प्रादेशिक रिफरल भेटेरिनरी अस्पताल बन्दै

 

सुर्खेत: वीरेन्द्रनगरमा प्रादेशिक रिफरल भेटेरिनरी अस्पताल निर्माण गर्न लागिएको छ । प्रदेश सरकारले अस्पताल निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा समेटेर अस्पताल निर्माण गर्न लागेको हो ।

पशुपन्छीको उपचारमा स्तरीय सेवा दिने उद्देश्यले प्रादेशिक पशुपन्छी अस्पताल निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा सुर्खेतको वीरेन्द्रनगरमा प्रादेशिक रिफरल भेटेरिनरी अस्पताल निर्माण गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा अस्पताल निर्माणका लागि सरकारले तीन करोड २५ लाख विनियोजन गरेको छ ।

मन्त्रालयले अस्पताल निर्माणको डिपीआर तयार गरिसकेको छ । गत आर्थिक वर्ष २०८०/२०८१ मा डिपीआर निर्माण गरिएको मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापाले बताए । गत आर्थिक वर्षमा अस्पताल निर्माणका लागि प्रदेश सरकारले २० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेट भने कार्यान्वयन हुन सकेको थिएन । उनका अनुसार अस्पताल भवनमा आकस्मिक, शल्यक्रिया, एक्सरे, रेडियोलोजी, प्याथोलोजी, गाइनोकोलोजी, पोष्टमार्टम, फार्मेसी, प्रयोगशाला, रेडियोलोजिकल प्रयोगशाला लगायतको सुविधा हुनेछ । प्रादेशिक अस्पताल निर्माण गरेर पशु विज्ञ सेवा दिन लागिएको प्रदेश सरकारले जनाएको छ । अहिले कर्णालीका दशवटै जिल्लाका पशु अस्पताल र पशुसेवा कार्यालयहरूबाट सेवा प्रवाह भइरहेको छ । उक्त सेवालाई थप प्रभावकारी बनाउन र थप सेवा विस्तार गर्न प्रादेशिक अस्पताल निर्माण गर्न लागिएको हो ।

देश संघीयतामा गएको लामो समय भइसक्दा समेत प्रादेशिक पशु अस्पताल निर्माण भएको छैन । कर्णालीमा महामारीले गर्दा पशुमा ठूलो क्षति हुने गरेको छ । प्रादेशिक अस्पताल र उपकरण नहुँदा पशुपन्छीलाई विज्ञ सेवा दिन नसकिएको पशुपन्छी विकास निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीले बताए । प्रदेश सरकारले यो वर्षदेखि अस्पताल निर्माण गर्ने भन्दै उनले अब भने प्रदेशबाटै विज्ञ सेवा दिन सकिने जानकारी दिए । अस्पतालबाट पशुपन्छीको बहिरङ्ग सेवा, शल्यक्रिया तथा शव परीक्षण र विशेषज्ञ सेवा प्रदान गरिनेछ । पंगेनीले भने, ‘पशुमा कुनै रोग महामारीको रूपमा फैलिएमा त्यसको रोग पहिचान र निधानमा समस्या हुनेगरेको छ, जसले गर्दा पशुमा ठूलो क्षति हुने गरेको हो, प्रादेशिक रिफरल भेटेरिनरी अस्पताल बनेमा समस्या समाधान हुन्छ ।’

 

महामारीका कारण पशुचौपायामा ठूलो क्षति

कर्णालीमा महामारीकै कारण पशुमा ठूलो क्षति हुने गरेको छ । रोगको पहिचान हुन नसक्नु तथा समयमै औषधि उपलब्ध नहुँदा पशुमा लाग्ने रोग महामारीका रूपमा फैलने गरेको हो । पशुको विज्ञ सेवा, अस्पताल र प्रविधि नहुँदा रोगकै कारण पशुचौपायामा क्षति हुने गरेको निमित्त निर्देशक पंगेनी बताउँछन् । गतवर्ष मात्र लम्पी स्किन सङ्क्रमणका कारण प्रदेशमा साढे दश हजार पशु चौपाया मरेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार दुई लाख २७ हजार दुई सय ६७ बाच्छाबाच्छी, गाई, गोरु, भैसी र चौरी सङ्क्रमित भएमध्ये प्रदेशका दश जिल्लामा दश हजार चार सय ५० पशु चौपाया मरेका हुन् । जाजरकोटमा २३ हजार ६५ पशुमा यो रोगको सङ्क्रमण देखिएकोमा दुई हजार आठ सय ७७ मरेका थिए । साथै कालीकोटका २९ हजार पाँच सय ४१ सङ्क्रमित पशुमध्ये एक हजार ५८ पशु चौपाया मरे । हुम्लामा कूल १३ हजार पाँच सय ९८ पशु चौपाया सङ्क्रमित भएकोमा एक हजार नौ सय ८३ मरेका थिए । सुर्खेतमा २९ हजार पाँच सय ४१ सङ्क्रमित पशुमध्ये एक हजार ५८ र सल्यानमा ३४ हजार चार सय ७९ सङ्क्रमित पशुमध्ये एक हजार २३ मरेको जनाइएको छ ।

साथै दैलेखमा ७५ हजार तीन सय ६६ सङ्क्रमितमध्ये ६ सय २१ पशु चौपाया मरे । जुम्लामा १४ हजार ४१ सङ्क्रमितमध्ये पाँच सय ७३, डोल्पामा सात हजार पाँच सय २९ सङ्क्रमितमध्ये पाँच सय ४३, रुकुम पश्चिममा १७ हजार ६ सय ४१ सङ्क्रमितमध्ये चार सय ६९ पशु मरेका थिए ।

पशुमा लाग्ने रोगलाई महामारीको रूपमा फैलन नदिन, प्रदेशमा विज्ञ सेवा विस्तार गर्नकै लागि प्रदेश सरकारले अस्पताल निर्माण गर्न लागिएको हो । गत वर्ष अस्पताल निर्माणको डिपीआर तयार भएको छ भने यो वर्ष बजेट विनियोजन गरेर अस्पताल निर्माण गर्न लागेको हो ।

प्रकाशित मितिः   २३ आश्विन २०८१, बुधबार ०५:०५