अस्पताल भवन अधुरै

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित ५० शैय्याको मेहलकुना अस्पताल भवन निर्माणका लागि फेरि म्याद थप भएको छ । २०८० जेठ २७ देखि २०८१ पुष २९ गतेसम्मका लागि म्याद थपिएको हो । ५० शैय्या विस्तारसँगै संरचना अभाव भएपछि साढे ६ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेत र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७४ पुस २७ गते ठेक्का सम्झौता भएको हो । २८ करोड लागत अनुमान गरिए पनि २१ करोड ७९ लाख ४१ हजारमा ठेक्का सम्झौता गरिएको थियो ।

निर्धारित म्यादभित्र काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिएको छ । पहिलो सम्झौताअनुसार २०७७ असार २५ गते काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तोकिएको समयमा काम नसकिएपछि २०७७ असोजमा पहिलो पटक ६ महिना म्याद थप भयो । २०७७ असोज २५ गतेदेखि पुस २५ गतेसम्म म्याद थप गरिएको थियो । त्यसयता विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले पटकपटक म्याद थप गरिरहेको छ । खरिद ऐनको १३औँ संशोधन अनुसार पुनः भवन निर्माणको म्याद थप गरिएको हो । हालसम्म भवन निर्माणको ७० प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ६५ प्रतिशत वित्तिय प्रगति हासिल भएको छ । भवन निर्माण थालिएको साढे ६ वर्ष भएपनि हालसम्म भवनको ७० प्रतिशत मात्रै प्रगति भएको हो । अझै ३० प्रतिशत काम बाँकी छ । भवन निर्माणको गति भने निकै सुस्त छ । धेरै पटक म्याद थपिएपनि ठेकेदारको लापरबाहीले काम हुन नसकेको जनाइएको छ ।

भवन निर्माण नहुँदा सेवा प्रवाहमा असर परेको छ । ५० शैय्या क्षमता भएपनि १५ शैय्याको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छ अस्पताल । पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ । अस्पतालको भवन नभएर साँघुरो कोठाबाट उपचार गरिरहनु परेको छ । अहिले २४ बेडबाट सेवा दिइरहेको अस्पतालमा २६ बेड अझै अभाव रहेको छ । भवन निर्माणको काम भने कछुवा गतिमा भइरहेको छ । ठेकेदारले सरासर काम नगरेकाले ढिलो भइरहेको छ तर पटक–पटक म्याद थपिएको छ । भौतिक संरचना निर्माण हुने यस्तो समस्याले स्वास्थ्य संस्थाजस्ता संवेदनशील क्षेत्रसमेत प्रभावित छन् । सम्बन्धित निकायले निर्माण कम्पनीलाई पनि निर्धारित समयमै निर्माण कार्य सक्नेगरी ताकेता गर्न जरुरी देखिन्छ ।

प्रकाशित मितिः   ११ श्रावण २०८१, शुक्रबार १०:४५