समयले दिएका अनुभूतिहरू
हाम्रा बाबु–बाजेले जस्तै हाट जाने हटारुको अनुभव समयले हामीलाई दिएन । बाल्यकालबाट किशोर अवस्थामा पुग्दै गर्दा गाडी–मोटरको प्रचलन आइसकेको थियो, त्यसकारण नुन, तेल र लत्ताकपडा किन्न हाट हिँड्नु परेन ।
सुर्खेतबाट नेपालगंज र बर्दिया आउने–जाने हुन थालेपछि फेरि काठमाडौं जाने भोक बढ्न थाल्यो । कुनै कामबिना काठमाडौं घुम्न–डुल्न जाने त सम्भवै थिएन । प्रतीक्षाको फल मिठो हुन्छ भने झैं अब काम विशेषले काठमाडौं जानुपर्ने अवस्था पनि ल्याइदियो समयले ।
नेपालगञ्जबाट दिउँसो ३ बजे र बेलुकी ५ बजे काठमाडौंका लागि दैनिक दुई वटा बस छुट्थे । कर्णाली चिसापानीमा पुल बनेकै थिएन, कर्णाली पारिका मान्छे कि भारतको बाटो हुँदै कि त जहाज चढेर नेपालगञ्ज पुग्नुपर्ने अवस्था पो थियो । वारीपारी र कर्णाली भेरी सबैतिरका मान्छे समेटि दुई वटा बस भरिभराउ भएर छुट्थे काठमाडौंलाई ।
टिकट अनुसारको सिट खोजेर बस्दै गर्दा मलाई बाल्यकालको एउटा घटना सम्झनामा आयो । एकदिन हामी गोठालो जाँदा बालसखा लीलाराम गैरेले भने, ‘रातभर चल्ने बस पनि हुन्छन् त्यस्ता बसलाई नाइटबस भन्छन् ।’ ऊनी भागेर गएपछि नेपालगञ्ज बस्ने आफ्ना मिस्त्री दाजुसँग पुगेका हुँदा घरीघरी हामीलाई त्यस्तो फुर्ति देखाउँने गर्थे । राति ड्राइभर सुत्न पर्दैन ? रातभर जागाराम कसैले चलाउन सक्ला ! कुरा नपत्याएर मैले आठ लेप्र्याएको देखेपछि ऊनी मसँग खुब रिसाएका थिए । आखिर उनले भनेको सत्य रहेछ, म नाइटबसमा बसिरहेको थिएँ अब छिट्टै गुड्ने प्रतीक्षामा ।
त्यतिबेला नेपालगञ्ज–सुर्खेत बस यात्रामा पूरा दिनभर लाग्थ्यो । आउँदा होस् या जाँदा कोहलपुर पुगेपछि झ्यालबाट घाँटी तानेर पूर्व जानेबाटो हेरिरहन मन लाग्थ्यो । काठमाडौं कस्तो होला, जीवनमा कहिले पुगिएला ! कोहलपुर कटिसक्दा पनि मनमा राजधानीको कल्पना लामै दौडिरहन्थ्यो । परिस्थिति र अवस्थाले नेपालगञ्ज यात्राको अवसर घरीघरी जुरे पनि उता राजधानी जाने रहरको साइत कहिल्यै जुर्न सकेको थिएन । बरु हवाई यात्राको अनुभव थियो मसँग ।
त्यतिखेर नेपालगञ्ज–सुर्खेत जहाज चल्थ्यो । जहाज चढेर आकाश घुम्ने रहर पनि कति मिठो मिठो त्यो बेला । रहरको कुनै सीमा हुँदो रहेनछ । मेरो बाल्यकालमा हामी सुर्खेती बच्चाहरूले मोटर भन्दा पहिला जहाज देखेका हौं । जहाजले बोकी ल्याउने मोटर पनि गुडि आउने मोटर भन्दा पहिल्यै देखेका हौं ।
