बौद्ध ग्रामीणको बहुउद्देश्य

वित्तीय कारोबारसँगै उद्यमशीलता प्रवद्र्धन

 

 

बचत तथा ऋण कारोबार गर्दै दुई दशकअघि स्थापना भएको बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको २४औँ वर्ष पूरा गरेको छ । दुई दशकभन्दा लामो यो यात्रामा सहकारीले बहुउद्देश्यीय गतिविधिसहित कर्णाली प्रदेशकै एक अब्बल सहकारी संस्थाकोरूपमा आफूलाई स्थापित गरिसकेको छ ।

‘थोरै भएपनि बचत गरौँ’ संस्थाले स्थापनाताका आफ्नो उद्देश्य यसरी निर्धारण गरेको थियो । तर आजको दिनमा बौद्ध ग्रामीण बचत र ऋण प्रवाहमा मात्रै सीमित छैन, आफ्ना सेयर सदसस्यहरूको आर्थिक अवस्थामा सुधार ल्याउन उद्यमशीलता प्रवद्र्धनमा समेत केन्द्रित छ ।

उद्यम गर्न चाहने सदस्यहरूलाई प्रवद्र्धन गर्नुका साथसाथै आफैले औद्योगिक क्षेत्रमा लगानीसमेत बढाएको छ । डेरी उद्योगदेखि प्रशोधित खानेपानी उद्योगसम्म, कृषि फर्मदेखि सहकारी विद्यालयसम्ममा लगानी गरेर सहकारीको बहुउद्देश्यीय अवधारणालाई पनि आत्मसाथ गरेको छ ।

यसरी भयो स्थापना

त्यतिबेला सुर्खेतमा सहकारी संस्थाहरू धेरै थिएनन् । वीरेन्द्रनगरको लाटीकोइली भेगमा बसोबास गरिरहेका १६ जनाको अग्रसरतामा वि.सं. २०५६ मंसिर ४ गते एक समूह गठन गरिएको थियो । त्यही समूहलाई एक वर्षपछि अर्थात् २०५७ जेठ १२ गते सहकारी ऐन–२०४८ अनुसार दर्ता गरेर ‘बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ सञ्चालनमा ल्याइएको हो ।

२५ जना सेयर सदस्यहरूबाट सुरु भएको सहकारीमा अहिले ६० हजारभन्दा बढी सेयर सदस्य छन् । कर्णाली प्रदेशको चार जिल्लामा कार्यक्षेत्र विस्तार गरिएको छ । सुर्खेत, दैलेख, जाजरकोट र जुम्ला जिल्लाका सेयर सदस्यहरूलाई उनीहरूको आगनमै पुगेर कर्जा, बचत, बिमा तथा रेमिटान्स र वित्तीय साक्षरतासम्बन्धी सेवा दिइरहेको छ । जसका माध्यमबाट सदस्यहरूको आर्थिक तथा सामाजिक स्तरमाथि उठाउन सफल भएको दाबी सहकारीको छ । त्यति मात्रै होइन, महिलाहरूलाई आर्थिकरूपमा सबल र आत्मनिर्भर बनाउन समेत योगदान दिएको छ । संस्थामा कूल सदस्य संख्याको ८१ प्रतिशत महिला सदस्य छन् । यसले वित्तीय गतविधिमा महिलाहरूको सहभागिता र पहुँच वृद्धि भएको छ ।

 

गतिविधि

सहकारीको पहिलो उद्देश्यीय वित्तीय कारोबार हो । जसअन्तर्गत निक्षेप संकल र कर्जा लगानीमा सहकारी सक्रिय छ । २०८१ वैशाख मसान्तसम्मको विवरणअनुसार संस्थाको शेयर पुँजी २६ करोड सात लाख ९३ हजार पुगेको छ । एक अर्ब ३० करोड ४३ लाख ३६ हजार बढी कूल बचत गर्न सफल सहकारीले एक अर्ब ५८ करोड १४ लाखभन्दा बढी ऋण लगानी गरेको छ । दुई अर्ब २२ करोड ४२ लाख ५९ हजार बराबरको कूल सम्पत्ति संस्थासँग छ ।

त्यसबाहेक संस्थाले डेरी उद्योग सञ्चालनमा ल्याएको छ । सहकारीमा आवद्ध सेयर सदस्यहरूले सञ्चालन गरेका गाई तथा भैंसीपालन व्यवसायमार्फत् उत्पादित दुधलाई बजारीकरण गर्न बौद्ध ग्रामीण डेरी उद्योग सञ्चालनमा ल्याइएको हो ।

डेरीले किसानहरूबाट दुध संकलन गर्ने, उक्त दुधलाई प्रशोधन गर्ने र दुधसहित दुग्धजन्य वस्तु बनाएर बजारीकरण समेत गर्दछ । दुध, दही, घीऊ, क्रिम, पनिर, बटरलगायतका दुग्धजन्य सामग्री बनाएर बिक्री गर्ने गरिएको छ ।

संस्थाले डेरीसँगै पानी उद्योगमा समेत लगानी गरेको छ भने एम्बुलेन्स सेवासमेत दिइरहेको छ । सुर्खेतको भेरीगंगा नगरपालिकास्थित जहरे बजारबाट पूर्वी सुर्खेतका सेयर सदस्य एवम् अन्य नागरिकका लागि एम्बुलेन्स सेवा दिइएको जनाइएको छ ।

