भैँसीपालनबाट मनग्य आम्दानी

सुर्खेत: व्यावसायिक रूपमा पशुपालन गर्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाका किसानले दुध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । किसानले दुधबाटै वार्षिक पाँच लाखसम्म आम्दानी गर्न थालेका हुन् । वीरेन्द्रनगर क्षेत्रमा उत्पादित दुध स्थानीय बजारमा नै खपत हुने गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका–३ का कमल न्यौपानेको बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ । छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल युवा उद्यमीका रूपमा आफूलाई चिनाउन सफल भएका न्यौपाने सधैँ भैँसी स्याहारदेखि दूध बिक्रीवितरणको काममा व्यस्त देखिन्छन् । दुई वर्षदेखि भैँसीपालन गर्दै आएका उनको परिवारमा अहिले दुई जना सदस्य पनि यहीँ पेशामा संलग्न भएका छन् । साथै उनले आफ्नो फार्ममा स्थानीय दुई जनालाई रोजगारीसमेत दिएका छन् ।
न्यौपाने पशुपालन पेसाबाट सन्तुष्ट छन् । ‘वार्षिक ६ लाख बचत गर्ने गरेको छु, आम्दानी राम्रो भएपछि दैनिकी सहज भएको छ’, उनले भने । बिहानको मिर्मिरे उज्यालोसँगै उनको व्यस्तता सुरु हुन्छ । परम्परागत खेतीपाती गर्दै आएका न्यौपानेले २०७८ मा ‘रत्न सत्य एग्रो टुरिजम प्रालि’ दर्ता गरी व्यावसायिक रूपमा भैँसीपालनको सुरुआत गरेका थिए । ‘सुरुमा एक लाखमा एउटा उन्नत जातको भैँसी खरिद गरी भैँसीपालन गरेका हौँ, अहिले फार्ममा सानाठूला गरी १२ वटा भैँसी छन् ।’ तीमध्ये सात वटा दुहुना भैँसी छन् । उनका अनुसार दैनिक ६० देखि ७० लिटरसम्म दूध वीरेन्द्रनगर बजारमा बिक्रीवितरण हुन्छ । वीरेन्द्रनगरमा दूधको फुटकर मूल्य ८० रूपैयाँ प्रतिलिटर छ । अहिले आम्दानी राम्रै भइरहेको न्यौपानेको भनाइ छ ।
न्यौपानेले फार्ममा अहिलेसम्म करिब ३० लाख लगानी गरिसकेका छन् । यस्तै दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक लाखौ आम्दानी हुने गरेको छ । उनले आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर गत वर्ष ६ लाख ५७ हजार बचत गरेका थिए । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको छ । ‘सरकारी निकायबाट प्राविधिक सहयोग पाएको छु तर आर्थिक सहयोग भने कुनै निकायबाट पनि पाएको छैन’, न्यौपानेले भने ।
कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले उनको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरिदका लागि मानिसहरू आउने गरेका छन् । पैसा कमाउन र जीविकोपार्जन गर्न जागिर खानै पर्छ वा विदेश जानैपर्छ भन्ने छैन, आफूले पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय राम्रो क्षेत्रका रूपमा सावित हुने उनको बुझाइ छ । उत्पादित कृषि सामग्रीलाई उचित बजारको व्यवस्था गर्न सकेमा किसानलाई थप हौसला प्राप्त हुने उनको अनुभव छ ।
गोबर बेचेर अतिरिक्त आम्दानी
न्यौपानेले अचेल आफ्नो फर्मबाट दुधमात्रै बेच्दैनन्, यसैपालि पनि उनले गोबर मल बेचेर दुई लाख रूपैयाँ हात पारिसकेका छन् । गाईभैँसीको गोबर बेचेर वार्षिक दुई लाख बढी कमाउँछन् । गोबरमल बेचेर माघयताका तीन महिनामा एक लाख आम्दानी भएको र थप एक लाख बढीको घाँस साटेको न्यौपानेले बताए । गोबर मल ५० केजीको बोरा एक सय रूपैयाँमा बिक्री गर्छन् । न्यौपानेको गोठबाट वीरेन्द्रनगरका विभिन्न वडाका कृषकहरूले किनेर लैजाने गरेका छन् । ‘खास त गाईभैँसीको दुध उत्पादन गर्ने हो । गाईभैँसीको मलमुत्र बेचेर पनि राम्रो आम्दानी भएको छ । यो कृषकका लागि सप्लिमेन्ट्र कमाई भइरहेको छ,’ कृषक न्यौपानेले भने, ‘गोठेमल तथा घाँससँग साटेको मलको मूल्य गर्दा वार्षिक तीन लाख जति कमाई भयो । मल खोज्न कृषकहरू गोठमै आउँछन् ।’



साझा बिसौनी ।