चट्याङले लिइरहेछ ज्यान, सतर्कतामा छैन ध्यान

सुर्खेत: बुधवार राती चट्याङ परेर दैलेखमा एकै घरका दुई जना घाइते भए । भैरवी गाउँपालिका–४ नाउलीखोलाका ५५ वर्षीय धीरबहादुर शाही र उनकी बुहारी २६ वर्षीया कुसुम शाही चट्याङमा परेर घाइते भएका हुन् । घाइतेहरू जिल्ला अस्पताल दैलेखमा उपचारपछि घर फर्किएका छन् ।

कर्णालीका अन्य जिल्लाभन्दा दैलेखमा चट्याङका घटना धेरै हुने गरेका छन् । जसबाट मानविय र धनजनको क्षति हुने गरेको छ । चालु आर्थिक वर्षमा दैलेखको महावु गाउँपालिकामा चट्याङ परेर दुई जनाले ज्यान गुमाए भने ५० जनाभन्दा बढी घाइते भएको थिए ।

२०८० भदौ २८ मा दैलेखको महावु गाउँपालिका–१ खरिगैरामा चट्याङ पर्दा एक जनाको मृत्यु भयो । ४२ वर्षीय भुमिसरा खत्रीको मृत्यु भएको हो । त्यसैगरी २०८० असोज १ गते चट्याङ लागेर महावु गाउँपालिका–३ बासीका १६ वर्षीय किशोर दाहालको मृत्यु भएको थियो । यो पालिकामा मात्र चालु आर्थिक वर्षमा दुई जनाले चट्याङबाट ज्यान गुमाउनुप¥यो ।

 

चार वर्षमा २१ जनाको मृत्यु

कर्णाली प्रदेशमा विगत चार वर्षमा चट्याङ लागेर २१ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सिर्जना गर्दै आएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको चार वर्षको तथ्यांक हेर्दा बर्सेनि चट्याङका घटना बढिरहेका छन् ।

आर्थिक वर्ष २०७७÷०७८ मा चट्याङ परेर सात जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा ६ जनाको मृत्यु भयो । त्यसैगरी आर्थिक वर्ष २०७९÷०८० मा तीन जनाको मृत्यु भयो भने चालु आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । प्रदेशमा मनसुनजन्य विपद्बाट भएको मानविय क्षतिको विश्लेषण गर्दा लगभग आधा जति मानविय तथा भौतिक क्षति चट्याङबाटै हुने गरेको छ ।

 

सतर्कता कम

चट्याङले बर्सेनि क्षति पु¥याउने गरेको भएपनि तीन तहकै सरकारले चट्याङसम्बन्धी कुनैपनि चासो दिएको पाइदैन । फाट्टफुट्ट प्रदेशभरीबाटै यसरी आएका क्षति विवरण एक ठाउँमा राख्ने हो भने, चट्याङ विपद् निकै भयावह छ । यसले पु¥याउने क्षति अन्य विपद्को भन्दा कम छैन । तैपनि तुलनात्मक रूपमा चट्याङको पूर्वतयारी र सुरक्षाका विधिलाई सरकारले गम्भीरतापूर्वक लिएको देखिँदैन ।
चट्याङले पूर्वमनसुन र मनसुनमा बढी क्षति पु¥याउँछ, चालु आर्थिक वर्षमा कर्णाली प्रदेशभर चट्याङमा परी पाँच जनाको मृत्यु भएको छ, ५५ जना घाइते भएका छन् । विज्ञहरूका अनुसार नेपालमा भौगर्भिक अवस्थितिका कारण पहाड र बादलबीचको दूरी कम हुने र बंगाल खाडीको वायु सीधै आउने गरेकाले पनि चट्याङको जोखिम उच्च छ । केही अध्ययनले त चट्याङको जोखिमका हिसाबमा नेपाल विश्वमै तेस्रो स्थानमा रहेको देखाएका छन् । त्यसमाथि जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमसँगै बढिरहेको हावाहुरीले चट्याङको आवृत्ति बढाइरहेको छ ।

नेपाल चट्याङबाट अति जोखिमपूर्ण भएपनि, वर्षौंदेखि चट्याङ सम्बन्धी यस्तो वास्तविकताबारे सम्बन्धित निकाय जानकार नभएको पाइएको छ । कर्णाली प्रदेश झनै त्यसको चपेटामा परेको छ । स्थानीय तहहरूले समेत यसबारे सावधानी अपनाइएको पाइँदैन ।

प्रकाशित मितिः   १५ असार २०८१, शुक्रबार १०:४४