खानेपानीकै अभाव

वीरेन्द्रनगरमा खानेपानीको समस्या चुलिँदै गएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले ६ दिनमा एक पटक मात्रै धारामा पानी वितरण गर्ने भएपछि पानी संकट चुलिएको हो । गर्मीयाम लागेसँगै मुहानमा पानीको स्रोत घटेको छ । स्रोत घटेका कारण संस्थाले पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । सोमवार सार्वजनिक तालिकाअनुसार अबदेखि ६ दिनमा एक पटक पानी वितरण गरिनेछ । ६ दिनको फरकमा एक घण्टा पानी वितरण गर्नेगरी सम्पूर्ण एरियाको वितरण तालिका लागू गरिएको छ । लामो सुख्खा खडेरीका कारण मुहानमा पानीको स्रोत घटेको कारण यस्तो वितरण तालिका बनाउनु परेको जनाइएको छ ।

अन्य समयमा पनि मागअनुसारको पानी आपूर्ति हुन नसकिरहेको बेला गर्मी समयमा चरम अभाव हुने गरेको छ । वीरेन्द्रनगर उपत्यकामा दैनिक दुई सय ७५ लिटर प्रतिसेकेण्ड पानी आवश्यक पर्दछ । तर अहिले झुप्रा खोलासहितका मुहानबाट प्रति सेकेण्ड ५२ लिटर मात्रै आपूर्ति भइरहेको छ । यो आवश्यक परिमाणको तुलनामा निकै न्यून हो । जबकी हिउँदको समयमा पनि दैनिक एक सय ५७ लिटर प्रति सेकेन्ड खानेपानी आपूर्ति हुने गरेको छ । त्यसबाट पनि घटेर जम्मा ५२ लिटर प्रति सेकेन्ड मात्र खानेपानी आपूर्ति भएका कारण समस्या निम्तिएको हो । संस्थाले हाल नगरका २० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । खडेरीमा हरेक वर्ष उपत्यकामा पानीको हाहाकार हुन्छ र मागअनुसार पानी पु¥याउन सक्दैन । संस्थाले झुप्रा खोला, खरीखोला, बोरीखोला, इत्राम खोला, खोर्के खोला, दुनदुरे खोलालगायत उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएको पानी वितरण गर्दै आएको छ । तर मागअनुसार पर्याप्त हुन सकेको छैन । पछिल्लो समय आकाशे पानी नपरेका कारण पनि मुहान सुक्न थालेका छन् । पानी परेन भने स्रोत अझै घट्दै जाने देखिन्छ । अहिले मुहानबाट हरेक दिन घटेर आइरहेको छ । अझै केही दिन पानी परेन भने ६ दिनको वितरण तालिका पनि बढाउनुपर्ने हुनसक्छ ।

खडेरीको समयमा वीरेन्द्रनगरवासीले बर्सेनि खानेपानीको समस्या झेल्दै आएका छन् । अहिले उपलब्ध स्रोतबाट पर्याप्त पानी आपूर्ति हुन सकेको छैन भने नयाँ स्रोत थप हुन पनि सकेको छैन । उपत्यकाको खानेपानी समस्या समाधानको दीर्घकालिन विकल्पकारूपमा अघि सारिएको भेरी पम्पिङ आयोजना निर्माणपूर्वका काममै अल्झिएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) भइसकेको छ । विश्व बैंकको सहयोगमा भेरी पम्पिङ आयोजना निर्माण गर्न लागिएको हो । जतिसक्दो छिटो भेरी पम्पिङ आयोजना सञ्चालनमा ल्याउनु नै खानेपानी अभावको संकट टार्ने उपाय हुनसक्दछ ।

प्रकाशित मितिः   २६ बैशाख २०८१, बुधबार ०५:०३