यस्तै कृषि उद्योगबाट पनि संस्थाले आफ्नो बहुउद्देश्यीय गतिविधिलाई अघि बढाएको छ । जसबाट कृषिसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने, सदस्यहरूलाई तालिम दिएर आधुनिक र व्यवस्थित कृषि पेशामा अघि बढाउने गरिएको छ । त्यसका लागि बिजी एग्रीकल्चर एण्ड रिसर्च सेन्टर स्थापना गरिएको हो ।

सहकारीले शिक्षामा पनि लगानी गरेको छ । बिजी एकेडेमी एण्ड रिसर्च सेन्टर नाममा विद्यालय स्थापना गरिएको छ । सुर्खेतमा सञ्चालित विद्यालयमा सर्वसुलभ शुल्कमा विद्यार्थी पढाउने गरिएको छ ।

 

 

 


वीरेन्द्रनगर–१० मनिकापुरका ४६ वर्षिय वीरबहादुर खत्रीले गाई तथा भैंसी पालन गर्न थालेको झण्डै दश वर्ष भयो । सामान्यतया यिनै वस्तुभाउलाई स्याहार्दै उनको दिनचर्या बित्ने गरेको छ । उनको यो व्यवसायलाई सहकारीले सघाएको छ । खत्री बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाअन्तर्गत सहकारी कार्यालयमा आवद्ध भएको झण्डै ११ वर्ष भयो । चारवटा जर्सी र होलस्टेण्ड गाई तथा दुई वटा भैंसी पालेका उनले दिनमा ३५ लिटर दुध उत्पादन गर्छन् । उत्पादन भएको दुध संस्थाबाट सञ्चालित बौद्ध ग्रामीण डेरी उद्योगमा निर्यात गर्ने गरेको खत्रीले जनाए ।

सुरुवाती दिनमा गाईबस्तुको लागि घरबाट नजिकै रहेको जंगलबाट घाँसको व्यवस्थापन गर्थे । दुध उत्पादन सन्तोषजनक हुन थालेपछि घाँस काट्ने मेसिन खरिद गरेर घर नजिकै स्माल नेपियर घाँस अनि टौवा बनाएर परालको व्यवस्थापन पनि गरेका छन् ।

आफूले लिएको ऋणको किस्ता नियमित तिर्ने अनि संस्थासँग निरन्तर समन्वय गरेर आफ्नो व्यवसाय अगाडि बढाउने गरेकाले उनलाई संस्थाले आफ्नो २०औँ वार्षिक साधारणसभामा असल लघुउद्यमीहरू मध्य उत्कृष्ट लघुउद्यमीको रुपमा सम्मान पनि गरेको थियो । संस्थामा आवद्ध भएपछि बचत भनेको के हो ? पैसाको महŒव, ऋणको उपयोगिता लगायतका विषयमा आफूलाई धेरै ज्ञान प्राप्त भएको खत्रीको भनाइ छ ।


 

वरीपरी पहाड अनि तिनै पहाडको बिचमा रहेको सुन्दर नेटा बजारबाट झण्डै एम किलोमिटर अगाडि लेकवेशी नगरपालीका–५, दहमा छ, झुपमाया खत्रीको घर ।
उनी विगत १३ वर्षदेखि बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध छिन् । सहकारीसँगको सहकार्य उनको लागि सुखद् बनेको छ । खत्रीले सहकारीमार्फत् ऋण लिएर व्यवसायिकरूपमा टिमुर खेती गरेकी छिन् ।

सुरुमा जंगलबाट टिमुर ल्याएर बेचेपछि राम्रै फाइदा भयो । अनि उनलाई खेती गरेर नै व्यवसाय गरी आर्थिकस्तर उकास्न मन लाग्यो । व्यवसाय गर्न पैसा चाहिँने भएपछि झुपमाया बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको ढोकासम्म पगिन् । उद्यमशीलता प्रवद्र्धनमा जोड दिने सहकारीले झुममायालाई ऋण नदिने कुरै थिएन । संस्थाको सहयोगमा उनले आफ्नो व्यवसायलाई बढाइन् ।

सिजनको बेलामा उनले झण्डै चार क्विन्टल सम्म टिमुर बेच्ने गरेको जानकारी दिइन् । टिमुर बेचेको पैसा अलिकति घर खर्चको लागि राख्छिन् भने बचेको पैसा वचत पनि गर्छिन् । टिमुर बेचेर नै वर्षमा कमाएको झण्डै एक लाख ६० हजार रूपैयाँमा घर खर्च अनि छोराछोरीको पढाई खर्च छुट्याएर चोखो ५० हजार रूपैयाँ सञ्चय गरेको उनले बताइन् ।

उनले टिमुर खेती सँगसँगै बाख्रा पनि पालेकी छिन् । सिजनको बेला त उनीले टिमुर बेचेरै आफ्नो जीवीकोपार्जन गर्छिन् भने बेसिजनमा आफूले पालेका खसी बाख्रा बेचेर जीवीकोपार्जन गर्ने गर्दछिन् ।

बौद्ध ग्रामीण बहुउद्देश्यी सहकारी संस्थाले समयसमयमा बैठक राख्ने गरेको गाह्रो परेको बेलामा ऋण दिने गरेकोमा समेत खुसी व्यक्त गर्दै टिमुर खेतीको लागि उचित तालिम लिन पाए आफ्नो व्यवसायमा केही टेवा पुग्ने खत्रीको धारणा छ ।

प्रकाशित मितिः   १२ जेष्ठ २०८१, शनिबार ०५:०४