घिडघिडो
केही वर्ष पहिले काम विशेषले दैलेख जानु थियो, स्वर्गवासी पूज्य पिताको जन्मथलो प्यारो चाम्रेकोट चामुण्डामा । पैदल हिँडेर दुई÷तीन दिनमा पुग्नुपर्ने कष्ट र बाध्यतालाई आजभोलि मोटर गाडीले विस्थापित गरिदिएका छन् । समयले सुख र सुविधा ल्याइदिएको छ ।
गाडी सुनिश्चित भएपनि हामीलाई दिएको समय तालिका अनुसार हिँडेन । पछाडि सामान बोक्ने क्यारी भएको सानो बोलेरो गाडी, ड्राइभरसहित १०÷११ जना यात्रु कोचाकोच पार्दै दिउँसो १ बजे मात्र सुर्खेतको वीरेन्द्रनगरबाट पश्चिम हुईंकियो जुम्ला सडकमा ।
‘ए भान्जा एकछिन गाडी रोक्द्या भए, म पिसाब फेर्ने भन्या हुँ’ पल्लो छेउका वृद्ध पुरुष उच्च स्वरमा बोले । हेर्दामा जो अशक्त र अलि रुग्ण पनि देखिन्थे ।
‘नअर भान्जा, अहिले हडौन आइजाला । ए लौन रोक्देउ, मलाई गाह्रो भैगो, रोक क्या ।’
ओदालताल कटेर सोतखोलातिर बढ्दै थियो गाडी । गति सुस्त पारेर सडक छेउमा रोके ड्राइभरले । झ्यालबाट टाउको झिकेर पछाडि हेर्दै कराए ऊनी, ‘ए दीपक ! ल झर त, बाजेले पिसाब गर्ने अरे ।’
सुनेर नाति दीपक फंगाले पछाडिबाट जो उनका संरक्षक पनि थिए । ढोका खोलेर सहारा दिँदै बाजेलाई जंगलतिर डो¥याए ।
…
पेटको रोगले ग्लस्त पारेको, लामो समयदेखि दमको रोग गढेको र पछिल्ला दिनमा हातगोडा समेत सुन्निन थालेपछि डाक्टरलाई देखाउन आएको । डाक्टरले उपचार छैन घर लैजानु भनेपछि घर लानु बाहेक विकल्प नरहेको । उनकाबारे केही बुझ्न मैले राखेको जिज्ञासामा ड्राइभरले वृतान्त बताए । त्यसैबखत नातिको मद्दतबाट ऊनी बल्लतल्ल गाडीमा चढे र लामो सुस्केरा हाले । मानौँ गाडीलाई हिँड्ने संकेत दिएका हुन् ।
कान ढाकेर उनको टोपी लगाएका थिए, भित्रीबस्त्र झैं लाग्ने पातलो भुवादार स्वीटर थियो जिउमा । सायद खौरने अनुकूल नपरेर होला गाला र चिउँडोभरी सेताम्मे ठुटा दाह्री पलाएका थिए । उदास अनुहारमा हैरानी जमेको थियो र विरक्त आँखा सडक दृश्यमा हराइ रहेका थिए । शून्यमा हेरिरहेका उनका आँखा मृत्युसँग डराएका होलान् की विगतका मिठा नमिठा सम्झनामा अल्झेका होलान् ! ऊनीसँग सहानुभूति स्वरूप केही बात मार्न चाहन्थेँ, बीचमा दुईजना महिला भएका कारण त्यो कतै सम्भावना रहेन । हे भगवान ! ओछ्यानबाट मृत्युलाई पर्खिरहनु पर्ने कस्तो विवशता । मनमा करुणा भरिन आयो, अनि मेरा आँखाले पटकपटक उनलाई छामिरहे ।
बड्डीचौरबाट गाडी उकालो चढेपछि सिसाबाट बाहिर हेरेर केही खोजे झैँ चलमलाउँदै ऊनी बोले, ‘हो, हेईंती । हेईंती रोकदिया भान्जा एकछिन ।’
‘यहाँ रोक्न मिल्दैन त गाडी’ ड्राइभरले भने ।
‘नाइँ नअर भान्जा । मैले छोरीलाई भेट्ने भन्या हुँ त ।’
‘उहाँ घर हुनुहुन्न अरे त ।’
‘म घर गैग्यापछि फर्की आउन हक्न्या होइना । छोरीलाई भेटुला भन्ने मन भया छ । धरम लागला त भान्जा रोकिदेउ ।’
‘तपाईंको नातिले नरोक्नु भनेको छ, घर पुग्न ढिलो हुन्छ ।’
‘केइ ढिलो हुनैन, म छोरीती बोलुला र गैजाउँला क्या ।’
‘…’ ड्राइभर बोलेनन् ।
‘एकछिन त रोकिदिए हुन्थ्यो नि’ मैले भनेँ ।
‘हुँदैन सर, बिरामी मान्छे गाह्रो हुन्छ । दीपकले नरोक्नु अलमल हुन्छ भनेको छ ।’
‘अलमल हुनैन भान्जा रोकिदेउ बितता’ गला अवरुद्ध पारेर अनुनय विनय गरिरहे । गाडीको बन्द ढोकालाई उनले पटकपटक धकेले, लक खोल्न जान्दैनथे । ऊनी रुन खोजे, गाडी रोकिएन । छटपटाए गाडी चलिरह्यो, धेरै माथि पुग्यो । मनको पीर गाँठो पर्दै अनुहारमा आयो, अँध्यारो बनायो । झ्यालको सिसातिरबाट टाउको घुमाउँदै देखिन्छ कि भनि टाढा कतै छोरिको घर हेर्न खोजे, गाडी रोकिएन । उनको आँखाबाट बरर झरेर बग्यो छोरीको माया । उनले घरीघरी आँसु पुछिरहे, नाक सोहोरिरहे । त्यो कारुणिक दृश्यले साह्रै पीडाबोध भयो, खट्न खटाउन असाध्यै धौ बनायो । ती अपरिचित वृद्धले पगालेर बगाइदिए मेरो मन ।
