युद्ध संग्रहालय

दश वर्षे सशस्त्र युद्धले ग्रसित जिल्ला हो, कालीकोट । भौगोलिक रूपमा पनि विकट मानिने कालीकोटको पर्यटन प्रवद्र्धनका लागि युद्ध संग्रहालय निर्माण गर्न लागिएको छ । द्वन्द्वकालमा भएका ठूला युद्धमध्येको एक कालीकोटकै पिलीमा भएको थियो । सोही स्थानमा युद्ध संग्रहालय निर्माण भइरहेको छ । कर्णाली प्रदेश सरकारले संग्रहालय बनाउन थालेको हो । बर्सेनि बजेट विनियोजन गरेर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले युद्ध संग्रहालय निर्माण कार्यलाई निरन्तरता दिएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा युद्ध संग्रहालय निर्माणको निरन्तरताका लागि डेढ करोड बजेट विनियोजन गरेको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिभिजन वन कार्यालय कालीकोटले संग्रहालय निर्माणको काम गरिरहेको छ ।

आर्थिक वर्ष २०७९/०८० देखि संग्रहालय निर्माणको काम थालिएको हो । नगरपालिकाको वडा नं. ७ पिलीमा संग्रहालय निर्माण भइरहेको छ । संग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ८५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ५७ प्रतिशत वित्तीय प्रगति भएको छ । अहिले फिनिसिङका काम भइरहेका छन् । संग्रहालय निर्माणका लागि आर्थिक वर्ष २०७९ असार २३ गते ठेक्का सम्झौता भएको थियो । श्री कुशेश्वर कन्ट्रक्सन प्रा.लि. काठमाडौंसँग डिभिजन वन कार्याललय कालीकोटले ठेक्का सम्झौता गरेको हो । २०८४ असार २२ गतेसम्म काम सम्पन्न गरिसक्नुपर्नेछ । सम्झौता अगाडि नै निर्माण सम्पन्न हुनेगरी काम भइरहेको इन्जिनियर सेजुवालले बताए । ६ करोड ८९ लाख ९९ हजारमा ठेक्का सम्झौता गरिएको हो । तत्कालीन शाही नेपाली सेना र माओवादी सेनाको अन्तिम भिडन्त भएको ठाउँ पिलीलाई प्रदेश सरकारले युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागेको हो ।

खाँडाचक्र नगरपालिका–७ मा पर्ने पिली सशस्त्र द्वन्द्वको बेला अन्तिम तथा सबैभन्दा बढी मानवीय क्षति भएको युद्धको रूपमा लिइन्छ । २०६२ साल साउन २३ गते माओवादी र तत्कालिन शाही नेपाली सेनाको दोहोरो भिडन्तमा एक सय तीन जनाको मृत्यु भएको थियो । पिली आक्रमणमा माओवादी पक्षबाट १३ श्रमिक र ६२ जना सैनिक गरी ७५ जना मारिएका थिए भने राज्य पक्षबाट २८ जना माओवादी सैनिक मारिएका थिए । माओवादीबाट मारिएकाहरूको सम्झनामा स्मारक समेत बनेको छ भने राज्य पक्षबाट मारिएकाको उल्लेख गरिएको छैन । दुवै पक्षका कमान्डरसहित युद्धमा ज्यान गुमाएका सबैको सालिक बनाउने, प्रयोग भएका हतियार, उपकरण संकलन गरेर संग्रहालय बनाउन लागिएको जनाइएको छ । अहिले यो गाउँलाई युद्ध पर्यटकीय स्थलका रूपमा विकास गर्नेगरी प्रदेश सरकारले संग्रहालय निर्माण गरिरहेको छ ।

प्रकाशित मितिः   ३१ जेष्ठ २०८१, बिहीबार ०५:०३