नेतृत्वका विचलित मनोदशा

सिद्धान्त, आदर्श र विचारबाट टाढा र विपरीत ध्रुवका दुई ठूला राजनैतिक पार्टी आपसी स्वार्थले सहमतिमा पुग्दा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छाँगाबाट खसे झैं भएर आत्तिएका थिए । किनकि यी दुई प्रतिस्पर्धी पार्टी आपसमा मिल्छन् भनेर उनले सपनामा या विपनामा कहिल्यै चिताएका थिएनन् । त्यस कुराको मनमा थोरै भय–त्रास रहेको भए लुगा फेरे झैं घरीघरी सत्ता समीकरण फेर्ने थिएनन् । नशाले माते झैं बाचुन्जेल देशमा उथलपुथल गर्ने, घेरा हाल्नेलाई लात्तले हान्ने र जादुवाला नम्बरको आडमा पूरै कार्यकाल सत्तामा नै रहने जस्ता अभिव्यक्ति पनि दिने थिएनन् । कार्यकर्ता थुम्थुम्याउन र आफ्नो मन बुझाउन हाम्रो कामबाट आत्तिएर ठूला पार्टीले आपसमा सहमति गरेका हुन् भनि लाञ्छनाको भारी बोकाए पनि सातवटै प्रदेश सरकारबाट माओवादी पाखा लाग्नुपर्ने अवस्था आयो । कतै प्रदेशप्रमुख कतै मुख्यमन्त्री त कतै मन्त्री सबैले हिजोका रमाइला दिन मात्र सम्झनामा बोकी कोखिलामा हात च्यापेर बस्नुपर्ने परिस्थिति निर्माण भैदियो । प्रचण्डका दम्भ र कार्यशैलीले ‘धेरै नउम्लिएस् दूध, खरानीमा पर्लास्’ भन्ने उखान चरितार्थ बनाइदियो ।
दिनप्रतिदिन आफुमाथी संकट गहिरिदै जान थालेपछि सत्ता बेदखल भएका माओवादी अध्यक्ष प्रचण्डले माओवादी घटक एक हुनुपर्छ भन्ने मुद्दाका नाममा फेरि त्यो कार्ड फालेका छन । हिजो प्रचण्डले गरेको ज्यादती र अपमानले पार्टी त्यागी गएका मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, सिपी गजुरेल, रामवहादुर थापा, गोपाल किराँतीलगायतका शीर्षस्थ व्यक्तिहरू आज सत्ता गुमाउँदाका कारणले प्रचण्डलाई साह्रै मुस्किल परेको छ भन्दैमा हात–हातमा फूल समाएर भेट्न आउँछन् ? प्रचण्डकै खटनपटनलाई शिरोधार्य गर्छन् ? उनको अविछिन्न नेतृत्व के चुपचाप स्वीकार्छन् ? कुनै हालतमा आउँदैनन् र स्वीकार्दैनन् । न्यायीक निकायहरूले फौजदारी मुद्दा खोतल्न उल्टाउन थाले भने टाउको जोगाउन एक ठाउँमा नआइ नहुने अवस्था आयो भने मात्र एकजुट हुन सक्ला, त्यो छुट्टै कुरा भयो । यतिखेर माधवकुमार नेपाल र नेत्रविक्रम चन्दलाई कान फुकिरहेका छन् तर उनीहरूले भाउ दिइरहेका छैनन् । पछिल्लो पटक यो भ्रमखेतीमा तन–मन दिनुको अर्थ कार्यकर्ता अलमल्याउने एउटा जुक्तिबाहेक अरु केही देखिदैन ।
अब पार्टी भित्रैबाट घुमाउरो शैलीमा नारायणकाजी श्रेष्ठ र हरिबोल गजुरेल जस्ता केन्द्रस्तरका व्यक्तिले नेतृत्व त्याग्न प्रचण्डलाई सुझाइ रहेका छन् । नेतृत्वको कार्यशैली प्रत्येक्ष विरोध गर्नेमा वर्षमान पुनलाई पनि उछिनेर जनार्दन शर्मा अगाडि परेका छन् । उनले उठाएका केही गम्भीर प्रश्नले प्रचण्डलाई हायलकायल मात्रै पारेन, राजनीतिमा पनि तरंग ल्यायो । न्यायीक आवाज उठाउँदा आफूलाई तह लगाउन सत्ताको दुरूपयोग गरि अख्तियारसँग पनि खुसामद गरेको, नेतृत्वको सचिवालयले नियतवश आफुलाई पार्टी फुटाली एमालेमा जान तत्पर रहेको भनी गम्भीर आरोप लगाएको र त्यसलाई पुष्टि हुनेगरी नेतृत्वले समेत सार्वजनिक अभिव्यक्ति दिएको भनी शर्माले लिखित दस्तावेजमा नै उल्लेख गरेका छन् । कुनैदिन बोली बाराबारसम्म भएका वर्षमान र जनार्दन मन माझ्न आपसमा भेट गरे । चुरो कुरो पहिल्याउँदा चीनमा उपचारार्थ रहेका वर्षमानलाई प्रचण्डले फोन गरेर स्वास्थ्यका कारणले वर्षमानजीको भर छैन, महासचिव आफूले पाउनुपर्ने भनी जनार्दनले दाबी गरिरहेका छन् भन्ने ढंगबाट कुरा गरेछन् ।
