सवारी दुर्घटना
अघिल्ला वर्षहरूमा जस्तै यो वर्षको दसैँ अवधिमा पनि कर्णाली प्रदेशमा विभिन्न सवारी दुर्घटना भएका छन् । घटस्थापना अर्थात् असोज १७ देखि २७ गतेसम्म कर्णाली प्रदेशभर ४९ वटा सवारी साधन दुर्घटनामा परेका छन् । सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका छन् । क्षमताभन्दा धेरै यात्रु सवार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा चाडपर्वमा सवारी दुर्घटना धेरै हुने गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । सवारी सञ्चालनका क्रममा पालना गर्नुपर्ने नियमहरूको पालना नगर्दा पनि दुर्घटना हुने गरेका छन् । लामो दुरीका सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर, छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्था लागू गरिए पनि नियमको पालना नहुँदा चाडपर्वमा दुर्घटना बढ्ने गरेका छन् । पछिल्लो समय मानवीय त्रुटिको कारण दुर्घटना बढिरहेको छ ।
चाडपर्वको समयमा सार्वजनिक सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु सवार गर्दा दुर्घटनाको जोखिम बढेको छ । सीमित सवारी साधनका कारण यात्रुहरूले कष्टकर यात्रा गर्न बाध्य छन् । दसैँ–तिहारलाई लक्षित गरी ‘रुट परमिट’ खुला गरिए पनि यात्रुबाहक सवारी साधनको संख्या भने सामान्य अवस्थाको जस्तै छ । यात्रुको चाप हुने यस समयका लागि यातायात व्यवसायीहरूले सवारी साधन थप गरेका छैनन् । क्षमताभन्दा बढी यात्रु बोक्ने र कच्ची सडकमा तीव्र गतिमा गाडी हाँक्दा दुर्घटनाको जोखिम एकातिर छ भने अर्कोतिर यात्रुहरू तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य छन् । यात्रुबाहक सवारीको व्यवस्थापन, भाडादरको अनुगमन तथा सवारी नियमविपरीत सञ्चालन भइरहेका गाडीहरूको निगरानीमा लापरबाही भइरहेको छ ।
प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर सोहीअनुसार जनशक्ति परिचालन गरिएको दाबी गरे पनि जुनसुकै सडकमा सुरक्षा निकायको बेवास्ता देखिन्छ । सवारी साधनको चेकचाँजमा कडाइ नगर्दा व्यवसायीहरूले क्षमताभन्दा दोब्बर यात्रु बोकर जोखिमपूर्ण यात्रा गराइरहेका छन् । खासगरी ग्रामीण क्षेत्रका सडकहरूमा प्रहरीको सक्रियता निकै कमजोर देखिएको छ । कर्णालीका अधिकांश सडक कच्ची र जीर्ण छन् । ती सडकहरूमा चल्ने सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु सवार गर्दा दुर्घटनाको जोखिम बढ्ने हो । नेपालीका सबैभन्दा ठूला चाडपर्व दसँै र तिहार हुन् । यी चाड आउँदा खुसी त आउँछन्, पछिल्ला वर्षहरूमा भने थुप्रै दुःख पनि बढेका छन्, त्रास र जोखिम पनि चाडपर्व सँगसँगै आउँछन् । यो वर्ष झनै वर्षात्ले कर्णालीका अधिकांश सडकको अवस्था थप जोखिमपूर्ण बनेको छ । जसले गर्दा यात्रुले झनै सास्ती व्यहोर्नुपरेको थियो ।
प्रकाशित मितिः ४ कार्तिक २०८१, आईतवार ०५:०३
सम्पादकीय ।