नेशनल प्याब्सन सुर्खेतको अध्यक्षमा भट्टराई
सुर्खेत: नेशनल प्याब्सन सुर्खेतको अध्यक्षमा कुसुम भट्टराई चयन भएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न जिल्ला समितिको सातौँ अधिवेशनले भट्टराईको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय कार्यसमित चयन गरेको हो ।
अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष कमलकुमार सिंहले सुर्खेत जिल्ला धेरै सम्भावना बोकेको जिल्ला भएको र नयाँ बन्ने समितिले ती विविध सम्भावनालाई उजागर गर्नुपर्ने बताए । संस्थागत विद्यालयहरूको हक हितमा काम गर्न खोलिएको संस्था भएकाले योग्य व्यक्तिलाई चयन गर्नुपर्नेमा उनले जोड दिए । नेशनल प्याब्सन कर्णाली प्रदेश अध्यक्ष मेहेन्द्र पुनले विभिन्न क्रियाकलापका माध्यमबाट संगठनलाई चलायमान गराइ रहनुपर्ने र त्यसका लागि धेरै संख्यामा सदस्यता विस्तार गर्नुपर्नेमा जोड दिए ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष नैनसिंह खत्रीले नेशनल प्याब्सन र प्याब्सनका साझा मुद्दा भएको बताए । संगठन फरक–फरक जस्तो देखिएतापनि लक्ष्य र उद्देश्य एउटै भएको उनको भनाइ छ । उनले भने, ‘दुई वटै संस्था संस्थागत विद्यालयको हकहितका लागि खोलिएका हुन्, अब आउने कार्यसमितिले झनै नीजि विद्यालयका सवाल उठाउनुपर्ने देखिएको छ ।’
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रप्रसाद शर्माले विद्यालय शिक्षा सुधारका लागि पहलकदमी गर्न स्थानीय सरकार तयार रहेको बताए । नगरपालिकाले दश वर्षे शिक्षा रणनीति तयार पारेको भन्दै उनले राज्यको प्रमुख दायित्व शिक्षालाई गुणस्तरीय बनाउनु रहेको बताए ।
कार्यक्रममा नेशनल प्याब्सनमा आवद्ध विद्यालयहरूबाट यो वर्षको एसईईमा उत्कृष्ट जीपीए ल्याउने दुई जना विद्यार्थीलाई सम्मान गरिएको थियो । हार्भेष्टमुन सेकेण्डरी बोडिङ्ग स्कुलका धिरज भण्डारी र प्रगति खड्कालाई सम्मान गरिएको हो ।
प्रकाशित मितिः ३० असार २०८१, आईतवार ०९:४१
साझा बिसौनी ।