घटनाले मलाई त्यसरी किन छोयो भने, मेरो पनि छोरी छ । कालले साँच्यो भने मलाई पनि त्यो उमेरमा पुग्नुपर्ने नै हुन्छ । व्यथाले जरा गाडेपछि कसको पो के लाग्छ ! रोग र शोकले खंगारेको कमजोर पिताले आफ्नी प्यारी छोरीसँग भेट्ने उत्कट चाहना राख्दाराख्दै नियतिले यसरी नै यस्तै गाडीमा बसालेर छोरीको आँगन छेउबाट हुइँक्यायो भने ! मैले आँसु देखाइ हात जोडेर दयाको भिख माग्दा पनि बाध्यतामा चल्नुपर्ने ड्राइभरले हेर्दै हेरेन र सुन्दै सुनेन भने ! त्यतिखेर मैले पो के गर्न सकुँला र, आँसु र सिँगान मिसाएर लिप्दै पुछ्दै अपाहिज र लाचार हुनु बाहेक । म त त्यतामुखी पो सोच्न पुगेछु । एउटा कल्पना क्या ! कल्पनाले फुटालिदिन्छ नि, मैं हुँ भन्ने मान्छेको मन पनि ।
छोरीसँग भेटेर उनले के कुरा गर्दा हुन् ? छोरी डाक्टरले अब सन्चो हुन्न घर जा भन्यो, जिन्दगी यस्तै रहेछ नानी मलाई सम्झेर धेरै नरोएस आफुलाई सम्हालेस, भन्दा हुन् कि ! यसो भनिसकेपछि बाबुछोरी अंगालोमा कसिएर बेस्सरी रुँदा हुन् कि ! या, फुर्सद निकालेर माइत आएस छोरी उतै गरौंला मनका बात, अब म दुई/चार दिनको पाहुना हुँ, आउन पाइनस् भने पनि यही हो बाबै अन्तिम भेट भन्दै आँखा अघाउन्जेल छोरीलाई हेरेर मुसुक्क हाँसी बरर आँसु झार्दाहुन कि ! फेरि बाबु छोरी अंगालोमा गाँठो परेर डाँको छोड्दाहुन् कि !
उनले झ्यालको सिसाबाट बाहिर हेरिरहेका थिए । झलझली आँखामा छोरीको सम्झना नाचिरहेको हुँदो हो । छोरी जन्मेर हुर्केको, पढेको, बढेको, बिहादान भएको यावत सब घटना । छोरीले बनाएको, पकाएको, खुवाएको, रमाएको, खुसाएको मिठामिठा पलहरू जो समयले विगतमा लगेर पुरिदिएको थियो । फेरि उम्रेर मनमा सबै ताजा भए । घर माइत पो टाढा होला, मायाले टाढा भन्दैन त । कति ज्याद्रो हुन्छ माया आँसु खाएर पनि तिर्खा मेटिन्न ।
यो सबै उनको मनले नसम्झेको पनि हुनसक्छ, तर आफ्नी छोरीलाई अवश्य सम्झे नै सम्झे । किनकि आँखामा उम्लेर गालाबाट झर्दै खेर गएको आँसु नै त्यसको गवाही थियोे । छोरीले पनि बा आउने बाटो कुरि बसेकी थिइन् कि ! बिरामी बालाई सामल कोसेली बनाइ तयार पारेकी पो थिइन् कि !
‘बा सन्चो हुन्छ नआत्तिनु, भगवान छन् भरोसा गर्नु’ भन्दै सजल आँखा घरीघरी सप्कोले पुछेर सान्त्वना दिन्थिन् कि ! रगतको साइनो हो, जसको रक्तवीजबाट जीवन प्राप्त भएको यथार्थ छ तब त सृष्टिचक्र चलेको छ । त्यसैले बा–आमाको जन्मसिद्ध माया रगतमा संमिश्रण बगेर आएको छ । शब्दमा व्यक्त हुन नसक्ने अवाच्य अव्याख्या यो मायाको भाषा आत्मा भए लिपी केवल आँसु नै आँसु होला । तब त आँखाबाट बग्छ माया नै माया ।
छोरीलाई पनि त बाको मायाले अधैर्य व्याकुल बनायो होला । बालाई भेट्ने छोरीको मीठो आशालाई त्यसरी निर्ममता पूर्वक कुचेर अगाडि बढेको थियो हाम्रो गाडी । आफ्ना अन्तिम दिन गनेका ती कमजोर, रुग्ण वृद्ध पुरुषको छोरीसँग भेट्ने घिडघिडो पूरा भैदिए हुने थियो ! झमक्क साँझमा हामीलाई बोकि कुदेको बलेरो चढिरहेथ्यो जिन्दगीको उकालो ।
जति गरुंगो भए पनि कष्ट र पीरको भारी बोक्नै पर्ने मान्छेको चोला,
नरुने मन नरसाउने आँखा संसारमा कोही–कसैको होला कि नहोला !
-उमालाल आचार्य
प्रकाशित मितिः १९ श्रावण २०८१, शनिबार ०५:०३
उमालाल आचार्य ।