पर्यटन प्रवद्र्धन गर्न ‘युद्ध संग्रहालय’

 

सुर्खेत: कर्णाली प्रदेश सरकारले रूकुमपश्चिममा ‘खारा जनयुद्ध संग्रहालय’ निर्माण गर्न लागेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संग्रहालय निर्माण गर्न लागेको हो । रूकुमपश्चिमको त्रिवेणी गाउँपालिका–६ मा निर्माण सुरु गरिएको छ ।

माओवादी द्वन्द्वकालिन गतिविधि झल्काउन ‘खारा जनयुद्ध संग्रहालय’ निर्माण कार्य थालिएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि संग्रहालय निर्माणको काम थालेको थियो । उक्त आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन भएको थियो । त्यतिबेला बजेट कार्यान्वयन भएन । जग्गा प्राप्ति नहुँदा काम अघि बढ्न नसकेको हो । संग्रहालय निर्माणको निरन्तरताका लागि आर्थिक वर्ष २०७६/०७७ मा पनि सोही हाराहारीमा बजेट विनियोजन गरिएको थियो । उक्त वर्षपनि बजेट कार्यान्वय हुन सकेन ।

यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा तीन करोड बजेट विनियोजन ग¥यो । संग्रहालय निर्माणको काम हुन सकेन बजेट फ्रिज भयो । २०७९/०८० दुई करोड विनियोजन भएको थियो । उक्त वर्षपनि बजेट कार्यान्वयन हुन सकेन । जग्गा प्राप्ति नहुँदा प्रत्येक वर्ष बजेट विनियोजन भएपनि कार्यान्वयन हुन सकेको थिएन । चार आर्थिक वर्षमा जग्गा प्राप्ति नहुँदा काम अघि बढाउन नसकिएको हो । तर चालु आर्थिक वर्षबाट भने काम अघि बढेको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले बहुवर्षीय योजनाको स्वीकृत गरी संग्रहालय निर्माणको काम थालेको छ । आर्थिक वर्ष २०८०/०८१ बाट ‘खारा जनयुद्ध संग्रहालय’ निर्माणको काम सुरु गरिएको डिभिजन वन कार्यालय रूकुमपश्चिमले जनाएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले संग्रहालय निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको छ । राष्ट्रिय प्राथमिकतामा राखेर संग्रहालय निर्माणको काम अघि बढाएको जनाइएको छ । संग्रहालय निर्माणका लागि २०७८ मा विस्तृत परियोजना प्रतिवेदन डिपीआर निर्माण गरिएको छ । त्रिवेणी गाउँपालिका रूकुमपश्चिमले डीपीआर निर्माण गरेको हो । डीपीआर अनुसार १९ करोडको लागत अनुमान छ । यसैगरी वातावरणीय प्रभाव मूल्यांकन समेत स्वीकृत गरेर काम अघि बढाइएको कार्यालयले जनाएको छ ।

अहिले संग्रहालय निर्माणको काम धमाधम भइरहेको डिभिजन वन कार्यालय रूकुमपश्चिमका प्रमुख शेरबहादुर परियारले बताए । तत्कालीन माओवादीको युद्ध भएको खारामा जनयुद्ध संग्रहालय निर्माण गर्न लागिएको हो । जम्बुदिप जे.बी.जी. सँग भ्याटबाहेक ११ करोड ४० लाखमा संग्रहालय निर्माणका लागि ठेक्का सम्झौता भएको छ । २०८० साउन १४ गते ठेक्का सम्झौता गरिएको हो । २०८२ असार ३० गतेसम्म संग्रहालय निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

पर्यटन प्रवद्र्धन गर्न संग्रहालय

पर्यटन प्रवद्र्धन गर्न संग्रहालय निर्माण गर्न लागिएको त्रिवेणी गाउँपालिका रूकुमपश्चिमका अध्यक्ष गणेशकुमार केसीले बताए । उनका अनुसार नेपाली गृहयुद्धको प्रमुख लडाई भएको स्थानलाई पर्यटकीय रूपमा विकास गर्ने उद्देश्यले संग्रहालय निर्माण लागिएको हो । पालिकाले समेत केही बजेट विनियोजन गरेर पूर्वाधार निर्माणको काममा सहयोग गरिरहेको छ । जग्गा प्राप्तिको प्रक्रियाका कारण काममा ढिलाइ भएको भएपनि चालु आर्थिक वर्षबाट कामको सुरुवात गरिएको उनको भनाइ छ ।

खाराको त्यो लडाइँ

दक्षिण–पश्चिम रूकुमको पहाड खारामा सैनिक अड्डा अवस्थित थियो । रूकुम जिल्लालाई माओवादी प्रभावित र आधार इलाका मानिन्थ्यो । यो ब्यारेक सेनाको जिल्ला मुख्यालय, मुसिकोटबाट करिब १६ किलोमिटरको हवाई दूरीमा रहेको थियो । यो सैनिक अड्डामाथि २०५९ जेठ १३ मा पहिलो आक्रमण भएको थियो ।

खाराको दोस्रो लडाइँ २०६१ चैत २५ रातिदेखि २६ बिहानमा खारा, रूकुम स्थित सैन्य अड्डामा भएको लडाई थियो । यो नेपाली गृहयुद्धको प्रमुख लडाइ थियो । ठूलो युद्ध भएकै क्षेत्रमा संग्रहालय निर्माण गर्न लागिएको हो ।

 

 

 

प्रकाशित मितिः   २९ जेष्ठ २०८१, मंगलवार १६:५६