राजधानी सहरी सडक निर्माणमा ढिलाइ

सुर्खेत: कर्णाली प्रदेश राजधानी सहरी सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । सडक निर्माण कार्य तोकिएको समयमा पूरा नहुने भएको हो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण काममा ढिलाइ भइरहेको छ ।

वीरेन्द्रनगरका १५ वटा सडकलाई प्याकेजमा स्तरोन्नतिको कार्य थालिएको थियो । तीन वर्षमा ३४ प्रतिशत मात्र काम भएको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयले प्रदेश राजधानी सहरी सडक निर्माणका लागि कान्छाराम कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । २०७८ भदौ १७ गते विभिन्न १५ वटा सडक खण्डमा कालोपत्रे गर्नेगरी ठेक्का सम्झौता गरिएको हो । १२ करोड ९४ लाख ३६ हजार रूपैयाँमा ठेक्का सम्झौता गरिएको निर्देशनालयका निमित्त निर्देशक रामशरण आचार्यले बताए । उनका अनुसार ठेक्का सम्झौता भएको तीन वर्षमा ३४ प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेको उनको भनाइ छ ।

निर्देशनालयले पहिलो पटक म्याद थप गरेको छ । सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधन अनुसार उक्त निर्माण कम्पनीको म्याद थपिएको आचार्यले जानकारी दिए । निर्देशनालय र कन्स्ट्रक्सनबीच यी सबै सडकहरू २०७९ फागुन २८ गतेसम्म निर्माण गरिसक्ने सम्झौता भएको थियो । तोकिएको मितिमा काम नभएपछि पहिलो पटक म्याद थप गरिएको जनाइएको छ । २०८० चैतमा पहिलोपटक म्याद थप भएको हो । २०८१ मंसिर २० गतेसम्मका लागि म्याद थप गरिएको निर्देशनालयले जनाएको छ ।

हालसम्म ३४ प्रतिशत भौतिक प्रगति भएको छ भने ३० प्रतिशत वित्तीय प्रगति भएको छ । अझै ६६ प्रतिशत काम बाँकी नै छ । अहिलेसम्म सात सय ९६ मिटर सडक कालोपत्रे भएको छ । चार सय मिटर सडक कालोपत्रेका लागि तयारी अवस्थामा रहेको जनाइएको छ । निर्माण कम्पनीले हालसम्म निर्देशनालयबाट तीन करोड रूपैयाँ लिएको छ । ५५ लाख बराबरको काम गरेको भुक्तानी निर्माण कम्पनीले पाएको छैन । नौ सय मिटर सडक कालोपत्रे गरेपछि मात्र भुक्तानी दिने निर्देशनालयले जनाएको छ ।

 

न्यून बजेटले काम गर्न समस्या

राजधानी सहरी सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सरकारले न्यून मात्र बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ मा सरकारले चार करोड मात्र बजेट विनियोजन गरिएकाले काम अगाडि बढाउन समस्या हुने निर्देशनालयले जनाएको छ । उक्त निर्माण कम्पनीलाई काम गरकै ५५ लाख रूपैयाँ दिन बाँकी छ ।

 

ढल व्यवस्थापन तथा सडक स्तरोन्नति

कर्णाली प्रदेश राजधानी सहरी विकास कार्यक्रमअन्तर्गन नयाँ ठेक्का सम्झौता भएको छ । सुर्खेत विमानस्थल ढल व्यवस्थापन तथा सडक स्तरोन्नतिको कामका लागि नयाँ ठेक्का सम्झौता गरिएको हो । २०८१ असारदेखि २०८२ चैतसम्म निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको हो । पूर्वाधार विकास निर्देशनालय र न्यूँ दिपक निर्माण कम्पनी सुर्खेबीच पाँच करोड ९४ लाखमा नाला निर्माण र सडक स्तरोन्नतिको कामका लागि ठेक्का सम्झौता गरिएको हो । अहिले पूर्वाधार निर्माणको काम धमाधम भइरहेको निर्देशनालयका निमित्त निर्देशक रामशरण आचार्यले बताए । उनका अनुसार राजधानी सहरी विकास कार्यक्रमअन्तर्गत नै काम सुरु गरिएको हो । एक हजार दुई सय मिटर सडक स्तरोन्नति तथा नाला निर्माण गरिने छ ।

प्रकाशित मितिः   २१ भाद्र २०८१, शुक्रबार ०९:५९