आम्दानीमा कमजोर कर्णाली
सुर्खेत: अन्य प्रदेशको तुलनामा कर्णालीको आम्दानी कमजोर देखिएको छ । कमजोर आम्दानीकै कारण मुलुकको कूल गार्हस्थ उत्पादन (जीडिपी) मा कर्णालीको योगदान सबैभन्दा कम छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको अनुमान सार्वजनिक गरेको छ । कार्यालयका निर्देशक विनोदशरण आचार्यकाअनुसार कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ४४ अर्ब हुने अनुमान गरिएको छ । जुन अन्य ६ वटा प्रदेशको तुलनामा सबैभन्दा कम हो । नेपालका सात प्रदेशका कूल गार्हस्थ्य उत्पादनको आकारमा कर्णाली प्रदेशको स्थान सातौं रहेको छ ।
प्रारम्भिक अनुमान अनुसार चालु आर्थिक वर्षमा दुई खर्ब ४४ अर्ब हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा करिब दुई खर्ब २९ अर्ब रहने संशोधित अनुमान गरिएको थियो । चालु आर्थिक वर्षमा कर्णाली प्रदेशले राष्ट्रिय तहको कूल गार्हस्थ्य उत्पादनमा चार दशमलव २८ प्रतिशत पु¥याउने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्षमा पनि चार दशमलव २८ प्रतिशत नै योगदान पु¥याउने संशोधित अनुमान रहेको छ ।
यसैगरी प्रदेशको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आर्थिक वर्षमा तीन दशमलव ३९ प्रतिशत हुने अनुमान गरिएको छ । गत वर्षमा एक दशमलव ९६ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो ।
कृषि र वन क्षेत्रको उत्पादन बढ्ने
सार्वजनिक गरिएको अनुमानित सर्वेक्षणमा प्रदेशको कूल गार्हस्थ्य उत्पादनमा कृषि र वन क्षेत्रको उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । उत्पादन वृद्धिदर २९ दशमलव ५१ प्रतिशत हुने जनाइएको छ । सबैभन्दा न्यून ० दशमलव १६ प्रतिशत योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्र रहने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षमा पनि कृषि क्षेत्रको योगदान अग्रस्थानमा २९ दशमलव ३२ प्रतिशत हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान ० दशमलव १६ मा रहने संशोधित अनुमान गरिएको थियो ।
क्षेत्रगत विवरण
प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आर्थिक वर्ष २०८०/८१ का लागि कूल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै २२ दशमलव ५२ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको हुने अनुमान गरिएको छ । सबैभन्दा कम एक दशमलव दुई प्रतिशत निर्माण क्षेत्रको हुने अनुमान गरिएको छ ।
त्यसैगरी गत आर्थिक वर्ष २०७९/८० का लागि कूल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै २१ दशमलव ८७ प्रतिशत विद्युत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ । सबैभन्दा न्यून दुई दशमलव ३१ प्रतिशत थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको थियो ।
प्रदेश सरकारले पूर्वाधार क्षेत्रमा लगानी बढाइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विष्णुप्रसाद पौडेलले बताए । खानी तथा उत्खनन् क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ । लगानीमैत्री वातावरण सिर्जना गरेर जलविद्युत आयोजना सञ्चालन, कोहोलपुर–सुर्खेत सडक खण्ड निर्माणलाई प्राथमिकतामा राखिएको छ । पेट्रोलियम पदार्थ अन्वेषणको काम अघि बढेको छ । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको छ । पूर्वाधार विकासतर्फ भेरी करिडोर र कर्णाली करिडोरलाई समावेश गरिएको छ ।
प्रतिव्यक्ति आम्दानी बढ्ने
चालु आर्थिक वर्षमा कर्णाली प्रदेशमा प्रतिव्यक्ति आम्दानी एक हजार ६६ अमेरिकी डलर पुग्ने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । गत आर्थिक वर्षमा एक हजार ३१ अमेरिकी डलर रहेको थियो ।
चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आम्दानी सबैभन्दा धेरै बागमती प्रदेशको दुई हजार चार सय ८५ डलर, गण्डकी प्रदेशको एक हजार पाँच सय ५७ डलर, कोशी प्रदेशको एक हजार तीन ३६ डलर, लुम्बिनी प्रदेशको एक हजार एक सय ५९ डलर र सुदुरपश्चिम प्रदेशको एक हजार एक सय ११ डलर पुग्ने अनुमान छ । अन्य प्रदेशहरूको तुलनामा मधेश प्रदेशको प्रतिव्यक्ति आम्दानी सबैभन्दा कम आठ सय ९२ अमेरिकी डलर रहने अनुमान छ । गत आर्थिक वर्षमा पनि प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको रहेको थियो ।
प्रकाशित मितिः १० जेष्ठ २०८१, बिहीबार ०५:०५
साझा बिसौनी ।