काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ अभियान
सुर्खेत: कर्णालीलाई काठमाडौंसँग जोडेर पर्यटन प्रवद्र्धन गर्न ‘कनेक्टिङ कर्णाली’ अभियान थालिएको छ । मनघरी फाउण्डेशनको अगुवाइमा शब्द, दृश्य, चित्र र उत्पादनद्वारा कर्णालीलाई प्रवद्र्धन गर्न अभियान सुरु गरिएको हो ।
अभियानको सुरुवात दैलेख जिल्लालाई केन्द्रमा राखेर गरिएको छ । कर्णालीका दशवटै जिल्लालाई जोड्दै जाने फाउण्डेशनका भरतबन्धु थापाले जानकारी दिए । उनकाअनुसार यो अभियान १० महिनासम्म जारी रहने छ ।
पहिलो चरणमा तीन दिने कार्यक्रम गरिएको छ । १० महिनासम्म चल्ने अभियान प्रत्येक महिनमा पहिलो शनिवारदेखि तीन दिनसम्म सञ्चालन गरिनेछ । जसमा विभिन्न जिल्लाहरूलाई समेटिनेछ ।
शनिवारदेखि सुरु भएको पहिलो तीन दिने कार्यक्रम सोमवारसम्म चल्नेछ । जसमा ३२ वटा फोटो तथा पाँच वटा भिडिओ प्रदर्शनमा राखिएको छ । यसका साथै, कर्णालीको उत्पादनसँग सम्बन्धित मार्सी चामल, सिमी, कोदो, फापरको पिठो, कपडा, राउटे समुदायबाट उत्पादित सामग्रीहरूलाई प्रदर्शनीमा राखिएको अभियानका परिकल्पनाकार समेत रहेका थापाले जनाए ।
प्रकाशित मितिः ४ असार २०८१, सोमबार ०५:०१
साझा बिसौनी ।