आफूले भन्दै नभनेको तर बीचमा प्रचण्डले नै कथेर उतातिर दिएको कुरा वर्षमानबाट सुन्दा जनार्दन हैरान–हैरान परेछन् । महासचिवका दाबेदार यी दुई पात्रलाई भिडाएर देव गुरुङलाई ल्याउन त्यस्तो प्रपञ्च रचेका रहेछन् भनी पछि दुवैले छर्लङ्ग बुझे । प्रचण्ड–वर्षमान सँगै भएको मौका छोपेर वर्षमानलाई आफूले भन्दै नभएको कुरा किन कथेर भाँजो हालेको भनी जनार्दनले प्रचण्डलाई ¥याख¥याख्ती पारेछन् । त्यसपछि जनार्दनलाई तह लगाउन सत्ताको दुरूपयोग मात्रै गरेनन्, अर्को गोटी पनि चालेर बदनाम गराउने खेलमा लागे । जनार्दनका यस्ता टिप्पणीहरू मिडियामा आइरहेका छन् । मोहन वैद्य र बाबुराम भट्टराईपछि माओवादी नेतृत्वको विकल्प खोज्न हिम्मत गर्ने सायद शर्मा नै तेस्रो व्यक्ति हुन् । अब माओवादीभित्रको यो द्वन्द्व कुन दिशामा जाला त्यो समयले देखाउला ।
हिजो टुक्राटुक्रामा छिन्नभिन्न भएका पार्टीहरू कसैको मुख खोलेर बोलेजस्तो एकीकृत हुन त्यति सजिलो पनि छैन । एकीकरणका लागि सर्त, सम्झौता, सहमति गर्न र हित्तचित्त मिलाउन पनि अत्यन्त गाह्रो छ । किनकि त्यहाँ पद दर्जा र सेवा सुविधाको पनि उचित व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । उदाहरणमा एमाले र माओवादी एकीकृत भएको हिजोको नेपाल कम्युनिष्ट पार्टी हेरे हुन्छ । दुईतिहाइ सरकारको नेतृत्व गर्न पाइनेमा एमालेका अध्यक्षको कुत्सित चाहना थियो भने वामपन्थी एकताका नामबाट निर्वाचनमा जाँदा यदि जनता झुक्किएमा फेरि बलियो पार्टी बन्न सक्नेमा प्रचण्डको स्वार्थ थियोे । त्यसकारण अन्य नेता र कार्यकर्तालाई बेवास्ता गरि स्वार्थ–स्वार्थमा जोडिएको थियो एकीकरण । स्वार्थसिद्ध हुन नसक्दा पार्टी नै दुर्घटनामा परेको जगजाहेर नै छ ।
संसारमा कहाँकहाँ होला एउटा संस्थाको एउटै कार्यकालमा दुईजना अध्यक्ष ? तर नेपालमा थियो, एमाले र माओवादी एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । यसरी देखल रूपमा दुईजना अध्यक्ष थिए भने नदेखिने गरी भित्री रूपमा आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने एउटा लिखित सहमति भएको थियो । सहमति हुनु भन्दा पहिला निर्वाचनमा जानका लागि एमालेको ६० प्रतिशत र माओवादीको ४० प्रतिशतमा बाँडफाँड मिलाइएको थियो । परिणाममा ६० प्रतिशतको एमाले उकालो चढेको थियो भने ४० प्रतिशतको माओवादी उँधो झरेको थियो । लोकप्रिय जनमत प्राप्त गर्न नसके पनि प्रधानमन्त्रीको तिर्खाले प्रचण्डलाई कति सताएको रहेछ भन्ने बुझ्न कठिन छैन । संसद् विघटनको दोष ओलीले नबोकी सुख पाउँदैनन् किनकि दुई–दुई पटकसम्म उनले नै विघटन गरेका हुन । तर अन्तर्य खोतल्दै जाँदा यसको जड प्रचण्ड नै देखिन्छन् । पार्टी एकीकरणबाट देशले यो दुर्दशा भोगिरहेको परिस्थितिमा आज कसैले पार्टी एकीकरणको रामनामी बर्को ओढ्दैमा पूरा हुन्छ भन्ने कतै देखिँदैन ।
