प्रादेशिक सडकको गुरुयोजना बनाइँदै

 

सुर्खेत: कर्णाली प्रदेश सरकारले प्रादेशिक सडकको गुरुयोजना निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर सडक गुरुयोजना निर्माणको काम अघि बढाउने भएको हो । विकासको मेरुदण्डको रूपमा रहेको पूर्वाधारलाई सन्तुलित, व्यवस्थित, प्रभावकारी, दिगो, भरपर्दो र सुरक्षित बनाउन पहिचान भएका प्रदेश लोकमार्ग तथा मार्गहरूको प्राथमिकीकरणसहित प्रादेशिक सडक गुरुयोजना निर्माण गर्न लागिएको हो ।

चालु आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना कार्यान्वयन गर्न लागिएको सरकारले जनाएको छ । गुरुयोजना तयार गर्नका लागि चालु वर्षमा २५ लाख बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । यो वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना ल्याइएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । उनका अनुसार सडक व्यवस्थित गर्न गुरुयोजना निर्माणको योजना अघि सारिएको छ । प्रदेश सरकार मातहतका (प्रादेशिक) सडकको गुरुयोजना निर्माण गर्न लागिएको हो ।

प्रादेशिक सडकहरूको गुरुयोजना बनाएपछि सडक पूर्वाधार निर्माण तथा मर्मतसम्भारका लागि प्रदेशको प्राथमिकता तय हुने सुवेदीले बताए । प्रादेशिक सडकलाई व्यवस्थित गर्नका लागि गुरुयोजना बनाउन लागिएको उनको भनाइ छ । सडक निर्माण, मर्मत, सुधार, स्तरोन्नति तथा यातायात पहुँचको अवस्था र पुनर्निर्माण गर्नुपर्ने सडकको माग संकलन, सडक यातायातसँग सम्बन्धित आवश्यक सेवा तथा सुविधाका लागि गुरुयोजनाले सहयोग पुग्ने प्रवक्ता सुवेदीले जानकारी दिए  । उनले भने, ‘हालसम्म कर्णालीमा सडक गुरुयोजना थिएन । मनलाग्दो योजनाहरू कार्यक्रममा पर्ने गरेका थिए । अब गुरूयोजना निर्माण भएपछि प्रदेशका योजनाको प्राथमिकता निर्धारण हुनेछ ।’

प्रादेशिक सडक गुरुयोजना निर्माणको चर्चा चलेको लामो समय भयो । सरकारले आफ्नो नीति तथा कार्यक्रममा राख्ने तर कार्यान्वयन नहुने गरेको थियो । गतवर्ष मात्र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले गुरुयोजनाको खाका तयार पा¥यो । बेला–बेला भइरहने सरकार परिवर्तनले गर्दा निर्माण गरिएको खाकाले अन्तिम रूप लिन भने सकेको छैन ।

गतवर्ष निर्माण गरिएको गुरुयोजनाको ड्राफ्ट प्रदेश योजना आयोगमा थन्किएको छ । गतवर्ष आयोगको स्वीकृतिका लागि योजना आयोगमा गुरुयोजनाको मस्यौदा पेस गरिएको थियो । लगत्तै भएको सरकार फेरबदल र आयोग पदाधिकारीविहीन हुँदा काम अघि नबढेको मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए । उनका अनुसार यो वर्ष पुनः नयाँ गुरुयोजना बनाउने की गतवर्ष निर्माण गरिएको योजनालाई परिमार्जन गरेर अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘गत वर्ष गुरुयोजनाको खाका तयार पारेका छौँ, प्रदेश योजना आयोगमा पेस भएको छ, त्यहाँबाट कुनै प्रतिक्रिया आएको छैन, नयाँ बनाउने की, पुरानो खाकालाई परिवर्तन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

प्रदेशको सडक पूर्वाधार विकासलाई व्यवस्थित गर्न प्रादेशिक सडक गुरुयोजना निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । प्रादेशिक सडक गुरुयोजना नबन्दा सडक निर्माण गर्न बजेट छरिने र त्यसले उपलब्धि दिन नसक्ने भएपछि प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजना निर्माण गर्न लागेको हो । गुरुयोजना निर्माणको चर्चा चलेको लामो समयभएको भएपनि यो वर्ष सरकारले बजेट विनियोजन गरेर योजना अघि सारेको हो । गतवर्ष सामान्य गुरुयोजनाको खाका निर्माण भएको छ । अहिले त्यसैलाई परिमार्जन गरेर अघि बढाइने वा नयाँ निर्माण गर्ने विषयमा छलफल भइरहेको भौतिक मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   ६ आश्विन २०८१, आईतवार ०५:०५