भुक्तानी नपाएपछि पुलको काम ठप्प

सुर्खेत: पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाको रामघाट र लेकवेशी नगरपालिकाको दशरथपुर जोड्ने पक्की पुल निर्माणको काम बन्द भएको छ । भेरीगंगा नगरपालिका–११ रामघाट र लेकवेशी नगरपालिका–४ दशरथपुर जोड्नभेरी नदिमा निर्माणाधिन पक्की पुलको भुक्तानी दिने रकम नभएपछि निर्माण ठप्प भएको हो ।

सडक डिभिजन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार भेरी नदिमा एक सय ५४ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन थालिएको छ । सडक डिभिजन कार्यालयले २०७९ माघ २२ गते ३२ करोड ६३ लाख १५ हजारमा अनक कन्ट्रक्सन कम्पनी काठमाडौंसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८३ असार १४ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । हालसम्म ३४ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । दुई वटा फाउन्डेसन निर्माण सकिएको कार्यालयका सूचना अधिकारी टोपनारायण पौडेलले जानकारी दिए । उनका अनुसार भुक्तानी रकम नपाएपछि निर्माण कम्पनीले काम रोकेको छ । ‘अहिले पुल निर्माणको काम ठप्प छ, वर्षायाममा खोला बढेकाले काम हुन नसकेको हो भने, निर्माण कम्पनीले काम गरेकै भुक्तानी नपाउँदा करिब दुई महिनादेखि काम ठप्प छ’ पौडेलले भने ।

निर्माण कम्पनीले सडक डिभिजन कार्यालय सुर्खेतमा ११ करोडकोे बिल पेस गरेको छ । तथापि कम्पनीले हालसम्म तीन करोड ९८ लाख मात्र भुक्तानी पाएको छ । बाँकी भुक्तानी नपाएपछि पुल निर्माणको काम रोकिएको जनाइएको छ । सरकारले न्यून बजेट विनियोजन गरेका कारण रकम भुक्तानीमा समस्या भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । गत आर्थिक वर्ष पुल निर्माणका लागि एक करोड ४१ लाख बजेट विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षमा समेत न्यून बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ मा एक करोड २० लाख मात्र बजेट विनियोजन गरिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । पर्याप्त बजेट नहुँदा भुक्तानी दिन कठिनाइ भएको कार्यालयका सूचना अधिकारी पौडेल बताउँछन् ।

उनका अनुसार पुल निर्माणको धेरै काम बाँकी नै छ । अझै ६६ प्रतिशत काम बाँकी छ । काम गरेअनुसारकै भुक्तानी दिने बजेट नहुँदा अन्य काम अघि बढाउन समस्या भएको उनले जनाए । अझै फाउन्डेसन निर्माण, सवस्ट्रक्चर तथा सुपर स्ट्रक्चरको काम बाँकी छ । बजेट अभावका कारण काम अघि बढाउन समस्या भएको छ । पुल निर्माणको काम अघि बढाउनका लागि अर्थ मन्त्रालयमा बजेट माग गरिएको जनाइएको छ । काम नै रोकिने अवस्थामा पुगेपछि अर्थ मन्त्रालयमा थप बजेट माग गरिएको सूचना अधिकारी पौडेलले जानकारी दिए । निर्माण कम्पनीले भुक्तानीका लागि ताकिता गरिरहेको छ । उनले पुल निर्माणको थप काम अघि बढाउन बजेट माग गरिएको बताए । बजेट मागका लागि पटक–पटक अर्थ मन्त्रालयमा धाइरहनु परेको पौडेलको भनाइ छ । भुक्तानी रकम नपाएको भन्दै निर्माण व्यवसायीले काम बन्द गरेको हो ।

आर्च प्रविधिबाट मोटरेवल पुल निर्माण गरिनेछ । एक सय ५४ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन थालिएको हो । नौलो प्रविधिको पुल निर्माण हुने सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । हेर्दा राम्रो आकर्षित देखिने पुल बन्न लागेको हो ।

 

पुल नबन्दा नागरिकलाई सास्ती

निर्माणाधिन पुल समयमा सम्पन्न नहुँदा पुर्वी सुर्खेतका नागरिकले सास्ती भोग्नु परेको छ । लेकवेशी नगरपालिका र भेरीगंगा नगरपालिका जोड्ने दशरथपुर रामघाट झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । पक्की पुल नबन्दा कठिनपूर्ण यात्रा गर्न बाध्य बनेको लेकवेशी नगरपालिका–४ का दुर्गाप्रसाद ज्ञवालीले बताए । झोलुङ्गे पुलको तार चुडिएको र पुलको पुलमा आउजाउ गर्न समेत समस्या हुनेगरेको उनको भनाइ छ । ‘पुललाई अड्याइएका केही तारहरू चुडीएर भेरिमा झरेका छन् । बिरामीलाई स्टेचरमा राखेर ओहोरदोहोर गर्नुपर्छ, निकै समस्या छ ।’

दैनिक सयौको संख्यामा स्थानीय नागरिक तथा मोटरसाइकलहरू ओहोर–दोहोर गर्ने पुल जिर्ण बन्दै गएपछि दुर्घटनाको जोखिम बढेको वडा नं. ४ कै स्थानीय कर्ण वलीले बताए । लेकवेशीको वडा नम्बर ३, ४, ५, ६ का नागरिकहरूलाई पुल जिर्ण हुदाँ दुघटनाको जोखिम बढेको उनले जनाए । लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेलले पक्की पुल नहुँदा नागरिकलाई सास्ती भइरहेको बताए । समयमा नै पुल निर्माण नहुँदा आवतजावत गर्न समस्या भइरहेको उनको भनाइ छ ।

सामाग्री ढुवानी गर्न समस्या, महँगीको मारमा स्थानीय पर्ने गरेको पौडेलले बताए । दशरथपुर रामघाट जोड्ने पुल निर्माणमा ढिलाइले नागरिकलाई सास्ती भइरहेको उनको भनाइ छ । २३ किलोमिटर लामो दुरीमा रहेको जहरेपुलबाट अहिले त्यहाँका नागरिकले ओहोरदोहोर गर्ने सामान ओसारपसार गर्ने गरेका छन् । २०६० सालमा ससत्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्षको तर्फबाट ढालीएको पुल २०६४ सालमा पुनः निर्माण गरीएको थियो । अहिले उक्त झोलुङ्गे पुल पनि जीर्ण बनेको छ ।

 

प्रकाशित मितिः   ३ श्रावण २०८१, बिहीबार १०:१६