दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: आन्तरिक तयारीका लागि बजेट अपुग

बजेट बढाउन नवनियुक्त मन्त्री भण्डारीको पहल

सुर्खेत: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आन्तरिक तयारीका लागि बजेट अपुग हुने भएको छ । प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा तयारीका लागि बजेट अपुग हुने भएको हो ।

चालु आर्थिक वर्षका लागि १६ करोड बजेट माग गरिएको भएपनि प्रदेश सरकारले दुई करोड ५६ लाख मात्र बजेट विनियोजन गरेको छ । उक्त बजेटले जिल्ला–जिल्लामा पूर्व तयारीका खेल खेलाउन बजेट अपुग हुने परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले बताए । ‘आन्तरिक तयारीका लागि बजेट न्यून छ,’ उनले भने, ‘पूर्वतयारीका खेल खेलाउन, अन्य काम गर्न समस्या हुन्छ, हामीले प्रदेश सरकारसँग १६ करोड बजेट माग गरेको भएपनि दुई करोड मात्र विनियोजन भएको छ, उक्त बजेट निकै न्यून हो ।’

यस्तै, संघीय सरकारले दशाँै राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि यो वर्ष ६० करोड बजेट विनियोजन गरेको छ । संघीय सरकारले प्रतियोगिता आयोजनाका लागि बजेट छुट्याएको हो । तर गृहप्रदेशमा हुने प्रतियोगिताका लागि आवश्यक तयारी गर्न भने बजेट कम भएको हो ।

बजेट अपुग भएपछि प्रदेश सरकारले थप स्रोत जुटाउन पहल थाल्ने भएको छ । प्रदेश सरकारका नवनियुक्त सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतियोगिताका लागि आवश्यक बजेटको पहल गर्ने बताएका छन् । केहीदिन अघि मात्रै पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले आगामी मंसिरमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय र संघीय सरकारसँग सहकार्य गरेर आवश्यक बजेट उपलब्ध गराउने गरी उनले पहिलो निर्णयमा हस्ताक्षरसमेत गरेका छन् । ‘बजेट सुनिश्चतासँगै तोकिएकै समयमा दशाँै राष्ट्रिय खेलकुद प्रतियोगिता हुने छ,’ मन्त्री भण्डारीले भने, ‘रंगशाला निर्माणमा प्रदेशले बजेटमा सहयोग गरेको थियो । अब प्रतियोगिता सम्पन्न गर्न संघीय सरकारले बजेट व्यवस्थापन गर्नु पर्छ ।’

 

रंगशाला निर्माण अन्तिम चरणमा

यसैबीच प्रदेश गौरवको आयोजनाअन्तर्गत वीरेन्द्रनगरमा रंगशाला निर्माणको ९० प्रतिशत भौतिक प्रगति हासिल भएको छ । अहिले पूर्वाधार निर्माणको काम धमाधम भइरहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । परिषद्का सदस्य सचिव सञ्ज्यालका अनुसार हालसम्म ९० प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ९० प्रतिशत नै वित्तीय प्रगति हासिल भएको छ ।

म्याद थप गरेर रंगशाला निर्माणको काम भइरहेको उनले जानकारी दिए । पूर्वनिर्धारित समयमा सम्पन्न हुन नसकेपछि चार महिना म्याद थप गरिएको छ । आगामी मंसिरमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरेर रंगशाला निर्माणको कामलाई अघि बढाइएको छ ।

२०७८ कार्तिक २८ गते प्रदेश रंगशाला निर्माणको ठेक्का सम्झौता गरिएको थियो । एमएसी–जीएसएल कम्पनीले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रूपैयाँमा निर्माणको जिम्मेवारी पाएको हो । २०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएपनि काम सम्पन्न नभएकाले म्याद थप गरिएको खेलकुद विकास परिषद्ले जनाएको छ । २०८१ असोज १० गतेसम्म रंगशाला निर्माणको म्याद थप गरिएको परिषद्का सदस्य सचिव सञ्ज्यालले जानकारी दिए । अत्याधुनिक तरिकाले काम अघि बढाइएको रंगशालाको पहिलो चरणमा डिजाइन, फिल्ड निर्माणलगायत काम भएका थिए । ती काम ६ महिनाको अवधिमै सकिएको थियो । दश हजार दर्शक अट्ने क्षमताको बनाउने गरी काम भइरहेको रंगशालाको फिनिसिङलगायतका काम अन्तिम चरणमा पुगेको सञ्ज्यालले बताए । उनका अनुसार अब मेसिनरी काममात्रै बाँकी छन् । छाना छाउने, दुबो रोप्ने, हरियाली बनाउने लगायतका काम बाँकी छन् । रंगशाला निर्माणको दश प्रतिशत मात्र काम बाँकी रहेको उनले बताए । अहिले झ्याल–ढोका, बाथरुम फिटिङलगायतका काम धमाधम भइरहेका छन् । अबको एक महिनामा उक्त काम सम्पन्न गरिसक्ने जनाइएको छ । अहिलेसम्म एक अर्ब ४३ करोड बजेट कार्यान्वयन भएको छ ।

प्रकाशित मितिः   २५ श्रावण २०८१, शुक्रबार १०:५०