उद्यमशीलता प्रेरणा सम्मेलन हुँदै

सुर्खेत: सुर्खेतमा उद्यमशीलता प्रेरणा सम्मेलन हुने भएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानको संयुक्त आयोजनामा बुधवारदेखि सम्मेलन हुन लागेको हो ।
सम्मेलनका संयोजक भूपेन्द्रजंग शाहीलेका अनुसार युवाहरूमा उद्यमशीलताको भावना विकास गर्नु, पुँजी निर्माण र रोजगारी सिर्जना गर्नु सम्मेलनको मुख्य उद्देश्य हो । ‘देशको वर्तमान प्रमुख मुद्दा भनेको आर्थिक समृद्धि हो, आर्थिक समृद्धिविना देशको विकास र नागरिकको जीवनस्तरमा रूपान्तरण सम्भव देखिँदैन,’ उनले भने, ‘यसै सन्दर्भमा हामीले यो उद्यमशीलता अभियान थालनी गरेका हौँ ।’
उद्यम गर्ने सोच बनाएका युवाहरूले भोग्नुपरेको अवरोध हटाउन सम्मेलनले सहयोग गर्ने आयोजकको दाबी छ । सम्मेलनमा नीति निर्माता, बजार निर्माता र उद्यमीहरूको सक्रिय सहभागिता रहने समेत जनाइएको छ । संयोजक शाहीका अनुसार सम्मेलनमा विभिन्न मन्त्रालयलगायत देशका नीति निर्माणमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, विभिन्न बैंकका सिइओ, ठूला उद्यमीलगायतको सहभागिता रहने छ । सम्मेलनका क्रममा राष्ट्रिय, प्रदेश र स्थानीय तहका उद्यमशील व्यक्ति, नीति निर्माताहरूसँग चरणबद्ध छलफल गरिनेछ । सम्मेलनका क्रममा हुने बहसमा उद्यमशीलता र आर्थिक विकाससँग सम्बन्धित विज्ञ र सरोकारवालाहरूले भाग लिनेछन् ।
यो सम्मेलन राष्ट्रियस्तरमा केही समयअघि काठमाडौंमा गरिएको थियो । प्रदेशस्तरमा गरिने यो सम्मेलन कर्णालीबाट सुरू गरिएको शाहीले बताए । सम्मेलन देशका सात वटै प्रदेशमा हुने छ ।
प्रकाशित मितिः १९ असार २०८१, बुधबार ०५:०१
साझा बिसौनी ।