सिँचाइ नहुँदा रोपाइँमा ढिलाइ

सुर्खेत: कर्णालीका अधिकांश जिल्लामा यसपटक फाटफुट मात्रै रोपाइँ भएको छ । असारलाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाका रूपमा चिनिन्छ । मध्यअसार हुन लाग्दा पनि यसपालि न्यून क्षेत्रमा मात्रै धान रोपिएको छ ।

पर्याप्त वर्षा नहुँदा प्रदेशभर धान रोपाइँ प्रभावित भएको हो । यो वर्ष पर्याप्त वर्षात् हुन नसक्दा रोपाइँ सुरु हुन नसकेको वीरेन्द्रनगर नगरपालिका–१० का कृषक रामप्रसाद ढकालले बताए । मनसुन सुरु भएपनि सुर्खेतमा हालसम्म पर्याप्त पानी परेको छैन । केही दिन अघिदेखि हल्का पानी परे पनि रोपाइँका लागि पानी पर्याप्त हुन नसकेको ढकालको भनाइ छ । गतवर्ष यो समयमा आधा रोपाइँ गरिसकेको भएपनि यो वर्ष रोपाइँ सुरु हुन नसकेको उनले जनाएका छन् । उनले भने, ‘यो वर्ष पानी परेको छैन, बनाएको धानको ब्याड सुक्न थाल्यो, ब्याड छिप्पिएका छन् । आकाशे पानीको भर पर्दा रोपाइँ नै हुन सकेको छैन ।’

वीरेन्द्रनगर–१० कै दिपा आचार्यको नौ कट्ठा खेत छ । मध्यअसार भइसक्दा पनि रोपाइँ सुरु नभएको आचार्यले बताइन् । विगतमा यो समयसम्म रोपाइँ सकिन्थ्यो । तर यस वर्ष पानीको अभावका कारण रोपाइँ सुरु हुन सकेन । ‘खडेरीका कारण कुलोमा पानी आउन सकेन, भलपानी छोपेर जेनतेन बिउ राखे पनि रोपाइँ गर्न सकिएन’ उनले भनिन्, ‘यसपटक अघिल्ला वर्षमा भन्दा ढिला भयो ।’ गत वर्ष असार १७ गते सम्म आधा रोपाइँ गरिसकिएको भएपनि यो वर्ष रोपाइँ नै सुरु नगरिएको उनले जनाइन् ।

समयमै मल नपाउने समस्या भोग्दै आएका किसानले यसपटक धान पनि प्रतिकूल मौसमका कारण समयमै रोप्न पाएनन् । वीरेन्द्रनगर–३ का कृषक सविन थापाले गतवर्षहरूमा यतिबेला रोपाइँ गरिसकेको भएपनि यो वर्ष रोपाइँ नै सुरु नभएको बताए । उनका अनुसार पानी नपर्दा रोपाइँ सुरू गर्न सकिएको छैन । उनको १५ कठ्ठा खेतमा मध्यअसारसम्म धान रोपाइँ नै सुरु हुन सकेको छैन । गएको वर्ष धान दिवस मनाइरहँदा उनले खेतमा धान रोपिसकेका हुन्थे । वर्षा ढिला हुँदा यो वर्ष धान रोप्न ढिलाइ भएको थापाको भनाइ छ । नजिकै नहर र कुलो भएका क्षेत्रहरूमा पनि कुलोको पानी खेतसम्म पुग्न नसकेको उनले जनाए ।

प्रदेशभरका कृषकले विगतमाभन्दा ढिला रोपाइँ सुरु गरेका छन् । मनसुन भित्रिन ढिलाइ हुँदा रोपाइँमा समेत त्यसको असर परेको हो । मध्यअसार लागिसक्दासम्म कर्णाली प्रदेशमा करिब ४७ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक चित्र रोकायाका अनुसार यो वर्ष कम क्षेत्रमा धान रोपाइँ भएको हो । अधिकांश जमिनमा सिँचाइ सुविधा नभएको बताउँदै उनले मनसुन पनि ढिला प्रवेश गरेकोले कम रोपाइँ भएको जानकारी दिए । मनसुन सुरु भएसँगै सुर्खेतका विभिन्न क्षेत्रमा रोपाइँ सुरु भएको उनको भनाइ छ । प्रदेशभर यो वर्ष ४७ प्रतिशत रोपाइँ मात्र भएको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीका अनुसार जुम्लामा ९० प्रतिशत धान रोपाइँ सकिएको छ भने सबैभन्दा कम सुर्खेतमा छ । सुर्खेतमा पाँच प्रतिशत धान रोपाइँ भएको छ । सुर्खेतमा धेरै ठाउँहरू आकाशे पानीमा निर्भर हुन्छन् । जुम्लामा जेठ महिनादेखि नै धान रोपाइँ हुन्छ । जुम्लाका कतिपय ठाउँमा यतिबेला धान गोडमेल भइरहेको छ । नदीको पानी प्रयोग हुने भएकाले अधिकांश ठाउँमा खेत रोपिसकेको छ । यस्तै दैलेखमा ३१, जाजरकोटमा ३२, रूकुमपश्चिममा ३०, सल्यानमा ५२ प्रतिशत जमिनमा रोपाइँ भएको छ । यस्तै हिमाली जिल्लाहरू डोल्पा, हुम्लामा ८०, ८० र मुगुमा ७० प्रतिशत धान रोपाइँ भएको छ । यस्तै कालीकोटमा १५ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । प्रदेशभर करिब ४१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

 

सिँचाइको अभाव

कर्णालीमा कृषियोग्य जमिनको क्षेत्रफल धेरै भएपनि सिँचाइको भने अभाव छ । हालसम्मको तथ्यांकले कूल सिँचित क्षेत्रफल २८ दशमलव आठ प्रतिशत मात्रै देखिएको छ । सुर्खेतमा ४५ दशमलव पाँच प्रतिशत रहेको देखिन्छ । प्रदेशभर ५६ दशमलव आठ प्रतिशतले सिँचाइ सुविधा लिएको तथा सुर्खेतमा ६६ प्रतिशतले सिँचाइ सुविधा लिएका छन् ।

कर्णाली प्रदेश सरकारले ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २१औँ राष्ट्रिय धान दिवस मनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि क्षेत्र विकास कार्यक्रमको आयोजना पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–५ को बड्डीचौरमा दिवस मनाइएको हो । दिवसको अवसरमा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले धान उत्पादन वृद्धिका लागि सरकारले विशेष सहुलियतका कार्यक्रम राखेको बताए ।

कृषि क्षेत्रमा सिँचाइ तथा नहर निर्माणका लागि कृषक, समूह र सहकारीलाई विशेष अनुदानमार्फत् सेवा दिइरहेको जनाए । पछिल्लो समय जलवायूपरिवर्तनको चपेटामा कृषि क्षेत्र परेको उनको भनाइ छ । उनले भने, ‘यो वर्ष मध्यअसार भइसक्दा पानी परेको छैन, किसान मर्कामा छन्, जलवायु परिवर्तनको मारमा सबैभन्दा बढी कृषक देखिएका छन् ।’ यसका लागि विशेष योजनाका साथ सरकार अघि बढेको उनले जानकारी दिए ।

 

 

प्रकाशित मितिः   १६ असार २०८१, आईतवार ०५:०५