मध्यपश्चिममा बढी ‘डिप्रेशन’

सुर्खेत, २२ चैत ।
मध्यपश्चिमका नागरिकमा डिप्रेशन (दिक्कदारीपन) को समस्या धेरै रहेको पाइएको छ । विश्व स्वास्थ्य दिवसको अवसरमा सार्वजनिक गरिएको आँकडा अनुसार देशका अन्य क्षेत्रको भन्दा मध्यपश्चिमका नागरिकमा यो समस्या बढी देखिएको हो । सुर्खेतमा पनि यो समस्या अत्याधिक रहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले मध्यपश्चिमसँगै सुदूरपश्चिममा पनि यो समस्या धेरै रहेको जनाएको हो । कार्यालयले मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । तथ्यांक अनुसार गत वर्ष सुर्खेतमा तीन सय २८ जनामा डिप्रेशनको समस्या देखिएको थियो । यद्यपि यो केही स्वास्थ्य संस्थामा उपचारका लागि आएका व्यक्तिहरूको संख्या हो । जिल्लामा यो समस्याबाट ग्रसित व्यक्तिहरूको संख्या अरु धेरै हुनसक्ने स्वास्थ्यकर्मीले आंकलन गरेका छन् ।
डिप्रेशनको समस्या देखिएको मान्छे उदास हुने, दैनिक कार्यमा जाँगर नलाग्ने, रिस उठ्ने, बारम्बार रुने, आत्महत्या गर्न खोज्ने, आत्मविश्वासमा कमी, एक्लै बस्न मन पराउने, यौन इच्छामा कमी आउने, महिलामा महिनावारी नहुने र टाउको तथा शरीरका भाग दुख्ने लक्षणहरू देखिन्छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख शम्भुप्रसाद ज्ञवालीले मध्यपश्चिम क्षेत्रमा यो समस्या बढी भएको बताए । उनका अनुसार यस क्षेत्रमा रहेको छाउपडी, गरिबी, विगतको सशस्त्रद्वन्द्व, प्राकृतिक प्रकोप र अन्य सांस्कृतिक रहनसहनका कारण मानिसहरू डिप्रेसनको संक्रमणमा फस्ने गरेका छन् । उनले भने, ‘यो समस्या देशभर नै छ, तर मध्यपश्चिममा बढी नै छ । समयमा नै उपचार गरे निको हुन्छ, तर मान्छेहरू लापरबाही गर्छन् ।’
यो रोग वंशाणुगत रूपमा पनि सर्ने गर्दछ । यस्तै अत्याधिक मदिरा सेवन, दुव्र्यसन, धेरै तनाव, पारिवारिक कलह र कुनै अप्रत्यासित घटनाको सामना गर्नुपरेमा पनि डिप्रेशनको समस्या पैदा हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । मध्यपश्चिममा गरिबीको समस्या रहेको र विगतको द्वन्द्वले पनि धेरैलाई पीडा दिएकाले यो क्षेत्रका मानिसमा बढी समस्या देखिएको ज्ञवालीले बताए । उनले थपे, ‘शरीरमा रहेको रसायनको सन्तुलन बिग्रेमा डिप्रेशन हुन्छ, डिप्रेसनकै कारण व्यक्तिहरूले आत्महत्यासम्म गर्छन् । यो राम्रो होइन, यसले सामाजिक रूपमा पनि नोक्सान पुग्दछ ।’ मानिसहरूले यो समस्याको बारेमा खुलेर उपचारमा नआउने र लुकाउने प्रवृत्तिका कारण थप चुनौती थपिएको उनको भनाइ छ । यसबाट बच्नका लागि बेलैमा उपचार गर्नुपर्ने उनको भनाइ छ । जिल्लामा यसको न्यूनीकरण र उपचारका लागि दक्ष र तालिमप्राप्त चिकित्सकको अभाव रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मध्यपश्चिम क्षेत्रीय अस्पतालका डाक्टर नवनित रौनियारले उपचार गरेमा जस्तोसुकै डिप्रेसनको समस्या पनि निको हुने बताए । १० प्रतिशत महिलाहरूमा सुत्केरीपछि डिप्रेशनको समस्या देखिने गरेको उनले बताए । उनका अनुसार बालबालिकाहरूमा भन्दा पनि उत्पादनशील जनशक्तिमा यो समस्या धेरै देखिने गरेको जनाए । साथै उनले डिप्रेशनले मृत्युसम्म पु¥याउने भन्दै समयमा न उपचार गर्न सुझाव दिए । उपचारमा खर्च पनि धेरै नलाग्ने उनको भनाइ छ । तथ्यांक अनुसार नेपालमा ३० प्रतिशतमा यो समस्या रहेको छ । यस्तै जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी बसन्त श्रेष्ठले अब यो रोगविरुद्ध सामूहिक लडाईं आवश्यक रहेको बताए । उनले भने, ‘यो रोगलाई लुकाउने गरिन्छ, बिरामीहरू भित्र–भित्रै गल्दै जान्छन् । अन्तमा मृत्युको मुखमा पुग्नुपर्ने अवस्था आउँछ, अब यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।’
जिल्ला जनस्वास्थ्य कार्यालयले अब यो समस्याको रोकथामका लागि जिल्लाका सबै स्वास्थ्य संस्थामा तालिम प्राप्त चिकित्सकको व्यवस्थापन गर्न पहल गर्ने जानकारी दिएको छ । यस्तै सहज रूपमा औषधि उपलब्ध हुने व्यवस्थाका लागि पनि आफूहरूले पहल थालिरहेको कार्यालयको भनाइ छ । औषधि उपचारसँगै यो समस्याबाट बच्नका लागि दैनिक ३० देखि ४५ मिनेटसम्म पैदल हिँड्नुपर्ने, एकान्तमा बस्नुको साटो खुला स्थानमा केही काम गर्ने प्रयास गर्नुपर्ने, आफूलाई मन पर्ने संगित सुन्न, आफ्नो पीडाहरू अरुलाई बाँड्न, प्रशस्त पानी पिउन र फलफूल खान र आफन्तसँग सहयोग लिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । यस्तै योगा र ध्यान पनि उपयुक्त हुने उनीहरूको भनाइ छ ।

प्रकाशित मितिः   २३ चैत्र २०७३, बुधबार १३:५७