प्रि–बजेटमाथि छलफल जारी

सुर्खेत: कर्णाली प्रदेशसभामा प्रि–बजेटमाथिको छलफल सुरु भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि ल्याएको विनियोजन विधेयकको नीति, सिद्धान्त, उद्देश्य र प्राथमिकतामाथि सोमवारदेखि छलफल थालिएको हो ।

छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रसका प्रदेशसभा सदस्य घनश्याम भण्डारीले बजेट कार्यकर्तामुखी र सत्तामुखी भन्दा पनि जनतामुखी बनाउन सुझाव दिए । उनले कर्णालीको गरिबीसँग जोडेर कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।

नेकपा(माओवादी केन्द्र) का मंगलबहादुर शाहीले दीगो विकास लक्ष्य र पञ्चवर्षीय योजनामा टेकेर बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् । ४० प्रतिशत बहुआयामिक गरिबीलाई सम्बोधन गर्नेगरी नीति कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने उनको भनाइ छ । तीन तहको सरकारको समन्वयनमा भौतिक पूर्वाधार निर्माणका काम अघि बढाउनुपर्ने शाहीले जनाए ।

यस्तै अर्का सदस्य कलबहादुर हमालले जनताका आधारभूत आवश्यक परिपूर्ति हुनेगरी बजेट निर्माणमा जोडदिए । शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारलाई क्रमशः कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । यसैगरी देवेन्द्रबहादुर शाहीले प्रि–बजेटमा सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको बताए । उनले भौगोलिक बनावटका आधारमा बजेट विनियोजन गरिनु पर्ने जनाए । ठोस नीति बनाएर बजेट निर्माण गर्नुपर्ने उनको तर्क छ । पार्टीगत रूपमा विभाजित नभइ कर्णाली विकासका लागि सबै एक हुनुपर्नेमा शाहीले जोड दिए ।

सभालाई सम्बोधन गर्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले १५ लाख मुनिका योजना कुनैपनि हालतमा कार्यान्वयन नहुने बताए । आइतवारको प्रदेशभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरूद्ध गरेको थियो । कांग्रेसले उठाएका सवालको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

प्रकाशित मितिः   १५ जेष्ठ २०८१, मंगलवार १२:२६