देशमा १० वर्ष जनयुद्ध भयो, हजारौं नेपालीले ज्यान गुमाए । गरिबको मात्रै रगत खाने पक्षपाती युद्धले कुनै कोही नेताको मुसेछाला फालेन । लौ मानौँ, नेताहरूले युद्धको रणनीति र योजना बनाउनु पर्ला रे, सबै प्रबन्ध मिलाउनु पर्ला रे, त्यसर्थ उनीहरूलाई युद्धबाट जोगाउनै पर्ने कारणलाई मनासिब मान्न सकिएला । तर तिनका छोराछोरी पनि त बिल्कुल सुरक्षित रहे नि । कुनै नेताका सन्तानले युद्धमा सहादत प्राप्त गरेको भए तिनका लागि पनि गौरवले छाती फुलाउने विषय हुने थियो । सत्ताका रापतापले कसैका सन्तान समाजमा दुर्गन्धित भएर मरे, बाँचेका कोही सन्तान तस्करीका आरोपमा जेल परे भने कानुनभन्दा माथिका कोही सन्तान कमिसनको हिसाबकिताब मिलाउन दत्तचित्त रहेका छन् । ती भाग्यमानी सन्तानका पिता गिरोह गणतन्त्रका नाममा ब्याज खाइरहन तल्लीन छन् । यही प्राप्तिका लागि मात्रै थियो त त्यो युद्ध भन्ने गहन प्रश्न जनतामा व्याप्त छ ।
नेतृत्वको कार्यशैलीका कारण पार्टीमा योगदान दिएका जुझारु कार्यकर्तापंक्ति पनि चित्त दुखाएर तितरबितर भैरहेका छन् । कार्यकर्ताबाट पार्टीको समिति र पदाधिकारी निष्पक्ष चयन हुने लोकतान्त्रिक अभ्यास गर्ने हो भने यहाँ नेतृत्वका छोरी, बुहारी, ज्वाईं, सम्धी र नातागोता सबै पाखा पर्छन् । यो बुझेर नेतृत्वले कार्यकर्ताको महत्व मटियामेट पार्दै धेरै कार्यकर्ताका नामा नयाँ ‘एसमेन’ भर्ती गरिएका छन् । पाकेटबाट चिर्कटो झिकी पढेर नेतृत्वले समिति र पदाधिकारी छान्ने कुसंस्कारलाई एसमेनले ताली बजाएर स्वागत गर्छन् । युद्धकालको अनुभुती पटक्कै नभएका तर धेरै खरानी घसेका र विवेक हराएका ‘एसमेन’ले निर्देशन बमोजिम तोकिएका कोही व्यक्तिलाई भ्रम सिर्जना गरी मानमर्दन गर्न मात्र होइन, समाजमा अफवाह फैलाउन पनि अग्रसर देखिन्छन् । प्रचण्डलाई सत्ता संकट परेपछिका पछिल्ला दिनमा सामाजिक सञ्जालभरी जनवादी गीतहरू बज्नुमा पनि तिनकै खेलोमेलो छ कि भन्ने शंका रहन्छ । ती गीत लेख्ने गाउने र बजाउनेहरू कहाँ कसरी जीवन चलाएका छन्, कसैलाई केही चासो छैन तर तिनका गीतहरू बर्खे च्याउ झैं उम्रेर बेस्वादले चिच्याइ रहेका छन् । गीतमाथि आएका टिप्पणी केलाइ हेर्दा नेतृत्वको सत्तोसराप नै ज्यादा छन् जसले मक्सदलाई नै प्रत्युत्पादक पारिदिएको आभास हुन्छ । यहाँ पछिल्ला घटनाक्रम नियाल्दा नेतृत्व विचलित मनोदशाबाट गुज्रिएको देख्न सकिन्छ । प्रष्ट देखाउने ठोस कामबाहेक यस्ता अफवाहका बैसाखी टेकेर जनतामा जानुको गुन्जाइस हुँदैन । ठूलो त्याग तपस्या र बलिदानबाट प्राप्त गणतान्त्रिक उपलब्धिलाई जोगाउनु पर्छ भन्ने काइते कुरामा पनि जनताले अब विश्वास गर्न सक्दैनन् किनकि पूरापूर उपलब्धि कसैको परिवारमा मात्रै चुलिएको छ । कुराले चिउरा भिज्दैन भने झैं व्यवस्थाको भजन गाएर मात्र केही हुँदैन जनताको अवस्था बदलिनै पर्छ ।
-उमालाल आचार्य
प्रकाशित मितिः २ भाद्र २०८१, आईतवार १३:५०
उमालाल आचार्य ।