पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार निर्माण

 

सुर्खेत: कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–८ स्थित त्रिवेणीधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पूर्वाधार निर्माण थालिएको छ । पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित पूर्वाधार निर्माण गर्न लागिएको हो । दुई प्रदेशको प्रमुख पर्यटकीय स्थलसमेत रहेको उक्त ठाउँलाई सुविधायुक्त बनाउन लागिएको छ ।

सुदुरपश्चिम प्रदेशको बडिमालिकाको फेदिमा रहेको त्रिवेणी पाटनलाई सु–सजावट बनाउन लागिएको सान्नी त्रिवेणी गाउँपालिकाले जनाएको छ । फेदिमा त्रिवेणीधाम र सुदुरपश्चिमको बडिमालिका शिरमा पर्नेभएकाले उक्त स्थानलाई धार्मिक र पर्यटकीय रूपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार निर्माण थालेको हो । आर्थिक वर्ष २०७९/०८० बाट पूर्वाधार निर्माणको काम सुरु गरिएको मन्त्रालयका प्रशासन तथा योजना शाखा प्रमुख अन्जु चौधरीले बताइन् । उनका अनुसार योजना कार्यान्वयन डिभिजन वन कार्यालय कालीकोटले गरेको छ । अहिले पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । आर्थिक वर्ष २०८१/०८२ सम्म निर्माण सम्पन्न गर्नुपर्नेछ । ‘त्रिवेणी बडिमालिका पर्यटकीय निर्माण कार्यक्रम’ नामाकरण गरेर पूर्वाधार निर्माण थालिएको मन्त्रालयले जनाएको छ ।

धर्मशाला, मन्दिर, सभाहल, पोखरी, भवन, शौचालय र एक सय आठ वटा नुहाउने धारा लगायतका पूर्वाधार निर्माणका काम भइरहेको डिभिजन वन कार्यालय कालीकोटले जनाइएको छ । विभिन्न चरणमा पूर्वाधार निर्माणका भइरहेको कार्यालयका इन्जिनियर प्रकाश सेजुवालले जानकारी दिए । पूर्वाधार निर्माणका लागि मजदुर कन्ट्रक्सन प्रालि सुर्खेतसँग २०७९ असारमा सम्झौता गरिएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी पाँच करोड एक लाखमा ठेक्का सम्झौता गरिएको इन्जिनियर सेजुवालले बताए । २०८२ असारसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । हालसम्म पूर्वाधार निर्माणको ८० प्रतिशत काम सकिएको छ भने ६५ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । पूर्वाधार निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने लक्ष्य रहेको जनाइएको छ ।

रारा पदमार्ग निर्माणको काम सुस्त

नेपालकै सुन्दर ताल राराको वरिपरि निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम सुस्त गतिमा छ । निर्माण कम्पनीको लापरबाहीका कारण काम गतिमा हुन नसकेको डिभिजन वन कार्यालय मुगुले जनाएको छ । रारामा पर्यटकीय पूर्वाधार पदमार्ग निर्माणका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७९ मा निर्माण सुरु गरेको हो । आयोजनाको कार्यान्वयन डिभिजन वन कार्यालय मुगुले गरिरहेको छ । पूर्वाधार निर्माणको काम निकै सुस्त रहेको कार्यालयका इन्जिनियर धनसिंह रोकायले बताए । उनका अनुसार ४५ करोड २९ लाखमा खानी थोदुङ क्याराभान कन्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएको छ । सम्झौताअनुसार आर्थिक वर्ष २०८१/०८२ मा निर्माण सम्पन्न गर्नुपर्नेछ ।

रारा ताल वरिपरि बनाउने भनिएको १५ किलोमिटर पदमार्ग सोलिङ, पिसिसि, नालीलगायतका भइरहेका छन् । तोकिएको समयमा काम सक्ने गरी योजना सम्झौता भएको भएपनि ठेक्का पाएको कम्पनीको लापरबाहीका कारण काम सुस्त गतिमा भइरहेको इन्जिनियर रोकायले बताए । बहुुवर्षीय योजना २०८२ सालसम्म सक्नुपर्ने भएपनि हालसम्म १५ प्रतिशत मात्र भौतिक प्रगति भएको उनको भनाइ छ ।

पर्यटन प्रवद्र्धनमा जोड

कर्णाली प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक छ । प्रदेश सरकारले पर्यटन प्रवद्र्धनमा विशेष जोड दिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले पर्यटन प्रवद्र्धनका लागि विविध कार्यक्रम सुरु गरिएको बताए । पर्यटन नै प्रदेश समृद्धिको आधार भएकाले त्यसैअनुसारको योजना बनाएर अघि बढेको उनको भनाइ छ । आगामी आर्थिक वर्षमा बहुवर्षीय योजना कार्यान्वयन गर्ने र नयाँ कार्यक्रम सुरु गरिने उनको भनाइ छ । उनले भने, ‘भइरहेका कामबारे समेत मन्त्रालयले चासो दिएको छ, सुस्त गतिमा भइरहेका र सञ्चालन हुन नसकेका कार्यक्रमबारे मन्त्रालयले हेरफेर गर्नेछ ।’

 

 

प्रकाशित मितिः   २९ असार २०८१, शुक्रबार १०:१०