बजेट कटौतीको मारमा नयाँ सहर आयोजना
सुर्खेत: राकम कर्णाली नयाँ सहर आयोजनाअन्तर्गत पूर्वाधार निर्माणका काम भइरहेका छन् । आयोजना निर्माणको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ६४ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । अहिले विभिन्न खण्डमा आयोजनाका लागि पूर्वाधार निर्माण भइरहेको आयोजनाले जनाएको छ ।
चालु आर्थिक वर्षमा तीन वटा ठेक्का सम्झौता गरेर काम अघि बढाउन लागिएको आयोजनाका इन्जिनियर प्रवेशराज लामिछानेले बताए । त्यसका लागि अबको केही दिनमा ठेक्का आह्वान गर्न लागिएको उनले जानकारी दिए । नौ करोडमा तीन वटा छुटाछुट्टै ठेक्का सम्झौता गरिने जनाइएको छ । राकम कर्णाली बजारमा सहरी विकास र बस्ती विकासका लागि पूर्वाधार निर्माणका काम थालिनेछ । त्यसका लागि तीन करोड बजेट विनियोजन गरिएको आयोजनाले जनाएको छ ।
जग्गा एकीकरण आयोजनाका लागि पनि नयाँ ठेक्का सम्झौता गरिनेछ । तीन करोडमा उक्त ठेक्का सम्झौता गर्न लागिएको आयोजनाका इन्जिनियर लामिछानेले बताए । निमायलमा सहरी बस्ती विकास कार्यक्रम सञ्चालन गरिनेछ । उक्त कार्यक्रमका लागि समेत तीन करोड बजेट विनियोजन गरिएको छ ।
निर्माणका काम निरन्तर
नयाँ सहर आयोजनाअन्र्तगत पूर्वाधार निर्माणका काम भइरहेका छन् । खानेपानीतर्फ धारा निर्माण, पाइपलाइन विस्तार गर्ने, धारा जडानलगायतका काम भइरहेको आयोजनाले जनाएको छ । सडक निर्माणतर्फ विभिन्न खण्डमा ६ किलोमिटर सडक निर्माणको काम धमाधम रूपमा भइरहेको छ । सामुदायिक भवन निर्माण, कर्णाली नदीको तटबन्ध निर्माणका काम अघि बढेका छन् । यस्तै, जग्गा एकीकरणको काम पनि अगाडि बढेको छ । एक सय ३७ रोपनी जग्गा एकीकरण गरेर स्थानीयलाई फिर्ता गरिने जनाइएको छ ।
अहिलेसम्म सडक सोलार बत्ती, मसानघाटमा प्रतीक्षालय, तीन सय पाँच मिटर सडक कालोपत्रे, सिगौडीको कुमालखाडादेखि निमायलसम्म कच्ची सडक, कर्णाली राजमार्ग छेउमा चार वटा यात्रु प्रतीक्षालय सम्पन्न भएको आयोजनाले जनाएको छ । यसैगरी ठूला तीन वटा खानेपानीका योजना सम्पन्न भएका छन् । ३५ वटा धारा निर्माण भएर स्थानीयले उपभोग गरिरहेका छन् । पहिलो चरणमा शाहीखोलादेखि सुडाकाँधसम्म एक हजार दुई सय मिटर सडक ग्राभेल गरिएको छ ।
बजेट अभाव
बजेट अभावले आयोजनाले सोचेअनुसारको लक्ष्य हासिल गर्न सकेको छैन । आयोजना सुरु भएको १३ वर्ष पूरा भएपनि अझै प्रभावकारी काम हुन नसकेको हो । हरेक वर्ष बजेट विनियोजन गरिए पनि बहुवर्षीय ठेक्काको स्रोत सुनिश्चितता नहुँदा आयोजनाले निर्माणको लक्ष्य हासिल गर्न नसकेको हो । बर्सेनि रूपमा बजेट कटौती भइरहेको छ ।
पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७/०६८ मा सरकारले ल्याएको योजनाअन्तर्गत राकममा नयाँ सहर निर्माण थालिएको हो । एक लाख जनसंख्या बसोबास गराउन आवश्यक सम्पूर्ण पूर्वाधारसहित योजनाबद्ध सहरीकरण गरी व्यवस्थित सेवा केन्द्र, कृषि, शैक्षिक, पर्यटन तथा अन्य सेवाहरूको विकास गर्न सरकाले योजना अघि सारेको थियो । २०६८ सालदेखि कार्यालय स्थापना गरेर काम सुरु भएको छ । तर अहिलेसम्म लक्ष्यअनुसारको काम हुन सकेको छैन । जग्गा विवाद र बजेट अभावका कारण भनेजति काम हुन नसकेको आयोजनाले जनाएको छ ।
सरकारले नयाँ सहर परियोजना निर्माणका लागि बजेट पनि न्यून विनियोजन गर्ने गरेको छ । बर्सेनि रूपमा बजेट कटौती हुनेगरेको हो । जसले गर्दा आयोजना निर्माणको कामले गति लिन सकेको छैन । आर्थिक वर्ष २०७९/०८० मा १८ करोड पुँजीगत बजेट विनियोजन भएको थियो । उक्त बजेट आयोजना निर्माणका लागि पर्याप्त भएन । गत आर्थिक वर्ष २०८०/०८१ मा १३ करोड पुँजीगत बजेट विनियोजन भयो । उक्त बजेटसमेत आयोजना निर्माणका लागि पर्याप्त भएन । बजेट न्यून हुँदा काम गर्न समस्या हुनेगरेको इन्जिनियर लामिछानेले बताए । उनका अनुसार एउटै योजना निर्माण गर्नका लागि २० देखि २१ करोड आवश्यकता पर्ने गरेको छ । ‘बजेट कम हुँदा योजना कार्यान्वयनमा समस्या हुनेगरेको छ । अहिलेसम्म स–साना योजना मात्र सम्पन्न भएका छन् ठूला आयोजना सुरु गर्न समस्या भइरहेको छ’ लामिछानेले भने । राकम कर्णालीमा नयाँ सहर बनाउन लागि २० वर्षे योजना निर्माण गरिएको छ । कर्णाली नदी किनारमा आधुनिक सहर (स्मार्ट सिटी) निर्माण योजनाको अवधारणा ल्याइएको हो । आयोजना सम्पन्न गर्न १९ अर्ब ८२ करोड ९४ लाख लाग्ने लागत अनुमान छ ।
प्रकाशित मितिः ६ भाद्र २०८१, बिहीबार ०५:०५
साझा बिसौनी ।