आत्महत्याका कारण र न्यूनीकरणका उपायहरू

 

आत्महत्या जानी–जानी आफूले आफैलाई मार्ने काम हो । यसलाई आत्मघात पनि भनिन्छ । ल्याटिन भाषाको सुसिडियमबाट अंग्रेजी भाषामा बनेको ‘सुसाइड’ शब्दको नेपाली रूपान्तर आत्महत्या हो । आफैले आफ्नो बध गर्नु कुनै कारणले पनि उचित सावित गर्न सकिँदैन । जन्मपछि मृत्यु निश्चित छ तर पनि अधीर भएर जीवनलाई अकालमै समाप्त गर्ने काम गम्भीर मानवीय त्रुटि हो । प्राचीन कालदेखि नै केही मानिसमा आत्महत्या गर्ने प्रवृत्ति भएको तर समाजले यसलाई सधैँ अस्वीकार गर्दै आएको पाइन्छ । यसलाई समाजले अस्वस्थ मनोविज्ञानको परिणाम भन्ने स्वीकार गरेको छ ।

हिन्दुहरूको प्राचीन ग्रन्थ धर्मसिन्धुमा ‘स्वेच्छ्यात्मघातकानां नाशौचम्’ भनी स्वेच्छाले आत्मघात गर्नेको आशौच (जुठो) नलाग्ने कुरा उल्लेख गरिएको छ । उता युरोपमा पनि १९औँ शताब्दीको आरम्भसम्म पूर्वजन्मको पापका कारण व्यक्तिले आत्महत्या गर्छ भन्ने विश्वास गरिन्थ्यो तर १९औँ शताब्दीको केही समयपछि भने व्यक्तिमा उत्पन्न उन्माद वा पागलपन हावी हुँदा उसले आत्महत्या गर्छ भनी परिभाषित गरिएको छ । पूर्व र पश्चिम दुवैतिर आत्महत्या सम्बन्धमा चर्चा गर्दै यसका कारण र रोकथामका उपाय सम्बन्धमा अनेक विमर्श गरिएको पाइन्छ ।

कुन उमेर समूहका व्यक्तिले र कसरी आत्महत्या गर्छ भन्ने सम्बन्धमा एक अध्ययनले सामान्यतया ११/१२ वर्षदेखि १९ वर्षसम्मका व्यक्तिले बढी आत्महत्या गर्छन् भन्ने तथ्याङ्क भेटिन्छ तर अर्को अध्ययनले उन्नाइसदेखि ३४ वर्ष उमेर समूहका व्यक्तिले बढी आत्महत्या गर्ने गरेको देखाएको छ । यसो हुँदाहुँदै पनि समाजमा ६/७ वर्षका कलिला बालबालिकादेखि वृद्धावस्थाका व्यक्तिले समेत आत्महत्या गर्ने गरेको पाइन्छ ।

आत्महत्या सम्बन्धमा सन् १९५८ मा अमेरिकाको लसएन्जेलसबाट अनुसन्धान सुरू भएको हो । उक्त अध्यनबाट विश्वमा मानिसको मृत्यु हुने अनेक कारणमध्ये आत्महत्या दसौँ ठूलो कारण रहेको खुलेको हो । विश्वभर वर्षमा एकदेखि दुई करोडसम्म मानिसले आत्महत्याको प्रयास गर्ने गर्छन् तर ८० लाखदेखि एक करोडसम्मले आत्महत्या गर्ने गरेको तथ्य भेटिएको छ । यसरी आत्महत्या गर्नेमा पनि पुरुषको तुलनामा महिलामा चार गुणा बढी सम्भावना रहेको कुरा अध्ययनले देखाएको छ ।

अधिकांश आत्महत्या गर्नेवालाले मर्नका लागि जहरिलो विष, रसीको पासो लगाएर झुन्डिने, पानीमा डुब्ने, शारीरमा पेट्रोल, मट्टीतेल खन्याई आगो लगाउने, अग्लो स्थानबाट हामफाल्ने, पेस्तोल वा बन्दुकले आत्महत्या गर्ने गरेको पाइन्छ । जसरी रजुन उमेर समूहका व्यक्ति भए पनि आत्महत्या गर्ने निम्न कारणलाई प्रमुख मानिन्छ ।

साना ६/७ वर्षदेखि १९ वर्षसम्मका बालबालिकामा आमाबाबुको दबाब सहन नसकेर, विभिन्न किसिमका विभेद, बालिकाहरूमाथि हुने यौनशोषण वा हेपाइ र पिटाइ सहन नसकेर, पढाइमा असफल भएर, प्रेममा धोका, सामाजिक अपमान, महत्वाकांक्षा पूरा गर्न नसकेर, कुनै पारिवारिक चरम निराशा, बेरोजगारीका कारण आत्महत्या गर्ने गरेको पाइन्छ ।

विशेष गरी युवा र पाका उमेरका मानिसहरू घर परिवारमा बेमेल, अधिक मादक पदार्थको सेवन, कुनै प्रकारको कुलतमा फसेर, चरम आर्थिक चपेटाबाट उन्मुक्ति नदेख्नाले, गरिबीको दुश्चक्रबाट थिचिएर, ठुलो आर्थिक लगानी डुब्नाले, कुनै अपमानजनक आरोपबाट सामाजिक–नैतिक मूल्यमा गिरावट आउनाले, कुनै कडा रोगले सताइरहने र घरपरिवारबाट माया नपाउने जस्ता परिस्थितिमा पनि आत्महत्या गर्ने गरेको देखिन्छ ।

