बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन माग

 

सुर्खेत: बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन माग गरिएको छ । नेपाल स्वयम्सेवी रक्तदाता समाज सुर्खेतले सोमवार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) लाई ज्ञापनपत्र बुझाउँदै पालिकाभित्रका नागरिकलाई मात्रै भएपनि रगत र रक्त तत्वलाई सर्वसुलभ एवम् निःशुल्क उपलब्ध माग गरेको हो ।

राज्यद्वारा मानव रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरूलाई निःशुल्क उपलब्ध÷ वितरण गराउने नीति लिए पनि परीक्षण शुल्कको रूपमा आवश्यकभन्दा बढी रकम असूली गर्ने गरिएको भन्दै समाजले यस्तो शुल्क रोक्न स्थानीय सरकारलाई आग्रह गरेको हो । परीक्षणका नाममा लिइने शुल्कले विपन्न वर्गका विरामीहरूलाई ठूलो आर्थिक भार पर्दै आएको छ ।

समाजले सुर्खेतमा रगत अभाव हुन नदिने र आर्थिक अभावका कारण समस्यामा परेका बिरामीका लागि समन्वय गर्दै आएको छ । जिल्लाका स्थानीय सरकार र नागरिकहरूसँगको समन्वयमा निःशुल्क रगत वितरण कार्यको पनि थालनी गरिएको समाजका अध्यक्ष अशोककुमार सिंहले बताए ।

संघीय सरकारले एकरूपताका साथ देशभर गुणस्तरीय रगत र रक्त तत्वहरूको निःशुल्क वितरण गर्न÷गराउन आवश्यक निर्देशन दिइसक्दा पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा दिनप्रतिदिन विरामीको संख्या बढ्दै गइरहेका अवस्थामा रगत र रक्त तत्वको पनि माग बढ्दो छ । नगरपालिकाका पालिकाभित्रका नागरिकलाई मात्रै पनि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिदिने सहज हुने अपेक्षा गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै नगरप्रमुख ढकालले यसबारे चाँडै नै कार्यपालिकामा छलफल गरेर अगाडि बढ्ने बताइन् । त्यस्तै समाजका केन्द्रीय सदस्य प्रवाशकुमार शाक्यले नगरप्रमुख ढकाललाई समाजको वार्षिक मुखपत्र ‘हाम्रो रगत’ पत्रिकासमेत हस्तान्तरण गरेका छन् । कार्यक्रममा समाजका जिल्ला सचिव पुनम विसी, कोषाध्यक्ष विकास गिरी तथा सदस्यहरू सन्तोष योगी र मालती विकको उपस्थिति रहेको थियो ।

 

 

प्रकाशित मितिः   १९ असार २०८१, मंगलवार १०:०४