एमयूको रजिस्ट्रारका लागि १३ जनाको आवेदन
सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रार पदका लागि १३ जनाको आवेदन परेको छ । रजिस्ट्रार नियुक्तिको लागि विश्वविद्यालयले गत भदौ ३० गते खुला दरखास्त आह्वान गरेको थियो ।
मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपतिबाट हुने प्रावधान रहेको छ । सिधै नाम सिफारिस गर्न मिल्ने भएपनि उपकुलपति प्रा डा. ध्रुव कुमार गौतमले भदौ ३० गते १० दिने सूचनामार्फत् आवेदन मागेका थिए ।
तीन सदस्यीय रजिस्ट्रार सिफारिस समिति गठन गरिएको र सोही समितिले दिएका नाममध्येबाट एक जनालाई नियुक्तिका लागि कुलपतिसमक्ष सिफारिस गर्ने उपकुलपति गौतमले बताए । उनका अनुसार समितिले आवेदकको भिजन पेपर, विषयगत विज्ञता र कार्यानुभवका आधारमा नाम सिफारिस गर्नेछ । नयाँ रजिस्ट्रारका लागि १३ जनाको दरखास्त परेको विश्वविद्यालयका उपकुलपति प्रा डा. ध्रुवकुमार गौतमले जानकारी दिए । उनले अबको एक महिनाभित्रै विश्वविद्यालयले नयाँ रजिस्ट्रार पाउने बताए ।
रजिस्ट्रारका लागि आवेदन दिएकामध्ये अधिकांश विश्वविद्यालयकै पूर्व निमित्त रजिस्ट्रार, पूर्व डिनदेखि सह–प्राध्यापकलगायतका छन् । पूर्वनिमित्त रजिस्ट्रार तथा शिक्षा शास्त्र संकायका हालका डिन यामबहादुर कार्की, पूर्व परीक्षा व्यवस्थापन प्रमुख, सह–प्राध्यापक आनन्दप्रसाद सुवेदी, व्यवस्थापन संकायका पूर्व सहायक डिन सह–प्राध्यापक अमृतकुमार गैरे र स्कुल अफ ल कार्यक्रम निर्देशक सह–प्राध्यापक अर्जुनबहादुर अयडीले आवेदन दिएका छन् ।
त्यस्तै मध्यपश्चिम विश्वविद्यालय पाठ्यक्रम निर्देशनालयका निर्देशक वीरबहादुर पौडेल, विज्ञान तथा प्रविधि संकायका पूर्व डिन तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक देवबहादुर खड्का र शिक्षा शास्त्र संकायका पूर्व डिन तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज बाँकेका क्याम्पस प्रमुख लालमणि आचार्यलगायतको रजिस्ट्रार पदका लागि आवेदन परेको छ । रजिस्ट्रार सिफारिस समिति आवेदक १३ जनालाई कार्तिक १३ र १४ गते प्रस्तुती र अन्तरवार्ताका लागि बोलाएको छ । मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलको चार वर्षे कार्यकाल सकिएको छ ।
प्रकाशित मितिः १७ आश्विन २०८१, बिहीबार ०५:०१
साझा बिसौनी ।