बजेट कार्यान्वयन सुस्त

एक अर्ब बढी रकमान्तर

सुर्खेत: आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेश सरकारले बजेट रकमान्तरको गति बढाएको छ । बजेट कार्यान्वयनमा सुस्त देखिएको सरकारले एउटा शीर्षकमा विनियोजन गरिएको बजेट रकमान्तर गरेर अन्य शीर्षकमा खर्च गरेको हो ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को अन्तिम चौमासिक चल्दै गर्दा एक अर्ब बढी रकमान्तर गरिसकेको पाइएको छ । जेठको पहिलो सातासम्म एक अर्ब भन्दा बढी बजेट रकमान्तर भएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्राप्त जानकारी अनुसार हालसम्म एक अर्ब ३१ करोड ४५ लाख ४५ हजार तीन सय तीन रूपैयाँ रकमान्तर गरेर अर्को शीर्षकमा खर्च गरिएको छ । कार्यान्वयन हुन नसकेका योजनाबाट रकमान्तर गरी अन्य शीर्षकमा बजेट कार्यान्वयन गरिएको हो । मन्त्रालय आफैले कार्यान्वयन गर्ने योजनादेखि मातहतका निकायहरूमार्फत् कार्यान्वयन गरिने बजेट रकमान्तर गरिएको छ ।

प्रदेशका आठ मन्त्रालयमध्ये सबैभन्दा बढी सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयकोे बजेट रकमान्तर गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले ५२ करोड ८४ लाख ३७ हजार रकमान्तर गरेको छ । यसैगरी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले ३० करोड ६३ लाख २० हजार रकमान्तर गरेर खर्च गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आठ करोड तीन लाख २९ हजार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ६ करोड १४ लाख ९२ हजार ६ सय बजेट शीर्षक परिवर्तन गरेर रकमान्तर गरी खर्च गरिएको पाइएको छ ।

यसैगरी जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चार करोड ९५ लाख, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले २९ लाख ५७ हजार, मुख्य न्याधिवक्ताको कार्यालयले दुई लाख, प्रदेश लोकसेवा आयोगले नौ लाख ६० हजार रकमान्तर गरेर अन्य शीर्षकमा खर्च गरेका छन् ।

आर्थिक वर्षको अन्तिमतिर रकमान्तर गरेर खर्च बढाइरहेको सरकारको वार्षिक बजेट कार्यान्वयनको अवस्था भने सन्तोषजनक छैन । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बराबरको बजेट विनियोजन ग¥यो । कूल विनियोजनमध्ये चालुतर्फ नौ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार छ । खर्च भने निकै न्यून छ ।

विकास बजेट कार्यान्वयनको गति निकै सुस्त देखिएको छ । विगतका वर्षहरूजस्तै चालु आर्थिक वर्षमा पनि सरकारले विकास बजेट कार्यान्वयनको गति बढाउन नसकेको हो । चालु आर्थिक वर्षको जेठ महिनाको पहिलो हप्तासम्म कूल विकास बजेटको जम्मा ३२ दशमलव नौ प्रतिशत मात्रै कार्यान्वयनमा आएको छ ।

चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनमा सुधार आउनुको साटो अझ कमजोर बन्यो । बजेट कार्यान्वयनका हिसाबले हर्ने हो भने गत वर्ष र यो वर्षको पुँजीगत बजेट उस्तैउस्तै हो । गतवर्ष पनि सोही हाराहारीमा बजेट कार्यान्वयन भएको थियो । यो वर्ष पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार वार्षिक बजेट छ । हालसम्म पुँजीगत २४ दशमलव ६७ प्रतिशत र चालुतर्फ ४२ दशमलव ६ प्रतिशत बजेट कार्यान्वयन भएको छ ।

प्रदेश सरकारले १५ लाख मुनिका योजना कार्यान्वयन गरेको छैन । त्यसको सोझो असर पुँजीगत बजेट कार्यान्वयनमा परेको छ । सरकारले टुक्रे योजनालाई कटौती गरेर बजेट कार्यान्वयनमा जोड दियो । १५ लाख मुनिका योजना कार्यान्वयन नहुँदा एक अर्ब १२ करोड पूर्वाधार विशेष कार्यक्रमको बजेट कार्यान्वयन हुन नसकेको हो । विकास बजेट मन्त्रालयमै थन्किएको छ । निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले ल्याएको ‘कर्णाली समृद्धि’ अभियानको बजेटसमेत कार्यान्वयन हुन सकेको छैन । वार्षिक दश हजारलाई रोजगारी दिने उद्देश्य अनुरूप ‘कर्णाली समृद्धि’ अभियान सञ्चालन गरिएको थियो । चालु आर्थिक वर्षमा उक्त कार्यक्रम कार्यान्वयनका लागि एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो । तर उक्त बजेट अर्थ मन्त्रालयमै थन्किएको छ ।

चालु आर्थिक वर्षमा सरकारले नीति तथा कार्यक्रममा ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ दीर्घकालीन सोच अनुरूप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उत्पादनलाई प्राथामिकतामा राखेको भएपनि लोकप्रिय कार्यक्रम नै कार्यान्वयन हुन नसकेको हो । निवर्तमान मुख्यमन्त्री शर्माले १५ महिने कार्यकाल बिताए । महŒवपूर्ण कार्यक्रम नै कार्यान्वयन गर्न सकेनन् ।

यसैबीच आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट कार्यान्वयन जनमुखी र पारदर्शी बनाउन योजना पूर्णरूपमा कार्यान्वयन गर्ने नीति अवलम्बन गरेको बताए । यो वर्ष १५ लाख मुनिका योजना कार्यान्वयन नगरेको भन्दै उनले मन्त्रालयले बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राखेको जानकारी दिए । टुक्रे योजनाले बजेटको दुरूपयोग बढेको तथा ठोस उपलब्धि हासिल नभएको भन्दै सरकारले १५ लाखभन्दा मुनिका योजना कार्यान्वयन नगरेको उनले जनाए । बजेट खर्च कार्यान्वयनमा सुधार ल्याउन टुक्रे योजना कटौती गरिएको उनको भनाइ छ । बजेट खर्च प्रणालीको सुधार गर्न नीति परिवर्तन गरेर अघि बढेको उनले बताए ।

प्रकाशित मितिः   ९ जेष्ठ २०८१, बुधबार १२:१८