मैले नेतृत्व छोड्ने समय भएको छैनः प्रचण्ड
सुर्खेत: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पार्टीको नेतृत्व छोड्ने बेला नभएको बताएका छन् । शुक्रवार वीरेन्द्रनगरमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले तत्काल पार्टीभित्र नेतृत्व हस्तान्तर जरूरी नभएको बताएका हुन् ।
पार्टीभित्र नेतृत्व गर्ने अर्को बलियो टिम तयार नभइसकेको भन्दै उनले आफूले हस्तान्तरण गर्ने विषय तत्काल उपयुक्त नहुने बताए । ‘म उमेरले ७० वर्ष कट्दैछु, सँधै नेतृत्वमा रहिरहने पनि मेरो इच्छा छैन । प्रचण्ड अध्यक्ष भन्दामाथि भइसकेको छ, त्यसैले राम्रो टिम बन्यो भने अध्यक्षभन्दा अर्को भूमिकामा जाने भन्ने छ,’ उनले भने । पार्टीभित्र राम्रो टिम बनेपछि आफूले अध्यक्षको जिम्मेवारीबाट अलग भएर कुने महŒवपूर्ण भूमिका निर्वाह गर्ने सोचेको उनले बताए ।
त्यसैगरी पार्टी फुट्दैछ भन्ने हल्ला पनि गलत भएको उनको भनाइ छ । माओवादी केन्द्र फुट्छ भन्ने हल्ला डिजाइन गरेर बाहिर ल्याइएको टिप्पणीसमेत गरे । माओवादीले सरकारबाट बाहिर रहेका बेला पनि देशको जटिल परिस्थिति सुधार्न सकारात्मक भूमिका खेलिरहेको उनले बताए ।
यसैबीच कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माओवादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षण तथा परामर्श बैठक सुरु भएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रम शनिवारम्म चल्ने छ । सोही प्रशिक्षणका लागि अध्यक्ष प्रचण्डसहित केन्द्रीय नेताहरू सुर्खेत आइपुगेका हुन् ।
प्रशिक्षणमा महासचिव देव गुरुङ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव जनार्दन शर्मा, शक्ति बस्नेत, वर्षमान पुन, नेता गिरिराजमणि पोखरेल, स्थायी कमिटी सदस्य टेकबहादुर बस्नेत, सत्य पहाडी, कालीबहादुर मल्ल, केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीलगायत उपस्थित छन् । विशेषगरी प्रदेश पदाधिकारी र केन्द्रीय सदस्यहरू बैठकमा सहभागी छन् ।
प्रकाशित मितिः १५ भाद्र २०८१, शनिबार ०५:०१
साझा बिसौनी ।