‘हङकङ बजार’ जुम्लारोडमा स्थानान्तरण
सुर्खेत: जुम्लारोडमा ‘हङकङ बजार’ सञ्चालन गरिने भएको छ । यसअघि वीरेन्द्रनगरकै हटियालाइन क्षेत्रमा रहेको बजारलाई जुम्लारोडमा स्थानान्तरण गर्न लागिएको हो ।
वीरेन्द्रनगर–३ जुम्ला रोडस्थित बजाज शोरुमको आडैमा बजार सञ्चालन गर्न लागिएको छ । अहिले बजारका लागि आवश्यक संरचना निर्माण भइरहेको छ । करिब १५ करोड लगानीमा नयाँ व्यवस्थापनसहित सञ्चालन गर्न थालिएको हङ्गकङ बजार व्यवस्थापन समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिए । यसका लागि साढे ६ कट्ठा जमिनमा पूर्वाधार निर्माण सुरु गरिएको उनले जनाए ।
हटिया क्षेत्र खाली गराउन वीरेन्द्रनगर नगरपालिकाले बजार हटाएको थियो । त्यसपछि नयाँ ठाउँमा स्थानान्तरण गर्न लागिएको हो । ‘हामी पहिलेको ठाउँबाट उठ्नुपरेपछि कतिपय व्यवसायी पीडामा छौँ, हङ्गकङ बजारमा सर्वसुलभ दरमा सामान किनिरहेका ग्राहक वर्ग सस्तो सामान किन्नबाट वञ्चित हुनुभएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘निर्माणको काम सुरु भइसकेको छ, असार महिना अघि नै नयाँ ठाउँमा नयाँ व्यवस्थापनसहित बजार सञ्चालनमा आउँछ ।’
उनका अनुसार नयाँ ठाउँमा ५० वटा सटर रहनेछन् । ५० जना व्यवसायीसहित दुई ५० जनाले नयाँ सञ्चालन हुने बजारबाट प्रत्यक्ष रोजगारी पाउने श्रेष्ठको दावी छ । अब नयाँ व्यवस्थापनसहित सञ्चालनमा आउने हङ्गकङ बजारमा फेन्सी पसलका साथै साकाहारी तथा मांसहारी एक÷एक वटा रेष्टुरेण्ट पनि हुनेछन् । बजार क्षेत्रभित्रै पार्किङको पनि व्यवस्था रहने जनाइएको छ ।
प्रकाशित मितिः १ जेष्ठ २०८१, मंगलवार ०५:०१
साझा बिसौनी ।