प्राथमिकतामा आधारभूत अस्पताल
दुई वर्षमा निर्माण सम्पन्न गरी सेवा सुचारु गर्ने उद्देश्यले संघीय सरकारले चार वर्षअघि हरेक स्थानीय तहमा कम्तिमा १५ शैय्याका अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । सोहीअनुसार आधारभूत अस्पताल निर्माण प्रक्रियासमेत अघि बढाइएको छ । यद्यपि, कर्णालीका धेरै स्थानीय तहमा अझै सम्पन्न हुन सकेका छैनन् । नागरिकलाई चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले पाँचदेखि १५ शैय्याका आधारभूत अस्पताल बनाउने योजना सरकारले अघि सारेको थियो । अस्पताल नभएका स्थानीय तहहरूमा दुई वर्षभित्र भवन निर्माण गरिसक्ने लक्ष्यका साथ १५ मंसिर २०७७ मा देशभरका तीन सय ९३ आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । सुर्खेतका केही स्थानीय तहले पनि आधारभूत अस्पताल निर्माणलाई प्राथमिकताका साथ अघि बढाएका छन् ।
पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–९ जहरेमा नगर अस्पताल निर्माण गर्न लागिएको छ । १५ शैय्याको नगर अस्पताल निर्माण गर्न लागिएको हो । नगरपालिकाले अस्पताल निर्माणको प्रक्रियाका लागि ३० लाख बजेट विनियोजनसमेत गरेको छ । पूर्वी सुर्खेतकै लेकवेशी नगरपालिकाले समेत आधारभूत अस्पताल निर्माणको प्रक्रिया अघि बढाइएको छ । अस्पताल निर्माणका लागि दुई वर्षअघि नै ठेक्का सम्झौता भइसकेको छ । १२ करोडमा ठेक्का सम्झौता भएकोभएपनि जग्गा प्राप्ति नहुँदा काम हुन नसकेको हो । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ४ मा १५ शै®याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अस्पताल निर्माणको ९० प्रतिशत काम सकिएको गाउँपालिकाले जनाएको छ । वित्तीय प्रगति ८३ प्रतिशत भएको छ । पश्चिमका नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा गाउँघरबाटै दिने उद्देश्यले १५ शै®याको आधारभूत अस्पताल निर्माण थालिएको हो । १२ करोडमा अस्पताल निर्माणको ठेक्का सम्झौता गरिएको हो । २०८१ असारसम्म भवन निर्माणको अवधि रहेकोभएपनि निर्माण सम्पन्न नहुँदा चार महिना म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ ।
संघीय सरकारको ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’ निर्माण अभियानअन्तर्गत कर्णालीमा चारवर्षअघि शिलान्यास गरिएका अधिकांश भवन अझै अपुरै छन् । कतिपय पालिकामा भवन निर्माण पूर्वका प्रक्रियागत काम नै हुन सकेका छैनन् । पहिलो चरणमा आर्थिक वर्ष २०७७/०७८ मा पाँचदेखि १५ शैय्यासम्मका आधारभूत अस्पताल निर्माणका लागि कर्णालीका ४२ वटा पालिका छनोट भएका थिए । त्यस्तै, दोस्रो चरणमा गएको आर्थिक वर्ष २०७८÷०७९ मा सोही क्षमताका थप २४ स्थानीय तहमा अस्पताल निर्माणको योजना अघि बढाइएको थियो । प्रदेशका ७९ तहमध्ये दुई चरणमा गरी ६६ पालिकामा बजेट र कार्यक्रम पठाइए पनि हालसम्म करिब ३० पालिकामा मात्रै अस्पताल निर्माणको काम भइरहेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार तीमध्ये धेरैजसो भवनको निर्माण कार्य प्रगति पनि सुस्त छ ।
प्रकाशित मितिः ७ श्रावण २०८१, सोमबार ०५:०३
सम्पादकीय ।