वर्षातपछिको विपद्: सकसपूर्ण बाटा, त्रासपूर्ण यात्रा

 

सुर्खेत: सार्वजनिक बसमा पोखरादेखि सुर्खेतको दुरी करिब १४ घण्टाको हो । तर यसपालि कुसुम बराललाई पोखराबाट सुर्खेत आउन झण्डै २२ घण्टा लाग्यो । ‘ठाउँ–ठाउँमा पहिरो आएर सडक अवरुद्ध थियो, कतै पहिरोले सडक बगाएको थियो’ वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा भेटिएका बरालले भने, ‘पोखरा–सुर्खेत यात्रामा यसपालि जस्तो दुःख कहिलै पाएको थिएन ।’

कालीकोटको रास्कोट नगरपालिका–८ फुकोटका बराल चार वर्षदेखि पोखरामा बसेर संस्कृति शिक्षा अध्ययन गरिरहेका छन् । पोखरा उपमहानगरपालिका–३ नारायणथानमा रहेको महर्सी गुरुकुल बेदविद्या आश्रममा कक्षा १० मा अध्ययनरत उनले यात्रामा पहिलो पटक यति धेरै दुःख भोग्नु परेको सुनाए । ‘पहिरोेले विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा समयमा खाना र नास्ता पाइएन’ उनले भने, ‘कर्णाली राजमार्गको अवस्था पनि बिजोग छ, अब घर नपुग्दासम्म दुःखै–दुःख छ ।’

चितवनबाट घर फर्कदै गरेका कालीकोटकै हिग्मत बरालले पनि यसपालिको यात्रामा निकै दुःख पाए । ‘पहिरोले सडक भासिएपछि तनहँु, मुग्लिन र दाउन्ने क्षेत्रमा घण्टौसम्म जाममा प¥र्याैँ’ उनले भने, ‘मरिन्छ कि भन्ने त्रासैत्रासमा सुर्खेत पाइपुगियो ।’ चितवनको रत्ननगर–११ निपनीस्थित गायत्री वेदवेदाङ्ग गुरुकुल विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनी गत मंसिरमा मात्र त्यहाँ गएका हुन् । यसअघि पोखरामै संस्कृत अध्ययन गरेको उनले जीवनमै पहिलो पटक त्रासपूर्ण यात्रा गर्नुपरेको दुखेसो पोखे । ‘सानैदेखि बाहिर बसेर पढँे, दसँै–तिहारमा सोचेजस्तो यात्रा त कहिल्यै भएन’ उनले भने, ‘तर यसपालि त पाउनु दुःख पाइयो ।’

अघिल्लो हप्ताको बाढी र पहिरोबाट देशभर ठूलो धनजनको क्षति भएको थियो । पहिरोले बसभित्रै यात्रुहरू पुरिएका घटनाहरू भए । हिग्मतले यात्रा गरिरहँदा पनि मौसम सफा थिएन । त्यही कारण उनलाई यसपालिको यात्रामा त्रासैत्रासले सतायो । ‘यसअघि यात्रामा आनन्द हुन्थ्योे, बसमै मस्तले सुत्थँे’ उनले भने, ‘यसपालि त कतिबेला केही भइहाल्छ कि भन्ने डरैडरले एक झिमिक्क पनि निदाइनँ ।’

कुसुम र हिग्मत मात्र होइन, यसपालि दसैँमा घर फर्कने सबैजसो यात्रुको यात्रा कष्टपूर्ण छ । दसैँको मुखमै परेको वर्षाका कारण देशका अधिकांश सडकहरू अवरुद्ध छन् । मुख्य राजमार्गहरू मर्मत सुधार गरेर सञ्चालनमा ल्याइए पनि ग्रामीण सडक अझै अवरुद्ध छन् । पूर्वाधार र जनशक्ति अभावका कारण स्थानीय तहले ग्रामीण सडकहरू मर्मत सुधार गर्न सकेका छैनन् । संघीय सरकारको ध्यान संघीय राजधानी काठमाडौं वरपरकै सडक मर्मतमा छ । प्रदेश सरकारले पनि दसँै अघि नै सडक मर्मत सुधारका लागि प्रभावकारी भूमिका खेल्न सकेका छैनन् । जसका कारण दसैँमा घर फर्कनका लागि कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

