विद्युत विस्तारमा देखिएको विवाद समाधान
सुर्खेत: स्थानीयको अवरोधको कारण अवरुद्ध भएको चिसापानी–बावियाचौर–बड्डीचौर वीरेन्द्रनगर ३३ केभी विद्युत प्रसारण लाइनको समस्या समाधान भएको छ । मुख्यमन्त्री यामलाल कँडेलको रोहवरमा सरोकारवाला र विद्युत प्राधिकरणबीच ६ बुँदै सहमति भएसँगै आइतवारदेखि काम पुनः सञ्चालनमा आएको हो ।
बराहताल गाउँपालिका ५, बड्डीचौरका स्थानीयहरूले विभिन्न मागहरू राख्दै अवरोध गरेका थिए । स्थानीयहरूले गाडेका पोल उखालेर फालिदिएका थिए । विद्युत पोलका कारण जमिनको प्रभाव मुल्यांकन कम हुने, मूल्य पनि कम हुने र बिक्री गर्दा पनि समस्या हुने भएकाले स्थानीयले उक्त स्थानबाट विद्युत लाइन बिस्तार नगर्न आग्रह गरिरहेका थिए । स्थानीयको अवरोधका कारण चिसापानी–बाचियाचौर–बड्डीचौर हुँदै वीरेन्द्रनगर आउने उक्त ३३ केभी प्रसारण लाइनको काम रोकिएको थियो ।
आइतवार सरोकारवालाहरूसँग छलफलले विद्युत प्राधिकरणले प्रसारण लाइन क्षेत्रका बस्तीमा कालो तार लगाउने, तीन फेसको लाइन उपलब्ध गराउनेदेखि स्थानीयको कम क्षतिमा विद्युत पोल विस्तार गर्ने लगायतका सहमति भएका छन् । मुख्यमन्त्री कँडेलले प्रसारण लाइनको विवाद समाधानपछि द्रुत गतिमा काम अगाडि बढाउन निर्देशन दिए । स्थानीय सरोकारवालाहरूको माग सम्बोधनमा आफ्नो पनि खबरदारी रहने उनको भनाइ छ ।
३३ केभिए प्रसारण लाइन केही दिनमा सम्पन्न हुने र वीरेन्द्रनगरसहित यस क्षेत्रमा देखिएको विद्युत समस्या केही रूपमा समाधान हुने अपेक्षा गरिएको छ । उता कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनले लोड धान्न नसक्दा वीरेन्द्रनगरमा विद्युत सेवा अनियमित हुने गरेको छ । उक्त लाइनमा पश्चिमबाट आएको ३३ केभी थपिएपछि अहिलेको समस्या केही रूपमा हल गर्ने बताइएको छ ।
प्रकाशित मितिः १० असार २०८१, सोमबार ०५:०१

साझा बिसौनी ।