मेरो नाइटबस कोहलपुरबाट पूर्वतिर दौडेपछि अँध्यारोले घेर्दै आयो । आँखाले झ्याल बाहिरका अप्रष्ट दृश्य हेरिरहेका थिए । कतै टाढा टाढा बत्ती पिलपिलाए जस्तो देखिए पनि ठम्याउन सकिन्नथ्यो । किनकि तागत झिकेर बस बेतोडले दौडेको थियो । जंगलै–जंगलमा कतै उकालो चढे जस्तो त कतै ओरालो झरे जस्तो पनि लाग्छ ।
खानाको लागि बस गोरुसिंगेमा रोकियो । लाल्टिनको उज्यालोमा बसलाई भान्सा कुरेका केही झुपडी होटलहरू थिए त्यहाँ । वरिपरि ठूला रुख र जंगलले घेरिएको थियो झुपडी बजार । चर्पीको चलन थिएन कतै, पिसाबका लागि उज्यालो छलेर अँध्यारोमा मिसिए पुग्थ्यो ।
गोरुसिंगेको भात खाएर हामी फेरि अगाडि बढ्यौं । मेरो आँखामा पटक्कै निद थिएन । बस बटोलमा (बुटवल) रोकियो । पाल्पाको स्याँठ चल्छ भन्थे मान्छेले, साँच्चै जाडो हुँदो रहेछ । ड्राइभर, खलासी र ननिदाएका एक–दुईजना झरेर बाटा छेउको चिया पसलमा गए । चिया कि कफी भनेर सोध्यो पसलेले मलाई । मैले कफी मागें । सुनेको–पढेको थिएँ तर खाने अवसर आएको थिएन, जीवनमा पहिलो चोटि खाइयो कफी बुटवलमा ।
हिजो आफैले भोगेर व्यहोराका घटनाहरू आज मिथक जस्तै लाग्छन् । समयले धेरै टाढा पुर्यायो, पछाडि फर्केर हेर्दा मन गरुँगो हुँदै आउँछ । पढेर–लेखेर त खै कति सिकियो सिकिएन तर जिन्दगीले भने सुख दुःख उनेर केही सिकायो । समयसँग जीवन मात्र होइन भूगोल पनि बदलिँदो रहेछ । बाल्यकालमा कस्तो थियो भनी आफ्नै गाउँ–ठाउँ सहज अन्दाज लगाउन आज मुस्किल पर्न थाल्यो ।
बिजुली बत्तीको झिलिमिली बुटवललाई छोडेर हामी अगाडि हुइँकियौं । पूर्वतिर हिँडे जस्तो लाग्छ, कहिले उत्तर त कहिले पश्चिम नै हो झैं पनि लाग्छ । रातीको बेला कता हो कता केही भेउ पाउन नसकिने । बस कहिले खोलैखोल पनि हिँड्छ त कहिले ढल्कदै कोल्टदै पानीमा चोपलिएर पनि हिँडिरहन्छ ।
खोलाको पानी बबइमा जस्तै टायरले दायाँबायाँ छचल्काउँदै अगाडि बढ्दै जान्थ्यो बस । रातिमा तरेका त्यस्ता ती खोला कहाँका होलान् भन्ने केही मेसै थिएन, अहिले बुझि ल्याउँदा अरुणखोला चोरमारा डण्डा लगायत जहाँ जहाँ बेलिबृज छन् ती सबै पो रहेछन् । भेरी र बबईमा पनि पुल बनेको थिएन नि ।
भेरीमा सबै गाडी मोटर फेरिबाट (किस्ती) बाट तारिन्थ्यो भने बबइमा त खोलामै हेलिन्थ्यो । अहिलेको पुल भन्दा धेरै तल थियो बबईमा गाडी तर्ने घाट । खोलाको घाट पारी दक्षिणमा सानो झुपडी बजार थियो, त्यहाँ मान्छेले खाना–खाजा खान बस्थे बस र ट्रकहरू पनि त्यहाँ एकछिनसम्म सुस्ताउँथे ।
