बदलिँदै पिलीको परिचय

उहिलेको युद्धस्थल, बन्दैछ पर्यटकीय केन्द्र

संग्रहालयमा संरक्षित हुँदै युद्धको इतिहास

 

सुर्खेत: दश वर्षे सशस्त्र युद्धले ग्रसित जिल्ला हो, कालीकोट । भौगोलिक रूपमा पनि विकट मानिने कालीकोटको पर्यटन प्रवद्र्धनका लागि युद्ध संग्रहालय निर्माण गर्न लागिएको छ । द्वन्द्वकालमा भएका ठूला युद्धमध्येको एक कालीकोटकै पिलीमा भएको थियो । सोही स्थानमा युद्ध संग्रहालय निर्माण भइरहेको छ ।

कर्णाली प्रदेश सरकारले संग्रहालय बनाउन थालेको हो । बर्सेनि बजेट विनियोजन गरेर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले युद्ध संग्रहालय निर्माण कार्यलाई निरन्तरता दिएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा युद्ध संग्रहालय निर्माणको निरन्तरताका लागि डेढ करोड बजेट विनियोजन गरेको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयको योजना तथा प्रशासन महाशाखा प्रमुख अन्जु चौधरीले जानकारी दिइन् । उनका अनुसार डिभिजन वन कार्यालय कालीकोटले संग्रहालय निर्माणको काम गरिरहेको छ ।

आर्थिक वर्ष २०७९/०८० देखि संग्रहालय निर्माणको काम थालिएको हो । पर्यटन प्रवद्र्धन गर्नका लागि संग्रहालय निर्माण थालिएको खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमलबहादुर शाहीले बताए । उनका अनुसार नगरपालिकाको वडा नं. ७ पिलीमा संग्रहालय निर्माण भइरहेको छ । पालिकाले समेत संग्रहालय निर्माणमा सहयोग गरिरहेको उनको भनाइ छ । उनले भने, ‘प्रदेश सरकारको लगानीमा संग्रहालय बनिरहेको छ । आन्तरिक आम्दानी वृद्धि हुने, युद्ध भएको स्थानबारे चर्चा परिचर्चा हुनेछ ।’

संग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगेको डिभिजन वन कार्यालय कालीकोटका इन्जिनियर प्रकाश सेजुवालले बताए । उनका अनुसार ८५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ५७ प्रतिशत वित्तीय प्रगति भएको छ । अहिले फिनिसिङका काम भइरहेका छन् ।

संग्रहालय निर्माणका लागि आर्थिक वर्ष २०७९ असार २३ गते ठेक्का सम्झौता भएको थियो । श्री कुशेश्वर कन्ट्रक्सन प्रा.लि. काठमाडौंसँग डिभिजन वन कार्याललय कालीकोटले ठेक्का सम्झौता गरेको हो । २०८४ असार २२ गतेसम्म काम सम्पन्न गरिसक्नुपर्नेछ । सम्झौता अगाडि नै निर्माण सम्पन्न हुनेगरी काम भइरहेको इन्जिनियर सेजुवालले बताए । ६ करोड ८९ लाख ९९ हजारमा ठेक्का सम्झौता गरिएको हो ।

 

पिली युद्ध

तत्कालिन शाही नेपाली सेना र माओवादी सेनाको अन्तिम भिडन्त भएको ठाउँ पिलीलाई प्रदेश सरकारले युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागेको हो । खाँडाचक्र नगरपालिका–७ मा पर्ने पिली सशस्त्र द्वन्द्वको बेला अन्तिम तथा सबैभन्दा बढी मानवीय क्षति भएको युद्धको रूपमा लिइन्छ ।

२०६२ साल साउन २३ गते माओवादी र तत्कालिन शाही नेपाली सेनाको दोहोरो भिडन्तमा एक सय तीन जनाको मृत्यु भएको थियो । पिली आक्रमणमा माओवादी पक्षबाट १३ श्रमिक र ६२ जना सैनिक गरी ७५ जना मारिएका थिए भने राज्य पक्षबाट २८ जना माओवादी सैनिक मारिएका थिए । माओवादीबाट मारिएकाहरूको सम्झनामा स्मारक समेत बनेको छ भने राज्य पक्षबाट मारिएकाको उल्लेख गरिएको छैन । दुवै पक्षका कमान्डरसहित युद्धमा ज्यान गुमाएका सबैको सालिक बनाउने, प्रयोग भएका हतियार, उपकरण संकलन गरेर संग्रहालय बनाउन लागिएको जनाइएको छ ।

अहिले यो गाउँलाई युद्ध पर्यटकीय स्थलका रूपमा विकास गर्नेगरी प्रदेश सरकारले संग्रहालय निर्माण गरिरहेको छ । ‘माओवादी र तत्कालिन शाही सेनाको सबैभन्दा ठूलो युद्ध यहीँ भएको हो’ वडा नं. ७ पिलीका स्थानीय देवराज सेजुवालले भने, ‘सबैभन्दा बढी मानवीय क्षति भएको स्थानलाई सरकारले युद्ध पर्यटन क्षेत्रका रूपमा विकास गर्न खोजेको छ । हामीहरूको लागि खुसीको कुरा हो ।’

कर्णाली राजमार्ग हुँदै जुम्ला र मुगुको राराताल घुम्न जाने बाटोमा पर्छ पिली । त्यसैले रारा घुम्ने पर्यटकले पिलीमा गाडी रोकेर तत्कालीन माओवादी र राज्यको सेनाबीच युद्ध भएको ठाउँ अवलोकन गर्न सक्ने भएकाले गाउँमा पर्यटकीय पूर्वाधार विकास गर्न लागिएको नगरपालिकाले जनाएको छ । ‘माओवादी जनयुद्धको बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चामा रहेको पिलीलाई सधँैभर चिनाउन र युद्धको अवशेषहरू देखाउन तथा स्थानीयवासीको जीवनस्तर उकास्ने उद्देश्यले पर्यटकीय गाउँको विकास गर्ने योजना छ’ नगर प्रमुख शाहीले भने, ‘युद्ध पर्यटकीयस्थल र लडाई भएका ठाउँमा भग्नावशेष र लडाईमा प्रयोग भएका बंकरको संरक्षण गर्ने तयारी थालिएको छ । लडाई प्रयोग भएका हतियारसमेत संकलन गर्ने तयारी गरेका छौँ ।’

 

प्रकाशित मितिः   ३० जेष्ठ २०८१, बुधबार ०९:२९