तेलपानी–भुरीगाउँ सडक विस्तार गर्न आठ करोड
सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले सडक निर्माणको काम अघि बढाउन आठ करोड बजेट विनियोजन गरेको छ । कर्णाली र लुम्बिनी प्रदेश जोड्ने मूलपानी–रानीघाट–तेलपानी भूरीगाँउ सडक निर्माणलाई प्राथमिकताका साथ राखेको हो । यो सडक आयोजना नयाँ भने होइन । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि सडक निर्माण योजना अघि बढाएको हो । सडक निर्माणको काम भने आर्थिक वर्ष २०७६/२०७७ देखि सुरु गरियो । दुई खण्डमा विभाजन गरेर सडक निर्माणको काम अघि बढाइएको भएपनि अहिलेसम्म निर्माणको काम सम्पन्न भएको छैन । सरकारले यो वर्ष पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणको कामलाई सम्पन्न गर्न लागेको हो ।
पहिलो खण्डको रूपमा मुलपानी, फलाटे–रानीघाट सडक निर्माणको कामलाई अघि बढाइएको थियो । दश किलोमिटर सडक निर्माणका लागि कामको सम्झौता गरिएको हो । आर्थिक वर्ष २०७६/०७७ बाट उक्त काम सुरु गरिएको हो । २०७६ पुस ९ गतेदेखि २०७८ फागुन ८ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो । दश करोड २६ लाख ६१ हजारमा पूर्वाधार विकास निर्देशनालय सुर्खेत र श्याम एण्ड शंकर कन्स्ट्रक्सन सुर्खेतसँग सम्झौता भइ काम अघि बढेको थियो । पुनः मुलपानी फलाटे रानीघाट सडक निर्माणका लागि २०७९ माघ १९ गते कविर काक्रे कन्स्ट्रक्सनसँग दुई करोड ७५ लाखमा ठेक्का सम्झौता गरियो । २०८० मंसिर १३ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी कामको सम्झौता भएको हो । हालसम्म सात सय मिटर सडक कालोपत्रेको काम सकिएको छ । यो वर्ष रानीघाटसम्म कालोपत्रको काम अघि बढाइने निर्देशनालयका इन्जिनियर वीरेन्द्रजंग शाहीले बताए । बजेट अनुसार पहिलो खण्डको काम समिएको छ भने यो वर्षका लागि बाँकी कामको सम्झौता गरिनेछ ।
दोस्रो सडक खण्डको रूपमा रानीघाट, तेलपानी भुरीगाँउ सडक निर्माणलाई अघि बढाइएको छ । २०७७ असार ५ गतेदेखि २०७८ फागुन १६ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको थियो । तर अहिले सार्वजनिक खरिद नियमावलीको १३आँै संशोधन आइसकेपछि म्याद थपिएको हो । एक पटक म्याद थपेर २०८२ माघ २२ गतेसम्म सडक निर्माण गर्नेगरी काम अघि बढाइएको छ । १३ करोड दुई लाखमा निर्देशनालय र थोदुङ्ग जागृती जेभीसँग सम्झौता भएको हो । उक्त निर्माण क्षेत्र वन जंगल निकुञ्जको संरक्षित क्षेत्र भएकाले अहिले निर्माणको काम रोकिएको पूर्वाधार विकास निर्देशनालयले जनाइएको छ । रूख कटानको अनुमति वन विभागले दिएपछि रूख कटानको काम गरिने निर्देशनालयका इन्जिनियर शाहीले बताए । उक्त खण्डको बाँकी काम अघि बढाउन यो वर्ष ५० लाख विनियोजन गरिएको छ । दोस्रो खण्डको काम हालसम्म दश प्रतिशत भएको छ । यो वर्ष बाँकी काम अघि बढाइनेछ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका २, भुरीगाउँ अम्रेनीदेखि कर्णाली प्रदेशको बराहताल गाउँपालिकामा रहेको तेलपानी हुँदै कर्णालीसम्म चिठ्ठीपत्र पु¥याउन २०२५ सालमा जिल्ला पञ्चायतले हुलाकी सडकको ट्याक खोलेको थियो । हुलाकीहरूले त्यही बाटो भएर चिठ्ठीपत्र ओसार–पसार गर्थे । कर्णालीका सर्वसाधारणले बर्दिया पुग्न यही बाटो प्रयोग गर्थे । वर्षाको सिजनबाहेक उक्त सडकमा सार्वजनिक साना सवारी साधनबाट यात्रु बोक्ने गरिएको छ । तर, सडक विस्तार र मर्मत हुन नसकेका कारण वर्षा सिजनमा सवारी साधन बन्द हुने गरेका थिए । बर्दियाका लागि मात्रै होइन, सिँगो सुदूरपश्चिम प्रदेशका सर्वसाधारणलाई पनि कर्णाली पुग्न सबैभन्दा छोटो दूरीको बाटो यही हो ।
प्रकाशित मितिः २९ भाद्र २०८१, शनिबार ०५:०५
साझा बिसौनी ।