आरसी–३२ फेरि शीर्ष स्थानमा

सुर्खेत: सुर्खेतको आरसी–३२ फुटबल एकेडेमीसहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलवार भएको खेलमा झम्सिखेल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेर पुनः शीर्ष स्थानमा पुगेको हो ।

आरसी–३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन मगरले पहिलो गोल गरेर अग्रता दिलाएका थिए । दोस्रो गोल भने खेलको अन्त्यतिर आएको थियो । इन्ज्युरी समयमा आशिष लावतीले उत्कृष्ट गोल गर्दै २–० को जित सुनिश्चित गरे ।

यो जितसँगै आरसी–३२ को आठ खेलबाट १६ अंक भएको छ । बागमती युथ क्लबको पनि १६ अंक भएपनि ‘हेड टु हेड’का आधारमा आरसी शीर्ष स्थानमा उक्लिएको हो । यसअघि पनि शीर्ष स्थानमा पुगेको आरसीलाई अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले चार अंक घटाएको थियो । यद्यपि लिगमा आरसीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित मितिः   २ जेष्ठ २०८१, बुधबार १२:४४