अनियमित विद्युतले संकटमा उद्योग

 

सुर्खेत: अनियमित विद्युतका कारण सर्वसाधारण नागरिकसँगै उद्योगधन्दा पनि समस्यामा परेका छन् । गर्मी बढेसँगै विद्युत आपूर्ति अनियमित हुन थालेपछि उद्योगी तथा व्यवसायी समस्यामा परेका हुन् ।

छिनछिनमै विद्युत आउने–जाने समस्याका कारण उद्योग सञ्चालन गर्न समस्या भइरहेको वीरेन्द्रनगर नगरपालिका १२, औद्योगिक क्षेत्रमा रारा डेरी सञ्चालन गर्दै आएका जयकृष्ण सापकोटाले बताए । लामो समय बत्ती नहुँदा डेरी सञ्चालनमा समस्या भइरहेको उनी बताउँछन् । ‘बिहानको दुध बजारमा गइसक्ने भएकाले खास समस्या हुँदैन, बेलुकाको दुध चिस्याउन राख्दा फाट्ने गरेको छ’ सापकोटाले भने, ‘विद्युत छिनछिनमै आउने–जाने गर्नाले दुध फाटेर खेर जाने गरेको हो ।’ कहिलेकाहीँ बजारमा पु¥याउनुपर्ने दुध फाल्नुपर्ने अवस्था समेत सिर्जना हुनेगरेको भन्दै उनले विद्युत अनियमितताको सबैभन्दा बढी मार डेरी उद्योगलाई परिरहेको जनाए । सापकोटाका अनुसार अहिले बेला–बेला बत्ती जाने, भोल्टेज कम आउने समस्या भइरहेको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १ मा रहेको विवेक शुभलक्ष्मी समिलका सञ्चालक विवेक वलीले पनि विद्युत अनियमितताले व्यवसाय सञ्चालन गर्न समस्या भएको बताए । जसले गर्दा व्यवसाय धरापमा परेको उनले गुनासो गरे । सबैभन्दा बढी साँझको समयमा विद्युत अनियमित हुने गरेको छ । वलीले भने, ‘बिजुली झ्याप–झ्याप आउँदा–जाँदा काम गर्न सकिँदैन । विद्युतकै भोल्टेज पनि कम आउन थालेको छ । जसले गर्दा उद्योग सञ्चालन गर्न समस्या भइरहेको हो ।’ यसरी नै विद्युत अनियमित हुने र भोल्टेजसमेत कहिले बढी र कहिले निकै कम आउने हो भने उद्योगका लाखौँ मूल्य पर्ने मेसिनसमेत बिग्रने उनी बताउँछन् । उनले विद्युत समस्याकै कारण अहिले उत्पादन निकै कम हुन थालेपछि व्यापार पनि निकै प्रभावित भएको जनाए । विद्युत जाने–आउने समय निश्चित भए त्यही अनुसार तयारी गर्ने वली बताउँछन् । विद्युतका कारण उत्पादन गर्न थालेको बस्तु बिग्रिएर फाल्नुपर्दा धेरै घाटा लाग्ने गरेको पनि बताए । विद्युत नहुँदा दिनभरि कामदार खाली बस्नुपर्ने बाध्यता रहेको भन्दै उनले विद्युतकै कारण लाखौँ घाटा बेहोर्नुपरिरहेको जनाए ।

यस्तै वीरेन्द्रनगर नगरपालिका ११ सिमलकुनामा रहेको केपी व्यावसायिक सेवाको काम पनि प्रभावित बनेको छ । विद्युत अनियमित हुँदा काममा बाँधा पुगेको हो । गत चैत ४ गते हाई– भोल्टेजका कारण फोहोर प्रशोधन केन्द्रको मेसिन जल्यो । २५ लाख रूपैयाँ पर्ने मेसिन एकैछिनको विद्युतको हाई–भोल्टेजका कारण जलेको हो । हाई र लो भोल्टेजका कारण महँगा प्रविधिमा जोडिएका मेशिनरी सामानहरूमा असर परेको सञ्चालक कृष्णप्रसाद ढकाल बताउँछन् । बर्सेनिजसो विद्युतका कारण उद्योग सञ्चालन गर्न समस्या हुने गरेको उनले बताए । अनियमित विद्युत कटौतीले उद्योग सञ्चालन गर्न हम्मे–हम्मे परेको ढकालको भनाइ छ । ‘विद्युत आपूर्ति नियमित नहुँदा उत्पादनमा कमी भएको मात्र छैन, हाई, लो भोल्टेज र ट्रिपिङका कारण महँगा प्राविधिमा जोडिएका मेशिनरी सामानहरूमा असर परेको छ, गत चैतमा मात्र एउटा मेसिन जल्यो’ उनले भने । मेसिन बनाउन भारत लगिएको भन्दै ढकालले मर्मत गर्न मात्र एक लाख ५० हजार लागेको जनाए । उनका अनुसार विद्युत अनियमित हुँदा उद्योगका सामान बिग्रिनुका साथै उत्पादन घटाउनुपर्ने बाध्यता छ ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले अनियमित विद्युत आपूर्तिले उत्पादनमा कमी, यन्त्र उपकरण बिग्रिने र उत्पादन लागत बढ्ने गरेको बताए । अघोषित लोडसेडिङले उद्योगी मारमा परेको उनको भनाइ छ । अनियमित विद्युत आपूर्ति र लो भोल्टेजको समस्या पुरानै भएपनि अहिले अघोषित रूपमा विद्युत कटौती गर्दा ठूला उद्योग सञ्चालनमा समस्या भएको कँडेलको भनाइ छ । उद्योगीहरूले विद्युत आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकारण सुर्खेत ‘वितरण’ केन्द्रसँग पटकपटक आग्रह गर्दै आए पनि समस्या समाधान हुनसकेको छैन ।

विद्युत वितरण केन्द्र सुर्खेतका प्रमुख अशोक लोहनीले भने सिस्टममा समस्या आएका कारण विद्युत अनियमित हुने गरेको बताए । विद्युत खपत अत्यधिक बढेकाले भोल्टेज कम हुने गरेको उनको भनाइ छ । एक सय ३२ केभिए प्रशारण लाइन नजोडिदासम्म यो समस्या समाधान नहुने भन्दै उनले प्राकृतिक विपत्तिले समेत समस्या भइरहेको जनाए । गर्मी मौसम सुरु भएसँगै कोहोलपुर–सुर्खेत लाइनको लोड बढेको लोहनी बताए । यो समयमा हावाहरी लाग्ने, वनजंगलमा आगलागीका घटनाहरू भइरहेकाले विद्युतको संरचनामा क्षति पुग्ने गरेको र जसले गर्दा विद्युत अनियमित भइरहेको उनको भनाइ छ ।

प्रकाशित मितिः   १५ बैशाख २०८१, शनिबार ०५:०५