५२ करोडको स्याउ निर्यात

जुम्ला: यो वर्ष जुम्लाबाट ५२ करोड बढिको स्याउ निर्यात भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकाअनुसार उक्त रकम बराबरको स्याउ निर्यात भएको हो ।
परियोजना कार्यान्वयन इकाई स्याउ सुपरजोन जुम्लाका प्रमुख खेमराज शाहीले जुम्लामा बर्सेनि स्याउ उत्पादन बढिरहेको बताए । जुम्लाबाट स्याउ निर्यात जारी रहेकोले आम्दानी अझ बढ्ने उनको तर्क छ । ‘हालसम्म १० हजार पाँच सय मेट्रिक टन स्याउ निर्यात भइसकेको छ, यसबाट जुम्लामा करिब ५२ करोड बराबर आम्दानी भएको छ, लेकाली क्षेत्रको स्याउ निर्यात भइरहेकोले यो तथ्यांकको ग्राफ बढ्ने देखिन्छ’ शाहीले भने ।
जिल्लाका आठै स्थानीय तहमा स्याउ फल्छ भने हरेक वर्ष स्याउ खेतीको क्षेत्र पनि विस्तार भइरहेको छ । यहाँ गोल्डेन, गाला, इटाली, स्पर, फुजी जातका स्याउ फलिरहेका छन् । बिरुवाको संख्या बढेपनि सोहि अनुपातमा उत्पादन भने बढ्न सकेको छैन । सिँचाइ, घेरबार, उचित बगैँचा व्यवस्थापन नहुँदा उत्पादनमा वृद्धि हुन नसकेको तातोपानी–७ का स्याउ कृषक नरेन्द्र रावतले बताए । स्याउका लागि उर्भर भूमि भए तापनि किसानले घेरबार, सिँचाइको व्यवस्थापन गर्न नसकेको उनले बताए ।
स्याउ सुपरजोनका अनुसार जुम्लामा अहिले कूल चार हजार तीन सय ९८ हेक्टरमा स्याउ खेती भइरहेको छ । प्राय घरघरमा स्याउ बगैँचा छन् । जिल्लाभर गरी १३ लाख १९ हजार चार सय स्याउका विरुवा छन् ।
प्रकाशित मितिः ९ आश्विन २०८१, बुधबार ०५:०१
मानबहादुर कुँवर ।