ट्रकबाट सुर्खेत–नेपालगन्जको एक यात्रामा बबइमा खाना खाने मेलोमेसो आयो । हाउभाउबाट कोही एकजना ट्रकको साहु हो भन्ने बुझिन्थ्यो, भात खानका लागि उसले आफ्नो ड्राइभरसँग सय रूपैयाँ मायो । मलाई किन अचम्म लाग्यो भने सय रूपैयाँ के खाएर मास्ला त्यसले, जबकि दस रूपैयाँमा एकथाल भात र तीन रूपैयाँमा एक बटुको मासु पाइन्छ । त्यतिखेर खुराक भात भन्दा मासु सस्तो थियो । ६ रूपैयाँमा हाफ खाना खान पाइन्थ्यो । पूरा खाना खानेले जति पनि थप्न पाउँथ्यो तर हाफ खानेले थप्न सुविधा पाइँदैनथ्यो । अहिलेको परिवेशमा आधा खानाको व्यवस्था खारेज भएको छ । ओहो ! त्यो १० रूपैयाँँको ठूलो महत्त्व थियो । सुरुमा मेरो तलब चार सय थियोे, पाँच सय थियोे, ६ सय थियोे भन्ने पुराना ती कर्मचारीले ज्यादा बुझेका होलान् त्यो दस रूपैयाँको मूल्य र महत्त्व ।
बबईको एउटा चिया खाने होटलमा एउटी महिलाले बोतल आफ्नो मुखमा जोतेर निसंकोच ठाडो घाँटी लगाउँदै पिएको देख्दा तिनछक परें म । सभ्य देखिने ती महिलाले अरुसँग बात मार्दै हाँस्दैहाँस्दै फारो गरेर पु¥याई–पु¥याई पिइरहेकी थिइन् । त्यो बियरको बोतल त अवश्य होइन तर अरु कुनै मदिराको बोतल हुँदो हो भन्ने अन्दाज काटें । पछि नेपालगंजमा पनि केही मान्छेले त्यसरी नै उठिउठी बात मार्दै त्यसैगरी पिइरहेको देखेँ । साँच्चै के हो त जिनिस भनी खोजिनिति गर्दा पछि थाहा लाग्यो त्यो त चिसो पेय पो रहेछ कोकाकोला, पेप्सिकोला । माटाको ठूलो गाग्रोलाई खाल्डामा गाडेर कोकाकोलालाई पानीमा डुबाए पछि चिसिदो रहेछ । तिर्खा मेट्ने रहरमा त्यो कोकाकोलाको पहिलो स्वादले नाक पोलेर पुत्ताएको अनुभव भुल्न सकिन्न कहिल्यै । फ्रीज भन्ने वस्तु हाम्रो जानकारीबाट टाढै पो थियो त्यतिबेला ।
रातिमा लामैलामो पुल तरियो, अरुले नारायणघाट हो भन्थे केही भेउ पाइएन । मुङ्लिन पनि टुकि लाल्टिनले झिलिमिलि हुने झुपडी बजार रहेछ । काठमाडौंबाट आउने रात्री बसहरूले खाना यहीँ खांँदा रहेछन् ।
‘ए दाइ, ए भाइ ल यता आउनुस् यता । हातमुख धुने बाहिर दिसापिसाब गर्ने भित्र । भात खानेलाई भात र रोटी खानेलाई रोटी छ । ल आउनुस आउनुस यता आउनुस् ।’ प्रायः होटलका मान्छेले ग्राहकलाई त्यसरी बोलाउँथे ।
आहा मलेखुको माछा ! त्यो स्वाद शब्दमा व्यक्त गर्न सकिदैन । आजभोलि मलेखुको भनी झुक्याएर तराईको माछा बेचिन्छ । त्यसो त कोसी ब्यारेज वरिपरि बेचिने माछा, नारायणगढ पुल वरिपरि बेचिने माछा र कर्णाली चिसापानी पुलका पसलमा बेच्ने माछा सबै तालमा पालिएका माछा हुन् । नदि छेउछाउमा आलो र ताजा माछा पाउन नसक्नुको कारण के ? नदिले के डोकाका डोका सुकेको माछा बगाइ ल्याउँछ ? यो विषय कसैले सत्यापन गरेपनि नगरे पनि नदिलाई साक्षी राखेर महंगो भाउमा निरन्तर तालका माछा खपत भैरहेको छ ।