व्यक्तिले आत्महत्या गर्नुपर्ने माथिका कुनै पनि कारण हुन सक्छन् । त्यस्ता व्यक्तिले आत्महत्या गर्नुपूर्व के कस्ता स्वभाव र लक्षण देखाउँछन् त्यो कुरा जानिराख्यो भने आत्महत्या रोकथाम गर्न सजिलो हुनसक्छ । अतः सामान्यतया अधिकांश व्यक्तिमा निम्न स्वभावगत लक्षण देख्न सकिन्छ ।

आत्महत्याको सोच बनाएको व्यक्ति सधैँ एकान्तमा बस्न मन पराउँछ । उसले सधैँ नकारात्मक कुरा मात्र सोचिरहन्छ । ऊ अधैर्य बन्दै जान्छ । लागूपदार्थको लत भए उस्तै प्रकारका साथीहरूसँग बस्न रुचाउँछ । उसमा बेचैनी र छटपटी हुन्छ । अस्थिर मनोविज्ञान र हडबडाहट भइरहन्छ । जिद्दी र हठीपनका कारण आत्मविश्वास गुमाएको हुन्छ । उसलाई मानसिक चिडचिडाहटले सताइरहन्छ । त्यस्ता व्यक्तिहरूमा झगडालु वा अन्तरमुखी दुवै खाले स्वभाव देखिन सक्छन् ।
माथि उल्लिखित जुनसुकै कारणले आत्महत्या गर्ने प्रवृत्ति बढिरहेको भए पनि व्यक्ति र परिवारले क्रमशः निम्न उपाय अपनाएर आत्महत्याको श्रृंखलालाई न्यूनीकरण गर्न सकिन्छ ।

व्यक्ति आफूले सधैँ सकारात्मक सोच बनाइराख्नुपर्छ । आफन्त साथीभाइलाई आत्महत्याको विचार आएको थाहा पाएपछि उसका अभिभावक वा नातेदारलाई जानकारी गराउनुपर्छ । कुनै व्यक्ति खराब आचरणबाट आत्महत्याको सोच बनाएको छ भने उसलाई फकाएर सम्झाएर जीवनप्रति आशावादी बनाउनुपर्छ । त्यस्ता व्यक्तिलाई आत्महत्या गर्नुपूर्वका लक्षण देखिएमा एकान्तमा बस्न नदिने, उसका कुरा ध्यान दिएर सुन्ने, उसले कुनै अप्ठ्यारो भएको कुरा बुझेपछि यो त सबैलाई हुन्छ नि । यो त सामान्य हो भनेर हौसला प्रदान गर्ने । उसको भावनाको कदर गरिदिने । उसका सफल पक्ष, राम्रा गुण र सकारात्मक भावनाको प्रशंसा गर्ने । परिवारका सदस्यबीच एकअर्कामा प्रेम, सद्भाव, विश्वास, सहयोग बनाइराख्ने । घरमा सकेसम्म ठुलालाई आदर र सानालाई माया गर्ने वातावरण बनाउने । प्रत्येक दिन प्रणायाम र केही सरल आसन गर्नुपर्छ । यसले व्यक्तिलाई मानसिकर आत्मविश्वास बढाउँछ । आत्महिंसामा विश्वास गर्नुहुँदैन भनी सम्झाउनुपर्छ । यदि कुनै व्यक्तिको अवस्था साह्रै गम्भीर देखिएमा सामाजिक मनोविर्शकर्ताकहाँ परामर्शका लागि लिनुपर्छ ।

समाजमा आत्महत्या न्यूनीकरणका लागि राज्यले पनि केही नीति अवलम्बन गर्नुपर्छ । यसका लागि कक्षा चारदेखि नै १२ कक्षासम्मका किशोरकिशोरीका लागि पाठ्यक्रममा आत्महत्या गर्नुहुँदैन भन्ने पाठ्यांश समावेश गरिनुपर्छ । समाजमा आत्महत्याविरुद्ध सचेतना जगाउन स्थानीय सरकारले टोल टोलमा सहयोगका लागि क्लब गठन गर्न लगाउनुपर्छ । ती क्लबका सदस्यहरूलाई मनोपरामर्श तालिम दिने र तिनै सदस्यहरूले समुदायमा आत्महत्या विरुद्धका अभियान चलाएमा आत्महत्या न्यूनीकरण गर्न सकिन्छ ।

स्थानीय सरकारले गुरु, पुरोहित तथा व्याख्याताहरूलाई प्रवचन गर्दा आत्महत्या गर्नु धार्मिक दृष्टिले पनि निन्दनीय कार्अन्त्यमा आत्महत्या रोकथामबारे संवाद गराँै, दृष्टिकोण बदलौँ भन्ने नाराका साथ सम्पन्न हुन लागेको विश्व आत्महत्या रोकथाम दिवस सफल रहोस् । प्रत्येक मानवमा यो अमूल्य जीवनलाई खेर फाल्ने होइन विभिन्न चुनौतीको सामना गर्दै जोगाइराख्ने सबैलाई प्रेरणा मिलोस् । हार्दिक शुभकामना !

-यामलाल घिमिरे

प्रकाशित मितिः   २५ भाद्र २०८१, मंगलवार ०५:०३