कांग्रेसद्धारा मन्त्री सिफारिस, मुख्यमन्त्रीले रोके शपथ
सुर्खेत: नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम सिफारिस गरेको छ । कांग्रेसको प्रदेश संसदीय दलले शुक्रवार चार जना मन्त्रीको नाम मुख्यमन्त्रीलाई सिफारिस गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकासमन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढाको नाम दिएको छ ।
कांग्रेसले मन्त्री सिफारिस गरेपनि उनीहरूको शपथको टुँगो भने लागेको छैन । कांग्रेसले शुक्रवार बिहानै नाम बुझाएपछि सोही दिननै शपथ हुने जनाइएको थियो । तर मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसबाट सिफारिस मन्त्रीहरूलाई शपथका लागि प्रदेश प्रमुखलाई सिफारिस नै गरेनन् । जसका कारण कांग्रेसबाट सरकारमा जाने मन्त्रीहरूको शपथ केही दिन पर धकेलिएको छ ।
यसअघि एमाले–माओवादी गठबन्धन अनुसार प्रदेश सरकारमा एमालेले मुख्यमन्त्रीसहित चार र माओवादीले चार मन्त्रालयको भागबण्डा गरेका थिए । माओवादी सरकारबाट बाहिरिएसँगै चार वटा मन्त्रालय खाली छन् । सोही मन्त्रालय कांग्रेसले लिनेगरी मन्त्री सिफारिस गरेको छ । तर मुख्यमन्त्री कँडेल भने एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेकाले मन्त्रालयको भागबण्डामा हेरफेर गर्न चाहन्छन् । तर पर्याप्त छलफल नगरेरै कांग्रेसले मन्त्री सिफारिस गरेपछि कँडेलले शपथ ग्रहणलाई अल्झाएको बुझिन्छ ।
स्रोतका अनुसार कांग्रेससँग थप छलफल गरेर मुख्यमन्त्री कँडेलले आर्थिक मामिला तथा योजना मन्त्रालय एमालेसँगै राख्न चाहेका छन् । उक्त मन्त्रालयमा सहमति नभए सामाजिक विकास मन्त्रालय माग्ने र त्यसमा पनि सहमति नभएको खण्डमा सामाजिक मन्त्रालय अन्तर्गतका केही योजना र कार्यक्रमलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा लैजाने गरी मन्त्रालयको पुनर्संरचना गर्नुपर्ने कसरत कँडेलको छ । तर कांग्रेसले भने पहिले शपथ ग्रहण गराउनुपर्ने र अन्य विषयमा त्यसपछि सरकारले नै निर्णय गर्ने जनाएको छ ।
प्रकाशित मितिः १९ श्रावण २०८१, शनिबार ०५:०२
साझा बिसौनी ।