काठमाडौं पुगेर बस रत्नपार्कमा रोकियो । अग्ला धेरै घरहरू फराकिला बाटा नेपालगञ्ज भन्दा धेरै सफा र सुन्दर शहर । ठाउँ–ठाउँमा जानका लागि नगरबस र टेक्सीहरू हुँदा रहेछन् । भाडामा चल्ने गाडीलाई मात्रै टेक्सी भनिने कुरा अलि पछाडि थाह भयो । नगर बसमा चढे बापत नजिकमा चाराना टाढाको लागि आठाना पैसा बुझाउनु पथ्र्यो । भाडा उठाउन हातमा छ्याइँछ्याइँ पैसा बजाउँदै आउथे कन्डक्टर । आफ्नो बसाई कोटेश्वरमा भएकोले, बिहान घाम ताप्न बाटातिर निस्कदा समूह–समूहमा बच्चाहरू बाटोभरी खेलिरहेका भेटिन्थे । फाट्टफुट्ट चल्ने गाडी मोटरले बाटोमा धूलो उडाउँदै जान्थे । गाडीको जाम् भन्ने कुरा त्यतिबेला कसलाई के थाहा ! कुइरोले ढाके झैं धूलो उड्दा बालमस्तिष्कमा गढेको सुब्बाकुनाको सम्झना आउँथ्यो ।
मोटर बाटोको लागि सुब्बाकुनातिर बम बिस्फोट हुँदा दुनुनुनु आवाज आउँथ्यो र धूलाको बादल आकाशमा माथिसम्म पो उड्थ्यो । गाई चराउन जाँदा पिपिरा र पदमपुरतिरबाट दृश्य आँखामा छर्लङ्ग देखिए पनि त्यो सुब्बाकुना कति टाढा छ हामीलाई के थाहा ! प्रायः एअरपोर्ट पश्चिमतिर हामीले गाइ चराउँथ्यो । त्यो खेतबारीमा कसैको पनि घर थिएन । बस्तुलाई चरनमा छोडेर हामी खेल्नमा मस्त हुन्थ्यौं । अहिले जहाँ स्याकको अफिस छ, त्यहाँ गाइवस्तु खेडेर अलिकति माथि डण्डिवियो खेल्दै थियौं, तल एअरपोर्ट नजिक तीनकुने सडकमा एउटा घर पूर्वतिर दौडिरहेको घोर आश्चर्यजनक दृश्य देखेँ ।
हिजो–अस्ति र पहिला पनि देखेका साथीहरूले भने, ‘त्यो त टडक हो नि टडक सामान बोक्छ त्यसले ।’ राजाको स्वारीमा (सवारी ) जहाजले पेटमा बोकि ल्याउँथे राजारानी चढ्ने जीप मोटर, हामीले नजिकबाट हेर्ने छुने र मुसार्ने पनि गथ्र्यौं । सबै मोटर गाडी त्यस्तै हुनुपर्छ भन्ने मेरो अडकललाई त्यो ट्रकले गलत सावित गरिदियो ।
रत्नपार्क रमाइलो थियो । ममचाको खाजा खुब चल्दोरहेछ । सुर्खेतमा त के नेपालगञ्जमा पनि कतै थिएन मःमको प्रचलन । एक प्लेट मागेर चम्चाले मुखमा हुलिदियो एउटा डल्लो । यति तातो थियो कि खुर्लुक्क निल्न पनि सकिएन ह्वात्तै फाल्न पनि भएन । अज्ञानताले चपाउनु नै मेरो भुल थियो, त्यो भुलले पनि सिकायो गतिलो सबक । मःम पकाउने भाँडा पनि छुट्टै गजबका हुँदा रहेछन् । मट्टीतेलले बल्ने स्टोभ त्यति ठूलो पनि हुँदोरहेछ । स्टोभमा बराबर पम्पले हावा खाँदिरहन पर्दोरहेछ । बर्नरको प्वालमा पिनले घोचेपछी घुरुरुरु आवाजमा आगो खुसी भएर बल्दोरहेछ । प्लास्टिकका राता हरिया सेता जगमा पानी भरेर टेबल टेबलमा राखिएको हुन्थ्यो । ग्राहकले जगबाटै ठाडोघाँटी लगाउँथे ।
