भूतपूर्व विद्यार्थीद्वारा अक्षयकोष स्थापना

सुर्खेत: वीरेन्द्रनगरमा रहेको श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरूले अक्षयकोष स्थापना गरेका छन् । उनीहरूले दुई लाख रूपैयाँ अक्षयकोष स्थापनार्थ विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

२०५५ सालमा विद्यालयबाट एसएलसी पूरा गरेका २० जना पूर्वविद्यार्थीहरूको समूहले विद्यालयको ६६औँ वार्षिकोत्सवका अवसरमा अक्षयकोष स्थापना गरेका हुन् । अक्षय कोषबाट प्राप्त हुने रकम वार्षिक रूपमा विद्यालयमा अध्ययन गरिरहेका गरिब तथा जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने उद्देश्य राखिएको सुष्मा गिरीले बताइन् ।

यसपटक अक्षयकोष स्थापना गरिएको भन्दै उनले आगामी वर्षहरूमा पनि विद्यालय तथा विद्यार्थीलाई सहयोग पुग्ने सक्दो काम गर्ने उनले बताइन् । विद्यालयप्रति पूर्वविद्यार्थीहरूको उत्तरदायित्व र आपसी सद्भाव पनि झल्किने गिरीको भनाइ छ ।

विद्यालयको ६६औँ वार्षिकोत्सवकै अवसरमा २०५६ सालको ब्याचले विद्यालयमा अध्ययनरत दृष्टिविहीन छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ । ५० हजार रूपैयाँ बराबरको सामग्री २० जना छात्रछात्रालाई वितरण गरिएको हो ।

प्रकाशित मितिः   २५ बैशाख २०८१, मंगलवार १३:४८