कर्णालीमा रास्वपाको ‘क्लोज क्याम्प’
सुर्खेत: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीमा ‘क्लोज क्याम्प’ सञ्चालन गरेको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार शुक्रवारदेखि दुई दिने क्लोज क्याम्प आयोजना गरिएको हो । क्याम्पमा कर्णालीका दश वटै जिल्लाबाट करिब एक सय प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
पार्टीको विद्यान संशोधन, आगामी कार्यदिशा तथा रणनीति तयार गर्ने उद्देश्यले क्याम्प सञ्चालन गरिएको जनाइएको छ । उद्घाटन कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य हरि ढकालले पार्टीलाई जनताको भरोसायुक्त बनाउनुपर्नेमा जोड दिए । यस्तै विनिता कठायतले देशको विकास र समृद्धिको खाका रास्वपासँग हुनुपर्ने बताइन् ।
अर्का नेता हरिप्रसाद अधिकारीले मुलुक र जनताको हितका लागि रास्वपा नै एकमात्र विकल्प भएको जिकिर गरे । त्यसका लागि जनताका सवाललाई प्राथमिकतामा राखेर सबै कार्यकर्ता क्रियाशील हुनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा सहभागी प्रतिनिधिहरूलाई विभिन्न ६ वटा समूहमा विभाजन गरेर छलफल भइरहेको छ । संसदीय मामिलाको नेतृत्व हरिप्रसाद अधिकारी, विचार समूहको डा. गोविन्द आर्चाय, संगठन निर्माणको प्रेम चन्द, लिडरसिप एकेडेमीको मानबहादुर शाही, अभियानको पवनराज देवकोटा र मूल्य मान्यता समूहको पुस्तक चन्दले नेतृत्व गरेका छन् । क्याम्प शनिवारसम्म सञ्चालन हुनेछ ।
साझा बिसौनी ।