाएर युवालाई विदेश पलायन हुन प्रोत्साहन गर्नुभन्दा उनीहरूमा सीप र दक्षताको विकास गरी उद्यमशीलता प्रवद्र्धधन गर्नु जरुरी छ । जसका कारण मुलुकमै रोजगारीको सिर्जना हुन गइ रेमिट्यान्समाथिको निर्भरता हट्दै जान्छ र समग्रमा मुलुकको आर्थिक अवस्था उकास्न सहयोग पुग्छ ।
-ओकेन्द्र नाथ योगी
प्रकाशित मितिः १२ कार्तिक २०८१, सोमबार ०६:०४
ओकेन्द्र नाथ योगी ।