माथिल्लो कर्णाली कौडीमा नसुम्प

सुर्खेत, १७ चैत ।
माथिल्लो कर्णाली आयोजनाको नाममा नदी बेच्ने षड्यन्त्र भएको भन्दै कलाकारहरूले चिन्ता व्यक्त गरेका छन् । माथिल्लो कर्णाली जलविद्युत आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्नुपर्ने भन्दै उनीहरूले भारतीय निर्माण कम्पनीसँग भएको सम्झौता तत्काल खारेज हुनुपर्ने माग गरे । साथै उनीहरूले माथिल्लो कर्णाली आयोजना कुनै पनि हालतमा विदेशीलाई नसुम्पन सरकारलाई सुझाव दिएका छन् ।
चर्चित हाँस्य कलाकार मनोज गजुरेलले माथिल्लो कर्णाली नेपालले गुमाउन नहुने बताए । माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियानले बिहीवार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । कलाकार गजुरेलले भने, ‘देश नै अस्थिर छ, संविधान पनि कायान्वयन हुन सकेको छैन । यही मौकामा विदेशीले हाम्रा नदीनालामा आँखा लगाएका छन्, माथिल्लो कर्णाली पनि यसैको एउटा उदाहरण हो ।’ कर्णाली नदीले समग्र राष्ट्रको नै विकासमा सम्भावना बोकेको भन्दै उनले देशले यसलाई गुमाउन नहुने उल्लेख गरे । उनले थपे, ‘दिल्लीले आँखा लगाएको छ,
त्यसैमा सरकारका मान्छेहरू पनि फसेका छन् ।’
विदेशीहरूले नेपालका नदीनालाहरू कब्जा गर्नकै लागि विभिन्न रणनीतिहरू बुनिरहेको उनको भनाइ छ । यसैको परिणाम देश अस्थिर बनेको भन्दै उनले माथिल्लो कर्णाली आयोजना स्वदेशी लगानीमै निर्माण हुनुपर्ने बताए । यस्तै गायक जीवन शर्माले माथिल्लो कर्णाली आयोजनाको पीडीए सम्झौता खारेज हुनुपर्ने बताए । उनले भने, ‘हामीले नै निर्माण गर्न सक्छौं, स्वदेशी लगानीमै निर्माण होस् । तर कौडीको भाउमा भारतलाई दिन मिल्दैन, राष्ट्रको अहित हुने कामलाई खबरदारी गरौं ।’ उनले कर्णाली नदी बचाउनकै लागि आफूहरूले सांस्कृतिक अभियान सञ्चालन गरेको जानकारी दिए । जीएमआर कम्पनीसँग भएको सम्झौताले देशलाई नोक्सान गर्ने भन्दै उनले कुनै पनि हालतमा माथिल्लो कर्णाली फिर्ता गर्नुपर्ने उल्लेख गरे ।
रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए । सोही अवसरमा कर्णाली बचाऔं अभियानका अध्यक्ष भरत शाहीले आफूहरू कर्णाली जोगाउन अन्तिमसम्म लड्न तयार रहेको बताए । देश र जनताको हित विपरित सम्झौता भएकाले आफूहरूले विरोध गरिरहेको उनको भनाइ छ । उनले भने, ‘कर्णाली हाम्रो सम्पत्ति हो, रातारात भारतलाई सुम्पने षड्यन्त्र भयो । कुनै पनि हालतमा हामी भारतीय कम्पनीलाई निर्माण गर्न दिन्नौं, स्वदेशी लगानीमै निर्माण गरियोस् ।’ केही व्यक्ति र सरकार टिकाउने खेलमा लागेर कर्णाली भारतलाई सुम्पन खोजिएको उनको आरोप छ । माथिल्लो कर्णाली बनाउनका लागि आफूहरू जस्तोसुकै मूल्य चुकाउन तयार रहेको उनले
जनाए । उनले अब आन्दोलन थप सशक्त हुने चेतावनी दिए ।
सांस्कृतिक कार्यक्रममार्फत् माथिल्लो कर्णाली आयोजना विदेशीलाई दिन नहुने भन्दै विरोध गरिएको हो । सो अवसरमा कलाकारहरूले कर्णालीको आवाज र सीमानाको पीडा शीर्षकका नाटक प्रदर्शन गरेका थिए । नाटकमा माथिल्लो कर्णाली आयोजनाको सम्झौता राष्ट्रहित विपरित रहेको र नेपालीकै लगानीमा निर्माण गर्नुपर्ने सन्देश दिइएको थियो । कार्यक्रममा हाँस्य कलाकार गजुरेलले आफ्नो व्यंग्य प्रस्तुत गर्दै दर्शकलाई हसाएका थिए ।
यस्तै गायक जीवन शर्माले सिमली छायाँ र फोकलेण्डको टापुबाट लगायतका गीतहरूमार्फत् दर्शकलाई नचाए । सोही क्रममा रक्तिम अभियानका कलाकारहरूले विभिन्न राष्ट्रिय गीत र नृत्यहरू प्रस्तुत गरेका थिए । सरकार र
भारतीय निर्माण कम्पनीबीच पीडीए सम्झौता भएपछि विभिन्न राजनीतिक दल र समूहले त्यसको विरोध गर्दै आइरहेका छन् ।

प्रकाशित मितिः   १८ चैत्र २०७३, शुक्रबार १३:५८