बड्डीचौर–खम्बागाडे सडक निर्माण सुस्त
सुर्खेत: मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे खण्डको कामले गति लिन सकेको छैन । समयमै निर्माण नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । आधा मात्रै काम भएको सडकले नागरिकलाई थप सास्ती दिएको हो ।
हालसम्म उक्त सडक खण्डको २० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । वित्तीय प्रगति १४ प्रतिशत हासिल भएको छ । साढे १२ किलोमिटरमा सडक खण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो । २०७९ देखि काम सुरु भएको थियो । २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ । हालसम्म कामको प्रगति निकै न्यून छ । सम्झौता अवधि सकिन करिब डेढ महिना बाँकी रहँदा ८० प्रतिशत काम गर्न बाँकी नै छ । अहिले सम्म पाँच करोड ९२ लाख बजेट मात्र खर्च भएको छ ।
हाल उक्त खण्डमा स्टक्चर निर्माण, नाला निर्माण, ग्याबिन, कल्भर्टलगायतका काम भइरहेको पूर्वाधार विकास निर्देशनालयका प्रमुख रामशरण आचार्यले बताए । उनका अनुसार लक्ष्य अनुसार काम अघि बढ्न सकेको छैन । यो सडक खण्डमा सात किलोमिटर जंगल क्षेत्र परेको छ । रूख कटानको अनुमति नआएकाले उक्त क्षेत्रमा काम गर्न नसकिएको जनाइएको छ । सडकको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) स्वीकृतका प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
यसैबीच कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बड्डीचौर–खम्बागाडे सडक विस्तार कार्यलाई रफतारमा अगाडि बढाउन ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । बिहीवार भौतीक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा भएको सर्वपक्षीय बैठकमा उनले ठेकेदारले प्रत्येक महिना लक्ष्यअनुसार काम गर्नुपर्ने बताए । समयमै सडक निर्माण नहुँदा पश्चिमका नागरिकले सास्ती पाइरहेको भन्दै बड्डीचौर–खम्बागाडे सडक तत्काल मर्मतसम्भार गरी सहज रूपमा गाडी आउजाउ हुने वातावरण मिलाउनुपर्नेमा जोड दिए । ‘यो काम अधिकतम एक महिनाभित्र भइसक्नुपर्छ,’ मुख्यमन्त्री कँडेलले ठेकेदारलाई भने, ‘वर्षायाममा नागरिकलाई सहज रूपमा हिड्डूल गर्न सक्ने गरी सडक निर्माण गर्नुप¥यो । स्थानीयले धेरै दुःख पाइसके । अब हामीले कुनै हालतमा छुट दिन सक्दैनौँ ।’
कामको गति निकै सुस्त गतिमा रहेको भन्दै मुख्यमन्त्री कँडेलले विभिन्न कारण देखाउँदै काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने बताए । सडक निर्माण गरिरहँदा मर्मतसम्भार गर्ने र सडकमा सहज आवागमन व्यवस्था मिलाउने सर्त ठेक्कामा रहेकाले अहिले ठेकेदारले गरिरहेको व्यवहार सम्झौता विपरीत रहेको भन्दै सम्झौताका सर्त पालना गर्न निर्देशन समेत दिएका छन् । बाटोमा जथाभावी निर्माण सामग्री राख्ने, काममा ढिलासुस्ती गर्ने, निर्माण कार्यसमेत गतिमा हुननसकिरहेको उनले बताए । ठेकेदारलाई रकम निकासमा समस्या नरहेको, निर्माण सामग्रीको अभाव नरहेको अवस्थामा सडक निर्माणको काममा किन प्रगति भएन भन्ने कुरालाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको उनको भनाइ छ ।
त्यसैगरी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले जनगुनासो बढेपछि सर्वपक्षीय बैठक बोलाइएको बताए । काम गर्ने वातावरण हुँदाहुँदै विभिन्न बहानामा काममा ढिलासुस्ती भइरहेको पाइएको उनको भनाइ छ । सबै क्षेत्रसँग समन्वय गरेर काम अघि बढाउन मन्त्री बुढाले ठेकेदारलाई निर्देशनसमेत दिएका छन् । उनले भने, ‘ प्राविधिकका अनुसार काम गर्न सक्ने अन्य स्थान छन् । तर निर्माण कम्पनीले वनको कारण देखाउँदै काममा ढिलासुस्ती गरिरहेको छ ।’
स्थानीय सरकारको अवरोध र रूख कटानको अनुमति नहुँदा काम गर्न नसकिएको अनक जयदेवी जेभी बाँकेका ठेकेदार सन्देश शाहीले बताए । पञ्चपुरी नगरपालिकाले काममा सहयोग गर्नुको साटो अवरोध गरिरहेको उनको भनाइ छ । शाहीले भने, ‘पाइला–पाइलामा अवरोध नै अवरोध छ । स्थानीय नागरिकदेखि स्थानीय सरकारले काम गर्ने वातावरण नै दिएका छैनन् । रूख कटानको अनुमति नहुँदा पनि काम गर्न सकिएको छैन ।’
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले कुनै एउटा निकायले मात्रै चाहेर सडक राम्रो बन्न नसक्ने भन्दै मिलेर अघि बढ्ने गरी सुझाव दिए । पश्चिमका नागरिकलाई सडककै कारण आउजाउ गर्न समस्या भइरहेको उनले बताए । ‘बाटोकै कारण गाडी जान मान्दैनन्,’ अध्यक्ष विकले भने, ‘गत वर्ष मैले बालुवा बोक्ने टिप्परमा मान्छे बोक्नुप¥यो, अहिले पनि वर्षायाम सुरु हुँदैछ, बाटोको अवस्था उही छ ।’
बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुनमगरले सडक निर्माणमा पालिकाले सहजीकरण गरिरहेको बताइन् । निर्माण कम्पनीकै ढिलासुस्तीका कारण समयमै काम हुननसकेको उनको भनाइ थियो । स्थानीय स्तरमा देखिएका विवाद मिलाउन पालिकाले सहजीकरण गरिरहेको भन्दै उनले काम गर्न मिल्ने ठाउँमा काम नभएको बताइन् ।
मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको ४५ किलोमिटरको तीन खण्डमध्ये दुई वटा खण्डमा काम भइरहेको छ । सम्झौताअनुसारकै समयावधिभित्र निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्ड निर्माणको काम अघि बढाइएको हो ।
प्रकाशित मितिः २८ बैशाख २०८१, शुक्रबार ०५:०५
साझा बिसौनी ।