धुलियाविट–भेडाबारी सडक: तोकिएकै मितिमा काम सक्ने तयारी

सुर्खेत: मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाविटदेखि भेडाबारी जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । रूख कटानको काम सकिएसँगै सडक निर्माणको कामले तीव्रता पाएको हो ।
तोकिएकै मितिमा काम सक्नेगरी निर्माण कम्पनीलाई ताकेता गरिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ । राजमार्गको स्तरोन्नतिका लागि २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । २०८० पुस २७ गतेसम्ममा स्तरोन्नतिको काम सक्ने गरी कालिका (केएस) वेदान्सी जेभी कैलालीले ठेक्का पाएको हो । तर उक्त मितिमा काम सम्पन्न नभएपछि २०८१ पुष २६ गतेसम्मका लागि म्याद थपिएको छ ।
तोकिएकै मितिमा काम सम्पन्न गर्नेगरी कालोपत्रको काम धमाधम भइरहेको कार्यालयका इन्जिनियर रेशम ओलीले बताए । ३५ किलोमिटरमध्ये २० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी १५ किलोमिटर कालोपत्रेको तयारीमा रहेको इन्जिनियर ओलीले जानकारी दिए । धुलियाविट–भेडाबारी सडक खण्ड अन्तर्गत १८ किलोमिटर वनक्षेत्र पर्दछ । एक हजार एक सय १४ वटा रूख काटिएको छ । काटिएका काठहरू राजमार्गले डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरिसकेको छ ।
८५ प्रतिशत भौतिक प्रगति
राजमार्गको सडक निर्माणमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उक्त सडक खण्डमा म्याद थप गरेर अहिले निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको वित्तीय प्रगति ८० प्रतिशत रहेको छ । १५ प्रतिशत काम बाँकी छ । थपिएको मितिमा काम सम्पन्न गर्नेगरी अघि बढेको आयोजनाले जनाएको छ । अहिले निर्माणको काम धमाधम भइरहेको छ ।
पुल निर्माणको काम अन्तिम चरणमा
उक्त सडक खण्डमा १२ वटा मोटरेवल पुल निर्माण हुनेछन् । अहिले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई छुट्टा–छुट्टै ठेक्का सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको हो । पुलको ठेक्का सम्झौता फरक–फरक निर्माण कम्पनीसँग गरिएको छ । सात वटा पुलको ठेक्का हिम सगरमाथा कन्ट्रक्सन कम्पनी चितवनले लिएको छ । डिजाइन एण्ड विल्ड ठेक्कामार्फत् सात वटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतले उक्त कम्पनीसँग २६ करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको हो । २०७८ फागुन १५ गते ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।
सात वटा पुल निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । २०८१ भदौ १४ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भएपनि केही काम बाँकी रहेकाले म्याद थप्ने तयारी भएको कार्यालयले जनाएको छ । सात वटामध्ये ६ वटा पुल निर्माणको काम सकिएको छ । एउटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अर्को ठेक्कामार्फत् पाँच वटा पुल निर्माणको भइरहेको छ । के.एस कन्ट्रक्सन कम्पनी धनगडी, कैलालीले उक्त पुल निर्माणको काम गरिरहेको छ । २०७८ फागुन १५ गतेदेखि २०८१ भदौ १४ गतेसम्म पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो । अहिले म्याद थप गरेर काम गरिने जनाइएको छ । पाँच वटा पुलमध्ये चार पुल निर्माणको काम सकिएको छ भने एउटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पाँच वटा पुल निर्माणका लागि १३ करोड ७९ लाखमा ठेक्का सम्झौता गरिएको हो । १२ मध्ये दश वटा पुल निर्माणको काम सकिएको छ । दुई वटा निर्माणाधिन अवस्थामा छन् । पुल निर्माणको म्याद थप गरेर काम अघि बढाउने तयारी भइरहेको इन्जिनियर ओलीले बताए ।
यो सडकले वीरेन्द्रनगरस्थित धुलियाविटबाट भेरीपारिका बस्ती लेकवेशी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्नेछ । हालसम्म राजमार्गको २० किलोमिटर कालोपत्रे भएको छ भने १५ किलोमिटर सडक कालोपत्रेको तयारीमा छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार भेडाबारी सडकखण्डलाई नौ मिटर चौडाइसम्म कालोपत्रे गरिने भएको छ । स्तरोन्नति गर्दा झन्डै ५२ प्रतिशत सडक चौडाइ बनाइने छ ।


साझा बिसौनी ।