‘अब काठमाडौंमा पानी किन्नुपर्ने हुन्छ हेर्नुस्…।’ आफुसँग बातचित गरिरहेको बूढो ग्राहकसँग साहुजीले भन्यो । साहुजी भन्दा माथिबाट ग्राहकले यसो भन्यो, ‘तपाईं पानी किन्ने कुरा गर्नुहुन्छ ? हेर्नुहोला काठमाडौंमा दिसापिसाब गरेको पनि पैसा तिर्नुपर्ने दिन आउँछन् ।’ त्यो सुनेर त मलाई भित्रबाट हाँसो लाग्यो । कोही व्यक्ति सौच गर्दै गरेको कसले हेरिबस्ने होला र उसले काम सकेपछि हात पसार्दै पैसा माग्नेहोला । आजभोलि सार्वजनिक सौचालय बाहिर बसेर पैसा थाप्ने चलन देख्दा त्यो घटना याद आउँछ ।
अलि पछाडि मिनरलवाटरका बोतल देखिन थाले काठमाडौंमा । प्राय पानीकै कारणले स्वास्थ्य समस्या हुने हुँदा विदेशी पर्यटकलाई लक्षित गरि उत्पादन गरिएको पो होला मिनरल वाटर भन्ने भ्रममा थिएँ । घरको पानी बोतलमा भरेर मिनरलकै झल्को दिन हातमा समाइ हिन्थे भविष्य खोज्न राजधानी गएका हाम्रा केही मित्रजनहरू, जसरी मोटरसाइकल नभए पनि हेलमेट हातमा समाउने लालसा थियो कुनै बेलाका टिनएजरलाई । २०६०र०६१ सालमा होला राजधानीमा नाटकीय कर्म सकेर सुर्खेत फर्कनका लागि हामी गोंगबु बसपार्कमा थियौं ।
‘दाइ पानी खानुप¥यो, छुट्टा छ भने पाँच रूपैयाँ दिनुस् त ।’ सुर्खेतका प्रसिद्ध बाँसुरीवादक तथा चर्चित रंगकर्मी भाइ ज्ञानबहादुर नेपालीले भने । धूम्रपान भन्न नसकेर पानी भनेका हुनन् भन्ने मेरो अन्दाज थियो, किनकि हामी बीच ठट्टैठट्टामा पनि चल्थ्यो मेलोमेसो । मसँग मागेको पैसाले त उनले साँच्चै मिनरल वाटरकै बोतल पो लिएर आए, खोलेर मलाई दिए । जीवनमा पानी पनि किनेर खाइयो काठमाडौंमा । त्यतिखेर मःम साहुजीले भनेका कुरा सत्य सावित भए । आजभोलि कुनै कुनै होटलमा खाना खाँदा पनि लोटा र गिलास होइन टेबलमा मिनरलको बोतल उभिएर स्वागत गर्छ । त्यो स्वागतको मूल्य पनि ग्राहकले चुकाउनै पर्छ ।
हिजो आफैले भोगेर व्यहोराका घटनाहरू आज मिथक जस्तै लाग्छन् । समयले धेरै टाढा पु¥यायो, पछाडि फर्केर हेर्दा मन गरुङ्गो हुँदै आउँछ । पढेर–लेखेर त खै कति सिकियो सिकिएन तर जिन्दगीले भने सुख–दुःख उनेर केही सिकायो । समयसँग जीवन मात्र होइन भूगोल पनि बदलिँदो रहेछ । बाल्यकालमा कस्तो थियो भनी आफ्नै गाउँ–ठाउँ सहज अन्दाज लगाउन आज मुस्किल पर्न थाल्यो । जस्तो भए पनि समयले दिएका मिठा अनुभूतिहरू सम्झनाबाट झिकेर सबैमा साझा गर्दा छुट्टै आनन्द लाग्दोरहेछ ।
-उमालाल आचार्य
प्रकाशित मितिः २६ जेष्ठ २०८१, शनिबार ०९:३०
उमालाल आचार्य ।