सिसी क्यामेरा नहुँदा सुरक्षा चुनौती

९२ मध्ये ८४ वटा प्रयोगविहीन, मर्मतका लागि बजेट अभाव

 

सुर्खेत: बुधवार साँझ कारको ठक्करबाट वीरेन्द्रनगरमा एक जना ज्येष्ठ नागरिकको मृत्यु भयो । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोकबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बुधवार बेलुका बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको कारले पैदल यात्री शाहीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते भएका उनको प्रदेश अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको हो । तर ठक्कर दिएको कारको पहिचान हुन सकेको छैन । खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

घटना भएको घण्टौँ बित्दापनि प्रहरीलाई कार र चालकको हुलिया पत्ता लगाउनै सकस भइरहेको छ । उक्त घटना भएको स्थानमा सिसी क्यामरा नहुँदा प्रहरीलाई कारको पहिचान गर्न हम्मेहम्मे परिरहेको छ । यो समाचार तयार पार्दासम्म प्रहरीले फरार चालकलाई पक्राउ गर्न सकेको छैन । सार्वजनिक ठाउँमा राखिएका सिसी क्यामेरा बन्द थिए । व्यक्तिले घरमा जडान गरेको सिसी क्यामेराको सहायताले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैनिकजसो सडक दुर्घटना हुने गरेका छन् । तर पछिल्लो समयमा सिसी क्यामेरा बिग्रिएसँगै सुरक्षामा पनि चुनौती थपिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रूपेश खड्काले बताए । सिसी क्यामेरा बन्द हुँदा अपराध र विभिन्न घटनाहरूको अनुसन्धानमा असहज भइरहेको उनको भनाइ छ । ‘प्रहरीलाई कुनै घटना, दुर्घटना भयो भने सिसी क्यामेराबाट पत्ता लगाउन सजिलो हुन्छ’ खड्काले भने, ‘सिसी क्यामेरा बिग्रीएकाले अनुसन्धानमा असहज भइरहेको छ ।’ उनले सिसी क्यामेरा सञ्चालन नहुँदा अपराध गर्ने व्यक्तिहरूको खोजी गर्न समस्या हुनेगरेको बताए ।

लामो समयदेखि लथालिङ्ग सिसी क्यामेराको मर्मतमा वीरेन्द्रनगर नगरपालिकाले खासै चासो दिएको छैन । बजारमा जडान गरिएका क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छ । प्रहरीका अनुसार अहिले आठ वटा क्यामेराको मात्रै कन्ट्रोल रुमबाट निगरानी हुन्छ । अरु क्यामेराको कन्ट्रोल रूमसँग कनेक्सन टुटेको छ । अधिकांश क्यामेरा बिग्रिएर काम नलाग्ने भइसकेको खड्का बताउँछन् । नगरका मुख्य चोकमा राखिएका क्यामेरासमेत बिग्रिएको अवस्थामा रहेको उनले बताए । सुरक्षा दृष्टिकोणले संवेदनशील रहेको वीरेन्द्रनगरका विभिन्न ठाउँमा राखिएका क्यामेरा बिग्रदा चोरी, लुटपाट, दुर्घटना र विभिन्न अपराधको अनुसन्धानमा चुनौती हुने गरेको हो ।

वीरेन्द्रनगर बजारका मुख्य स्थानमा जडान गरिएका ९२ मध्ये ८४ वटा सिसी क्यामेरा प्रयोगविहीन बनेका छन् । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी सहर भएकाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ९२ वटा स्थानमा सिसी क्यामेरा राखिएका थिए । विभिन्न चरणमा गरी मुख्यचोक र बजार क्षेत्रमा जडान गरिएका अधिकांश क्यामेरा भने लामो समयदेखि बिग्रिएका छन् ।

 

मर्मतका लागि बजेट अभाव

बजार क्षेत्रको सुरक्षाका लागि भन्दै जडान गरिएका सिसी क्यामेरा नगरपालिकाले मर्मत गर्ने गरेको छ । तर बजेट अभाव हुँदा पछिल्लो समय मर्मत गर्न नसकिएको नगरप्रमुख मोहनमाया ढकालले जनाइन् । प्रदेश सरकारले राजधानीको सुरक्षाका लागि बजेट विनियोजन नगर्ने र नगरपालिकाको आफ्नो स्रोत नभएकाले सिसी क्यामेरा मर्मत गर्न नसकिएको उनको भनाइ छ । मानिसहरूको बढी चहलपहल हुने र सम्भावित दुर्घटनाका साथै अन्य आपराधिक गतिविधिलाई मध्य नजर गर्दै क्यामेरा जडान भएका हुन् । गत वर्ष वीरेन्द्रनगरले क्यामेराको मर्मत गरेको थियो । दश लाख बजेटमा क्यामेरा मर्मत गरिएको हो । यो वर्ष पनि नगरपालिकाले सात लाख बजेट विनियोजन गरेको छ । यद्यपि, यो रकम पर्याप्त नहुने जनाइएको छ । नगरप्रमुख ढकाल भन्छिन्, ‘प्रदेश सरकारले सिसी क्यामेरा मर्मत गर्नमा चासो देखाउँदैन । दिनप्रतिदिन सुरक्षा चुनौती बढिरहेको छ । पालिका एक्लैले केही गर्न सक्दैन ।’ प्रदेश सरकारले असहयोग गरेकै कारण राजधानीको सुरक्षा निगरानीमा समस्या चुलिएको उनको भनाइ छ ।

 

भयावह सडक दुर्घटना

कर्णाली प्रदेशमा मुख्यतया मानवीय त्रुटिका कारण हुने सडक दुर्घटनाको अवस्था भयावह छ । हरेक दिनजसो सडक दुर्घटनामा परी यात्रुहरूको ज्यान जाने गरेको हो । कर्णाली प्रदेशमा चालु आर्थिक वर्ष २०८०÷०८१ मा भएका नौ सय नौ दुर्घटनामा ९४ जनाको ज्यान गएको छ । चार सय २५ जना गम्भिर घाइते भएका छन् ।

जीर्ण सडक, चालकको लापरबाही र यात्रुले सावधानी नअपनाउनु दुर्घटनाको प्रमुख कारक भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बीरबहादुर ओलीले बताए । अनुमति नदिइएका सडकमा सवारी चलाउनु, मर्मतमा सम्बन्धित निकायले चासो नदिनु तथा ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम कम हुन नसकेको उनको भनाइ छ । सडकमा पैदल यात्रु र सडक यात्रुलाई छुट्टाछुट्टै सडक छैनन् । बढ्दो सडक अतिक्रमण जस्ता कारणले पनि दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   ११ जेष्ठ २०८१, शुक्रबार ११:३५