सुशासन प्रवद्र्धनमा जोड
सुर्खेत: सुशासन प्रवद्र्धन गर्नुपर्नेमा सरोकारवाहरूले जोड दिएका छन् । आइतवार वीरेन्द्रनगरमा भएको पहाडी क्षेत्र विकास अभियान जाजरकोट र यूएनडीपीको सहयोगमा सार्वजनिक सेवा प्रवाह सुशासन र जवाफदेहितासम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सुशासन प्रवद्र्धनमा जोड दिएका हुन् ।
मानवअधिकार रक्षक सञ्जालका प्रदेश संयोजक पिताम्वर ढकालले हरेक योजनाको प्रभावकारी अनुगमन र पारदर्शितामा प्रदेश र स्थानीय तहले विशेष ख्याल गर्नुपर्ने बताए । हरेक गतिविधिमा जनसहभागिता, जवाफदेहिता र उत्तरदायित्वलाई मुख्य आधार बनाउनुपर्नेमा उनको जोड रहेको छ । नागरिक समाज संघसंसथाहरूले सरकारलाई सहयोग र खबरदारी गर्न सक्नुपर्ने उनले बताए ।
अधिवक्ता उपेन्द्र विकले सामाजिक न्यायसहितको सुशासन प्रवद्र्धनमा सरकारले विशेष जोड दिनुपर्ने बताए । त्यसका लागि कानुनी सचेतना आवश्यक रहेको उनको भनाइ छ । लक्षित वर्ग विशेष बजेट विनियोजन गर्नुपर्ने, तल्लो तहसम्मका नागरिकसम्म कानुनी ज्ञान दिनुपर्नेमा उनको जोड रहेको छ ।
महिला सशक्तिकरण मञ्च दैलेखका अध्यक्ष सुनिता चन्दले न्यायमा पहुँच पुगेमात्र सुशासन कायम हुने बताइन् । अहिलेपनि कानुन अज्ञानताका कारण महिलाहरूले हिंसा भोग्नुपरिरहेको उनको भनाइ छ । त्यसका लागि पहिले कानुनी सचेतनामा स्थानीय सरकारले जोड दिनुपर्ने उनले जनाइन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव आनन्द सारुले प्रदेश सरकारले सुशासन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए । ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको उनले जानकारी गराए । सरकारले सुशासन प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा समेत विभिन्न नयाँ कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिएका छन् ।
दलित, महिला, अपाङ्ग पिछडिएको वर्गलाई सेवाप्रवाह र सूचनाको विषयमा जानकारी गराउनु परियोजनाको मुख्य उद्देश्य भएको पहाडी क्षेत्र विकास अभियान परियोजनाका संयोजक भीमबहादुर नेपालीले बताए । परियोजनाले कर्णालीका चार जिल्लामा काम गर्दै आएको छ । महिला र सिमान्तकृत समूहहरूको जवाफदेहिता संयन्त्रमा पहुँच बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
प्रकाशित मितिः १४ श्रावण २०८१, सोमबार ०५:०१
साझा बिसौनी ।