 

मुख्य राजमार्ग नै मर्मत भएनन्

स्थलगत यात्राका लागि कर्णाली करिडोरलाई समेत जोड्ने कर्णाली राजमार्ग मुगु, हुम्ला, जुम्ला र कालीकोटवासीको निर्विकल्प राजमार्ग हो । यही राजमार्ग हुँदै सुदूरपश्चिमको अछाम र बाजुरावासी पनि आवतजावत गर्दछन् । तर सात जिल्लालाई जोड्ने कर्णाली राजमार्ग यसपालिको दसैँतिहारमा समेत मर्मत सुधार भएको छैन ।

भदौको अन्तिम साता आएको बाढी र पहिरोले कर्णाली राजमार्गको दहीखोला, गगनेखोला र कर्णाली करिडोरको खुलाल क्षेत्रमा पहिरोले नराम्रोसँग बिग्रिएको छ । दहीखोलामा पक्की पुल नै बगेपछि त्यहाँ झन् जोखिम छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रादेशिक कार्यालय सुर्खेतका अनुसार मुश्किलले आवात–जावत भएपनि यी तीन वटै क्षेत्रमा यात्रा सहज छैन ।

कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि बाजुराको पिलिचौरसम्म पनि सडक मर्मत सुधार भएको छैन । कतै पहिरो पन्छाउँदै त कतै एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याएको यो क्षेत्रमा पुल नहुँदा पिलिचौर खोला पार गर्न सकिने अवस्था छैन । कर्णाली करिडोरअन्र्तगत सल्लीसल्लादेखि खार्पुनाथसम्मको सडक ठाउँठाउँमा बाढी र पहिरोले क्षति पु¥याएको छ ।

कर्णालीको अर्काे मुख्य राजमार्ग भेरी करिडोर समेत मर्मत सुधार भएको छैन । डोल्पाको तल्लुबगरदेखि दुनैसम्मको खण्डमा कतै पहिरो त कतै खोलामा पुल नहुँदा सवारी सञ्चालनमा सहज छैन । मुख्य राजमार्गसुधार हुन नसक्दा ट्राफिक व्यवस्थापनमा कठिनाइ हुने गरेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कर्णाली प्रदेशका सूचना अधिकारी हरि बिसीले बताए । यद्यपि, यात्रुको सहजताका लागि ठाउँठाउँमा सहायता कक्षा र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने प्रयास गर्दै आएको उनको भनाइ छ । सडक सुरक्षालाई व्यवस्थित बनाउन राजमार्ग र सहायक मार्गमा १० जिल्लाका एक सय ६२ वटा स्थानमा नियमित, विशेष र आकस्मिक चेकजाँच गर्दै आएको छ । प्रहरीले विभिन्न ८५ ठाउँमा चेकिङ स्थलमा दुई सय ९० जना ट्राफिक र एक सय ९९ जना प्रहरी खटिएका छन् ।

 

समन्वय गरिरहेकै छौँः प्रदेश सरकार

यता कर्णाली प्रदेश सरकारले भने तोकिएकै समयमा नयाँ सडक निर्माण, क्षतिग्रस्त सडकको मर्मत सुधार र सडक सुरक्षा व्यवस्थापनलाई सहज बनाउन सबै निकायसँग समन्वय गरिरहेको दाबी गरेको छ । ‘सडक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले आफ्नो तर्फबाट पहलकदमी लिएकै छ तर एक्लो प्रयासले मात्र हुनेवाला छैन’ कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल भन्छन्, ‘चाडपर्वमा हुने सडक दुर्घटना न्यूनीकरणका लागि यातायातसँग सम्बन्धित सबै निकायका पदाधिकारी र जिम्मेवार व्यक्तिसँग आवश्यक समन्वय गरिरहेका छौँ ।’ मुख्य राजमार्ग अवरुद्ध भएको बताउँदै उनले अवरुद्ध ग्रामीण सडकहरू स्थानीय तह आफैले मर्मत गरेर सञ्चालनमा ल्याइसकेको जनाए ।

प्रकाशित मितिः   २१ आश्विन २०८१, सोमबार ०५:०५