यो वर्षको दसैँ सुरु

सुर्खेत: बिहीवारदेखि दसैँ सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ सुरु भएको हो । बडादसैँको पहिलो दिन बिहीवार घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजाआराधना गरिने भएकाले घटस्थापना भन्ने गरिएको हो । घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

दुर्गादेवीका तीन वटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र वुद्धिको प्रतिकको रूपमा पूजाआराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ ।

यस क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिएको छ ।

आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

घटस्थापनाको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भिœयाइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् ।

नवरात्र भनेर समेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले सोहीअनुसार पूजापाठ गरी देवीको आराधना गर्नुपर्ने जनाइएको छ ।

घटस्थापनाको दिन विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ । असोज २६ गते देवी विसर्जनको साइत बिहान ८ः३३ बजे रहेको छ भने टिकाको साइत ११ः३६ मा उत्तम छ ।

प्रकाशित मितिः   १८ आश्विन २०८१, शुक्रबार ०५:०१